Khulla Bichar Online

पहाडको काखमा रचिएको शैक्षिक महाकाव्य: डहु माविको अविश्वसनीय सफलताको यात्रा

-चेत बहादुर लामा,संयोजक,नेपाल शिक्षक संगठन जिल्ला समिति काभ्रेपलाञ्चोक ।
रामेछापको सुनापति गाउँपालिका-४, बेथान, डहु । पहाडको काखमा लुकेको,एक दशक अगाडि सडक र सुविधाबाट टाढा रहेको यो विकट गाउँले नेपाली शिक्षाको इतिहासमा एउटा तुफानी अध्याय थपिदिएको छ ।
जब एसईई २०८२ को नतिजा सार्वजनिक भयो, देशभर स्तब्ध भयो । राष्ट्रिय उत्तीर्ण दर जम्मा ६५.९८ प्रतिशत रहेको वर्षमा डहु माध्यमिक विद्यालयले शतप्रतिशत नतिजा हासिल गर्‍यो । ६६ जना परीक्षार्थीमध्ये ११ जनाले पूर्ण ४ जीपीए ल्याए । ९ जना कम्प्युटर इन्जिनियरिङ प्राविधिक धारबाट र २ जना साधारण धारबाट । थप ३८ जनाले ३.६० देखि ३.९६ सम्मको उत्कृष्ट जीपीए । एक जना पनि अनुत्तीर्ण भएनन् ।
यो आकस्मिक चमत्कार थिएन । यो त छ दशक लामो अनवरत संघर्ष, तीन पुस्ताको त्याग, एउटा समुदायको अटुट संकल्प र इमानदार नेतृत्वको जीवन्त विजयगाथा हो ।


१. सपनाको बीउ रोप्नेहरू
वि.सं. २०१८ साल । देशमा शिक्षा कुलीन वर्गको विलासिता थियो । तर डहुका दूरदर्शी अग्रज हस्तबहादुर लामा, नरबहादुर तामाङ, बमबहादुर तामाङ र लङ्कबहादुर खत्रीले गाउँमै विद्यालय खोल्ने साहसी सपना देखे । न बजेट थियो, न भवन । थियो त केवल एउटा ज्वलन्त विश्वास, “शिक्षाले गाउँको भाग्य फेर्छ ।”
उनीहरू घरघर देउसीभैलो खेले, चन्दा उठाए र विद्यालयको जग बसाले । दोस्रो पुस्ताले यो मसाल थाम्यो । किर्पासिं घिसिङ, मुकुन्द घिसिङ, कुलबहादुर लामा, छत्रबहादुर घिसिङ, सानु तामाङ, धनबहादुर तामाङ, सत्रजित लामा, गोबिलाल घिसिङ, पञ्चवीर लामा लगायतले कठिनताको बीचमा पनि पढाइको दीप जलाए । मुकुन्द घिसिङ पहिलो स्थानीय शिक्षक बने भने २०३८ मा कुलबहादुर लामा प्राथमिक स्थायी शिक्षक नियुक्त भए । भोक, अभाव र जर्जर पूर्वाधारका बाबजुद उनीहरूले बालबालिकालाई अक्षरको उज्यालो दिए ।
तेस्रो पुस्ताले विद्यालयलाई नयाँ उडान दियो । धावा लामा, मानबहादुर दोङ, प्रेम दोङ, सूर्यराम दोङ, डा. अम्बर ध्वज लामा, भुवन घिमिरे, मानध्वज बल लगायत रातदिन खटे । काठमाडौंको प्रज्ञा भवन कमलादीमा ‘सिम्मा’ नाटक मञ्चन गरेर आर्थिक स्रोत जुटाए । आफ्नै सन्तानको भविष्यका लागि रातभर देउसी खेल्ने, नाटक गरेर पैसा उठाउने ती अभिभावकको त्याग सम्झिँदा आज पनि आँखा रसाउँछन् ।२. राजनीतिक चेतना र शैक्षिक जागरणको अनौठो मेल
वि.सं. २०३४ तिर डहुमा अर्को शक्तिशाली आँधी आयो,नेपाल कम्युनिष्ट पार्टी (चौथो महाधिवेशन) को प्रभाव । चर्चित नेता निर्मल लामाको भूमिगत शेल्टर नै यही क्षेत्रमा थियो । बन्दुकको कुरासँगै किताबको कुरा पनि चले । राजनीतिक जागरणले शैक्षिक चेतनालाई पनि मलजल गर्‍यो। परिवर्तनको भोकले युवाहरूलाई पढाइतर्फ आकर्षित गर्‍यो र डहु माविलाई सामाजिक रूपान्तरणको केन्द्र बनायो ।
३. १८ हजार ऋणबाट ८४ लाख बचतसम्मको क्रान्ति
वि.सं. २०६१ साल । विद्यालय घाटामा थियो, १८ हजार ऋण थियो, पूर्वाधार ध्वस्त थियो र आशा समाप्त थियो ।
त्यही अँध्यारो बेला एउटा पूर्व विद्यार्थीले प्रधानाध्यापकको जिम्मेवारी सम्हाले-दलबहादुर वल । उनको विद्यालयसँगको सम्बन्ध रगतको होइन, भावनाको थियो । उनका हजुरबुबा र बुबाले यही आँगनमा कार्यालय सहयोगीको रूपमा जीवन बिताएका थिए । पुर्खाले सेवा गरेको ठाउँमा उनले शैक्षिक क्रान्तिको बिगुल फुके ।
सुरुमा आलोचना, शंका र गुनासो मात्र थियो । २०६२ को लेखापरीक्षणमा ५० हजार मौज्दात देखिँदा समेत कतिपयले विश्वास गरेनन् । तर वलले हात जोडेर एउटै वाचा गरे-“म यो विद्यालयलाई राम्रो बनाउँछु ।”
आज ? विद्यालयको खातामा ८४ लाख ४७ हजार भन्दा बढी बचत छ । १८ हजार ऋणबाट ८४ लाख बचतसम्मको यो यात्रा केवल आर्थिक सफलता होइन, इमानदारिताको, पारदर्शी नेतृत्वको र समुदायको विश्वासको असाधारण प्रमाण हो ।
वल भावुक हुँदै भन्छन्,- “व्यक्तिगत जीवनका धेरै खुसीहरूलाई बन्धक राखेर यो सफलता हासिल भएको हो । मेहनती विद्यार्थी, समर्पित शिक्षक र विश्वासिला अभिभावकप्रति हृदयदेखि कृतज्ञ छु ।”
४. बिहान ६:३० देखि साँझ ४:३० सम्मको अनुशासन
यो सफलताको सूत्र रहस्यमय छैन । शिक्षिका रिना तामाङ भन्छिन्,- “बिहान साढे ६ बजेदेखि साँझ साढे ४ बजेसम्म नियमित कक्षा, त्यसपछि खेलकुद, नृत्य र अतिरिक्त क्रियाकलाप । हाम्रो लक्ष्य २५ जनालाई ४ जीपीए दिने थियो, ११ जनाले ल्याए । अब अझ माथि उक्लिन्छौं ।”
सफलतामा सन्तुष्ट नहुने यो जिद्दी नै डहु माविको सबैभन्दा ठूलो शक्ति हो ।
५. पहाडमा मिनी नेपाल
आज डहु मावि स्थानीय विद्यालय मात्र रहेन, मिनी नेपाल बनेको छ । झन्डै ६ सय विद्यार्थीमध्ये ३६० जना ३० भन्दा बढी जिल्लाबाट छात्रावासमा बसेर पढिरहेका छन् – काभ्रे, दोलखा, झापा, काठमाडौं, चितवन, सुर्खेत, सप्तरी, महोत्तरी, नवलपरासी, बैतडीसम्मका ।
प्रवेश परीक्षा पास गरेर मात्र भर्ना लिने गरिन्छ । मन्थलीका प्रेमबहादुर श्रेष्ठले आफ्नी छोरी निजी बोर्डिङबाट निकालेर यस विद्यालयमा भर्ना गराए । उनी भन्छन्, “पढाइ, अनुशासन र नतिजाले अभिभावकको मन जित्यो ।”
स्थानीयलाई पूर्ण निःशुल्क, बाहिरीलाई मासिक ६ हजारमा आवासीय शिक्षा । सहरका महँगा स्कुललाई डहुले निःशब्द चुनौती दिइरहेको छ ।
६. किताब र कोदालोको अनुपम मेल
डहु माविको अर्को पहिचान यसको व्यावहारिक शिक्षा हो । विद्यालयमा आफ्नै कृषि फार्म छ: ११ वटा बंगुर, ४०० भन्दा बढी बोइलर कुखुरा र तरकारी खेती । छात्रावासका लागि मासु र तरकारी यहीबाट ।
कम्प्युटर इन्जिनियरिङ पढ्ने विद्यार्थी बिहान ल्याबमा कोड लेख्छन्, दिउँसो गोठमा दाना हाल्छन् र बारीमा कोदालो चलाउँछन् । “पढाइसँगै उत्पादन” को यो दर्शनले उनीहरूलाई श्रमप्रति सम्मान र जीवन जिउने कला सिकाउँछ ।
७. कुलमान घिसिङको पाठशाला
“उज्यालो नेपाल” का नायक, पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले प्रारम्भिक शिक्षा यही डहु माविबाट लिएका थिए । जुन विद्यालयले देशभर बत्ती बाल्ने नायक जन्मायो, त्यही विद्यालयले आज हजारौं विद्यार्थीको भविष्य उज्यालो बनाइरहेको छ ।
८. निचोड: ठाउँ होइन, नियत ठूलो हुन्छ
डहु माविको कथा सुन्दा मन भावुक बन्छ, छाती गर्वले फुल्छ र नयाँ आशा जाग्छ । देउसीभैलो खेलेर विद्यालय जोगाउने अवस्थाबाट देशभरका अभिभावकको पहिलो रोजाइ बन्ने यात्रा साँच्चै शैक्षिक महाकाव्य हो ।
सामुदायिक विद्यालय कमजोर हुन्छन् भन्ने मिथक यसले चकनाचुर पारिदिएको छ । डहुले प्रमाणित गरेको छ- इमानदार नेतृत्व, समर्पित शिक्षक, सचेत अभिभावक र अनुशासित विद्यार्थी भए सरकारी विद्यालयले पनि देशकै उत्कृष्ट जनशक्ति उत्पादन गर्न सक्छ ।
पहाडको काखमा जन्मिएको यो शैक्षिक सपना अब डहुको मात्र होइन, सम्पूर्ण नेपालको प्रेरणा बनेको छ।
डहु मावि परिवारलाई हार्दिक बधाई र अभिनन्दन! तपाईंहरूको यात्रा निरन्तर अगाडि बढोस्, नेपाली शिक्षालाई नयाँ उचाइ दिइरहोस् ।

 

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.