Khulla Bichar Online

एमसीसी खारेज गर्ने प्रस्ताव पहिलो बैठकमै लैजाने हर्क राईको घोषणा

काठमाडौं / श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्ने प्रस्ताव संसदको पहिलो बैठकमै अघि सार्ने घोषणा गरेका छन्।
सामाजिक सञ्जाल मार्फत आफ्नो राजनीतिक एजेन्डा सार्वजनिक गर्दै राईले राष्ट्रिय स्वाधीनता, व्यावहारिक शिक्षा र स्थानीय आत्मनिर्भरतालाई पार्टीको प्रमुख प्राथमिकता बनाइने स्पष्ट पारेका हुन्। उनले विशेषगरी एमसीसी जस्ता वैदेशिक सहायता परियोजनाहरू खारेज गर्दै वैदेशिक हस्तक्षेप मुक्त नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन्।
राईका अनुसार नेपालको दीर्घकालीन विकासका लागि आत्मनिर्भर आर्थिक संरचना आवश्यक रहेको बताउँदै स्वदेशमै उत्पादन र रोजगारी सिर्जनामा ध्यान केन्द्रित गर्नुपर्ने समय आएको छ।
शिक्षा क्षेत्रमा उनले सैद्धान्तिक ज्ञानभन्दा व्यवहारिक र जीवनोपयोगी शिक्षा प्रणाली लागू गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। साथै सीमावर्ती क्षेत्रको सुरक्षा सुदृढ गर्दै त्यहाँका नागरिकको जीवनस्तर उकास्न विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता पनि जनाएका छन्।
राईले ‘एक पालिका एक उद्योग’ अवधारणा अघि सार्दै प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा उद्योग स्थापना गर्ने योजना प्रस्तुत गरेका छन्। यसबाट स्वदेशमै रोजगारी वृद्धि हुनुका साथै आयातमा निर्भरता घट्ने अपेक्षा गरिएको छ।
“पहिलो सदनमै हाम्रो प्रस्ताव एमसीसी खारेज, शिक्षामा तात्त्विक परिवर्तन, सीमा सुरक्षा, सीमावर्ती विकास, आर्थिक आत्मनिर्भरता र एक पालिका एक उद्योग हुनेछ,” राईले सामाजिक सञ्जालमा लेखेका छन्।
श्रम संस्कृति पार्टीले यी एजेन्डामार्फत राष्ट्रिय स्वाधीनता र आत्मनिर्भरतालाई केन्द्रमा राख्दै नयाँ राजनीतिक बहस अघि बढाउने संकेत गरेको छ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.