
काभ्रेको विकट डाँडापारी खानीखोला–५ साल्मेचाकल गाउँमा जन्मिएका बुद्धि बहादुर स्याङ्तानको जीवन संघर्ष, जिम्मेवारी र अधुरो रहरबीच बुनिएको एउटा प्रेरणादायी कथा हो।

२०३९ सालमा जन्मिएका स्याङ्तान सानै उमेरमै आमा गुमाएर टुहुरा बने। बुबा सेते स्याङ्तान र आमा साईली स्याङ्तानको छोराको पालनपोषण फूपू सन्सरी माया स्याङ्तानले गरेकी थिइन्। तीन दिदीबहिनीका एक्ला भाइ बुद्धि बाल्यकालदेखि नै कठिन जीवनसँगजुध्दै हुर्किए।

२०५७ सालतिर देश जनयुद्धको उत्कर्षमा थियो। जनयुद्धका जाेसिला नारा,गरिब,निमुखा,सर्बहारा बर्ग,र पिछडिएको जातजाति, भुगाेलकाे पक्षमा उठेकाे बुलन्द आवाजले उनलाई पनि छाेयाे। कक्षा ९ मा पढ्दै गरेका बुद्धि बहादुर अध्ययन छोडेर तत्कालीन जनआन्दोलनमा सक्रिय भए। उनी सानै उमेरमा साल्मेचाकल गाउँ जनसरकार प्रमुख बने र पूर्णकालीन रूपमा माओवादी जनयुद्धमा सहभागी भए। युद्धको समयमा उनले सैन्य प्रशिक्षण, माक्र्सवादी दर्शनदेखि अनेकौँ वैचारिक तथा व्यवहारिक ज्ञान त प्राप्त गरे, तर औपचारिक शिक्षा भने अधुरै रह्यो।
समय बित्दै गयो, जिम्मेवारी फेरिँदै गए,पारिवारिक,सांगठनिक जिम्मेवारीले थिचिए।२०७९ सालमा उनी खानीखोला–५ को वडा अध्यक्षमा निर्वाचित भए। जनताको सेवा गर्दै गर्दा पनि उनको मनमा अधुरो पढाइको पीडा भने जीवितै रह्यो।

गत वर्ष ठूली छोरी दिलसाले एसईई पास गरेपछि भने उनीभित्र पुनः पढ्ने इच्छा झन् बलियो भएर आयो। २६ वर्षपछि उनले पुराना कापी–किताब खोजे, कक्षा ८ को मार्कसिट धुलो टकटकाएर निकाले र पुनः जनविकास माविमा भर्ना भए।
विद्यालयका प्रअ देशबहादुर वाइबा समेत उनका निर्णय सुनेर छक्क परे तर प्रशंसाले भरिए। अध्ययन र जिम्मेवारी दुवैलाई सँगसँगै अघि बढाउँदै यस वर्ष उनले एसईईमा २.५५ जीपीए ल्याएर सफलतापूर्वक उत्तीर्ण गरे।
खुल्ला बिचार संगको टेलिफोन कुराकानीमा उनले भने,“अब जनताको सेवा गर्दै पढाइलाई निरन्तरता दिन्छु।”
उनको यो यात्राले गाउँका युवा मात्र होइन, बीचमै पढाइ छोड्न बाध्य भएका धेरै मानिसहरूलाई नयाँ आशा दिएको छ। “समय ढिलो भए पनि सिकाइ कहिल्यै ढिलो हुँदैन” भन्ने सन्देश उनले व्यवहारमै देखाएका छन्।
वडा कार्यालयमा काम, जनसेवा र अध्ययनलाई सँगसँगै अघि बढाउनु उनको दैनिक जीवनको चुनौतीपूर्ण तर अनुशासित दिनचर्या बनेको छ। राति ढिलोसम्म बत्ती बालेर किताब पढ्ने उनको बानी अझै कायम छ। सहकर्मीहरूका अनुसार उनी जिम्मेवारीमा कडाइ, व्यवहारमा सरल र शिक्षाप्रति अत्यन्त समर्पित व्यक्ति हुन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवनराज अर्यालसहित कर्मचारीहरूले उनलाई कार्यालयमै बधाई दिएका छन्। अध्यक्ष ईन्द्रबहादुर थिङ छिन्ताङले उनको सफलतालाई समाजका लागि प्रेरणादायी उदाहरण भन्दै आगामी शैक्षिक र राजनीतिक यात्रामा अझ सफलता मिलोस् भन्ने शुभकामना दिएका छन्।
स्थानीय विद्यालयहरूले उनलाई विद्यार्थीहरूसँग अनुभव बाँड्ने योजना समेत बनाएका छन्। उनको कथा अब केवल व्यक्तिगत उपलब्धि नभई “शिक्षा र सेवा सँगसँगै सम्भव छ” भन्ने जीवन्त उदाहरण हाे।संघर्ष, पुनःउत्थान र कहिल्यै नहार्ने इच्छाशक्तिको पनि जीवन्त उदाहरण हो।
