Khulla Bichar Online

एउटा कुरुप तस्बिर !

एउटा कुरुप तस्बिर !

• सिर्जना गाेले तामाङ

बालेन्द्र शाह,

साँच्चिकै

सुन्दर थियो नेपाल

जतिबेला

देशमा तिमी जस्ता नेताहरुसँग

निजी साधन जसरी

डोजर थिएन ।

 

कतै कतै अझै पनि

सुन्दर छ नेपाल

जहाँ तिमी जस्ता

नेताले चलाएको

बिनासकारी डोजर

 पुगेको छैन ।

 

काठमान्डु सहरदेखि

धेरै टाढा लाग्ने

सबैको नजरले

दुर्गम भन्दा दुर्गम सम्झिने

रातै देखिने त्यो गुराँसे डाँडाहरु

उभो हिमालतिर हिरा झैँ टल्किने

हिउँका अग्ला थुम्का र पहाडहरु

हो,अझै पनि संसारकै

सुन्दर भन्दा सुन्दर

कुमारी भुमिहरु छ्न्

जुन भाग्यबस अहिलेसम्म

तिमी जस्ता नेताले

चलाएको डोजरबाट

बलजफ्ती बलात्कार हुनुबाट

जोगिएको छ ।

 

सहरदेखी परको

विकट गाउँ बस्तीछेउ

कहिल्यै स्कुल नगएका

तर ढुंगाका अक्षर लेख्न जान्ने

हाम्रा पुर्खाहरुले लेखिएका

अलिखित इतिहासहरुको दस्तावेज

कति माने र म्हान्दाङहरु

अझै ठडिरहेकै छन्

जहाँ अहिलेसम्म

तिमी जस्ता नेताले चलाएको

अहंकारको डोजर

पुगेको छैन ।

 

सहरदेखि कोशौ दुर

सुदुरका अप्ठ्यारा बाटहरुमा

भारी बोकेरै मन बिसाउन

हाम्रा आख्खेहरुले बनाएका

चौतारीहरु अझै बाँकी छन्

जहाँ अहिलेसम्म

निरंकुश सत्ताले हाँकेको

बालेन डोजर पुगेको छैन ।

 

डोजरले नयाँ नेपालको

नक्सा कोरेर

बालेन्द्र तिमीले त

देशका गरिब मान्छेहरूलाई

स्यालले कुखुरा छोपे झैँ छोप्यौ

बिना पुर्व सूचना

जब सुकुम्बासीलाई

“बस्ती छोड” भन्ने

तिम्रो हुकुम जारी हुँदाहुँदै

यत्तिबेला भर्खरैका युवा

रविन तामाङहरुले

संसारै छाडेर गए

रविन तामाङहरुको

मृत्युको जिम्मेवार

तिमी नै हौ बालेन्द्र !

 

ओ डोजरे इन्जिनियर,

ओ डोजरे मन्त्री,

ओ डोजरे जनतामारा

तानाशाही,

एकैछिन ध्यानस्थ भएर

आत्मालोचना गरि

तिम्रा सन्तानलाई छातीमा टाँसेर

एकैछिन सोची हेर

तिमी भित्र पनि कतै मानवता भन्ने

जिनिस छने भने

रविन तामाङहरुको

आमाबाउ भएर

त्यो शोकको दहमा

एकैछिन डुबी हेर

कस्तो हुन्छ

सन्तान गुमाउँदाको पिडा ?

 

ओ बालेन्द्र,

केही समय

सत्ता र शक्तिको उन्मादमा

धेरै घमण्ड नगरे हुन्छ

तिमी यो धर्तीमा आउँदा

मृत्युञजय भएर

जन्मेको त पक्कै होईन होला

त्यसैले एकदिन तिमी

तिम्रै अहंकारको अग्नि कुण्डमा

जिउँदै डढेर भस्म होलाउ !

 

र,

तिमी बस्ने सहर छेउछाउका

तिमी जस्तै मान्छेका

सुकुम्बासी झुपडीहरु

यदि सुन्दर देशको

कुरुप तस्बिर भन्छौ भने

गरिबी निवारण र देश विकासको नाममा

भुमिहिन जनतालाई उठीबास लाएर

तिम्रा सनकी डोजरले

लालाबालाका ओछ्यानसहित

छाप्राहरु भत्काइरहँदा

रोगी वृद्ध बाआमाहरु

र नाबालकहरु धुरुधुरु रोइरहेको

त्यो कारुणिक दृश्यहरु

के सुकुम्बासी बस्ती भन्दा

हज्जारौं गुणा

कुरुप तस्बिर होइन र ??

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.