Khulla Bichar Online

“२१औँ शताब्दीको डिजिटल पूँजीवाद र मार्क्सवादी वैचारिकीको पुनर्विकास”

• शिशिर भण्डारी

भूमिका:

२१औँ शताब्दीको विश्व पूँजीवाद अब औद्योगिक उत्पादन, कारखाना, बैंक वा परम्परागत बजार संरचनाको सीमाभित्र मात्र बाँधिएको छैन । अब यो – डेटा, एल्गोरिदम, कृत्रिम बुद्धिमत्ता (AI), डिजिटल प्लेटफर्म, वित्तीय सट्टेबाजी (उत्पादनभन्दा मूल्यको उतारचढावबाट नाफा खोज्ने प्रक्रिया) र वैश्विक सूचना सञ्जालको अत्यन्त जटिल र अदृश्य संरचनामा रूपान्तरित भइसकेको छ।

१९औँ शताब्दीको पूँजीवादले मजदुरको शारीरिक श्रमको शोषणमार्फत अतिरिक्त मूल्य (surplus value) उत्पादन गर्थ्यो भने, २१औँ शताब्दीको डिजिटल पूँजीवादले मानव चेतना, ध्यान (attention), व्यवहार, भावना र सामाजिक अन्तरक्रिया समेतलाई उत्पादनको कच्चा पदार्थमा रूपान्तरण गरेको छ। अब श्रम केवल कारखानामा होइन कि – कम्प्यूटर, मोबाइल, स्क्रोल, क्लिक, डेटा उत्पादन र डिजिटल उपस्थितिमा फैलिएको छ।

आज श्रमिक केवल कारखानाको मजदुर मात्रै होइन – ऊ गिग–वर्कर (आजकल डिजिटल अर्थतन्त्रको सन्दर्भमा – प्लेटफर्म श्रमिक), डेलिभरी राइडर, कन्टेन्ट क्रिएटर, डेटा लेबलर (डाटा वर्गीकरणकर्ता), माइक्रो–टास्कर (“अदृश्य डिजिटल श्रमिक) र डिजिटल उपभोक्ता समेत हो । यस परिवर्तनले परम्परागत वर्ग संरचना र उत्पादन प्रणाली मात्र होइन, सम्पूर्ण शक्ति संरचना, वर्गीय सम्बन्ध, राज्यको भूमिका र लोकतान्त्रिक संस्थाहरूलाई समेत पुनर्गठित गरेको छ।

त्यसैले, अब प्रश्न स्पष्ट हुन्छ कि – के हामीले अध्ययन गर्दै आएको परम्परागत मार्क्सवादी विश्लेषण आजको डिजटलाइजेशन, एल्गोरिदम र वित्तीय पूँजीवाद बुझ्न पर्याप्त छ ? यदि छैन भने, यसको वैचारिक पुनर्विकास कसरी सम्भव छ ? यसै सन्दर्भममा रहेर यस लेखमा केही विश्लेषण गर्न खोजिएको छ ।

औद्योगिक पूँजीवाददेखि डिजिटल पूँजीवादसम्मको रूपान्तरण:

कार्ल मार्क्सले औद्योगिक पूँजीवादको विश्लेषण गर्दा उत्पादनका साधनमाथिको निजी स्वामित्व र श्रमशक्तिको शोषणलाई केन्द्रमा राखेका थिए। त्यस समयमा उत्पादन कारखाना, उद्योग र भौतिक श्रममा आधारित थियो, जहाँ श्रमिक र मालिकबीचको सम्बन्ध प्रत्यक्ष र स्पष्ट थियो।

तर आज उत्पादनको स्वरूप भौतिक कारखानाबाट डिजिटल नेटवर्कतर्फ सरेको छ। उत्पादन अब केवल वस्तु होइन—सूचना, डेटा, व्यवहार र ध्यानसमेत हो। मेटा/फेसबुक (Meta/Face book), गुगल (Google), टिकटक (TikTok) जस्ता प्लेटफर्महरूले सेवा होइन, मानव व्यवहारको भविष्यवाणीयोग्य नक्सा (predictive behavioral data) बेचिरहेका छन्।

यस परिवर्तनले श्रमको अर्थ नै बदलिदिएको छ। श्रम अब समय र श्रमघण्टामा मात्र होइन, ध्यान (attention), क्लिक, स्क्रोल र डिजिटल सहभागितामा मापन हुन्छ। श्रमिक अब केवल उत्पादनकर्ता होइन।ऊ निरन्तर डेटा उत्पादन गर्ने डिजिटल अस्तित्व पनि बनेको छ ।

डिजिटल पूँजीवाद र अतिरिक्त मूल्यको नयाँ स्वरूप:

मार्क्सका अनुसार अतिरिक्त मूल्य श्रमिकको श्रमबाट उत्पन्न हुन्छ, जसलाई पूँजीपतिले नाफामा रूपान्तरण गर्छ। तर डिजिटल युगमा यो प्रक्रिया जटिल बनेको छ।

आज: प्रयोगकर्ताले Google सर्च गर्छ अनि डेटा उत्पादन हुन्छ । Facebook स्क्रोल गर्छ अनि व्यवहार डेटा उत्पन्न हुन्छ ।  TikTok हेर्छ अनि ध्यानको आर्थिक मूल्य निर्माण हुन्छ । यहाँ श्रम प्रत्यक्ष देखिँदैन, तर निरन्तर उत्पादन भइरहेको हुन्छ।

यसलाई अमेरिकी लेखिका तथा सामाजिक चिन्तक प्रोफेसर शोशाना जुबोफ (Shoshana Zuboff) ले आफ्नो  The Age of Surveillance Capitalism भन्ने पुस्तकमा

“Surveillance Capitalism” (डिजिटल पूँजीवाद/ निगरानी पूँजीवाद) भनेकी छन्, जहाँ मानव व्यवहार नै भविष्यवाणीयोग्य कच्चा पदार्थ (predictive raw material) बन्छ।

त्यसैले आजको अतिरिक्त मूल्य केवल श्रम समयबाट होइन: डेटा उत्पादन, व्यवहार ट्र्याकिङ,

attention harvesting(मानिसहरूको ध्यानलाई कब्जा गरेर त्यसलाई नाफामा रूपान्तरण गर्ने प्रक्रिया), algorithmic prediction ( एल्गोरिदमिक पूर्वानुमान) बाट निर्माण हुन्छ।

यसले मार्क्सको श्रम मूल्य सिद्धान्त (labour theory of value) लाई आजको नयाँ चरणमा थप विस्तार गर्नुपर्ने आवश्यकता देखाउँछ।

डेटा अर्थतन्त्र र नयाँ वर्ग संरचना:

आजको सबैभन्दा शक्तिशाली पूँजी नै डेटा (data) बनेको छ । हिजोको कुनै समयमा तेल नै कालो सुनको रूपमा थियो भने, आज – तेल, जमिन वा उद्योगभन्दा बढी मूल्यवान वस्तु नै डेटा (data) हो । डेटा (data) नै आजको आर्थिक, राजनीतिक र सांस्कृतिक नियन्त्रणको केन्द्रमा छ। आज जो- जससँग डेटा छ, उससँग केवल अर्थतन्त्र होइन, चेतना नियन्त्रण गर्ने शक्ति पनि हुन्छ।

यसले आजको नयाँ डिजिटल युगमा नयाँ नै वर्ग संरचना जन्माएको छ: जस्तै कि -प्लेटफर्म मालिक वर्ग अर्थात डेटा–पूँजीपति वर्ग (जसले डेटा उत्पादन गर्छन्, एल्गोरिदम नियन्त्रण गर्छन / जस्तै, टेक संरचना) र अर्को डेटा सर्वहारा अर्थात डिजिटल श्रमिक वर्ग ।

Gig (गिग) र डिजिटल श्रमिक:

डिजिटल युगको महत्वपूर्ण पक्ष यहाँ विरोधाभास  यसरी स्पष्ट हुन्छ कि -उत्पादन सामूहिक रूपमा हुन्छ तर स्वामित्व निजी हुन्छ। अर्थात, गिग र डिजिटल श्रमिक प्रणालीमा उत्पादन प्रक्रिया धेरैजसो सामूहिक र नेटवर्क आधारित हुन्छ । जस्तै :- प्लेटफर्म, algorithm, data, र हजारौँ श्रमिकको संयुक्त श्रमले मूल्य सिर्जना गर्छ। तर यसको स्वामित्व भने सीमित केही प्रविधि कम्पनी वा पूँजीपति समूहसँग केन्द्रित हुन्छ। यही कारण उत्पादनको सामाजिक चरित्र र निजी स्वामित्वबीच स्पष्ट विरोधाभास देखिन्छ, जहाँ श्रम सामूहिक भए पनि लाभ निजी रूपमा संकुचित हुन्छ।

डिजिटल युगको अर्को गहिरो पक्ष के हो भने प्रयोगकर्ता स्वयं पनि “अचेत डिजिटल श्रमिक” बन्छ। ऊ सामाजिक सञ्जाल चलाउँछ, खोज गर्छ, क्लिक गर्छ, content उपभोग गर्छ—तर यी सबै क्रियाकलापले डेटा उत्पादन गरेर प्लेटफर्मलाई नाफा दिन्छ भन्ने कुरा उसले प्रायः महसुस गर्दैन।

यसरी ऊ उपभोक्ता मात्र होइन, तर निरन्तर डेटा उत्पादन गर्ने श्रमिक पनि हो, जसको श्रम अदृश्य र अप्रत्यक्ष रूपमा शोषित हुन्छ। त्यसैले यो केवल आर्थिक शोषण होइन, “डिजिटल स्वामित्वविहीनता” को नयाँ रूप हो।

एल्गोरिदमिक शासन, डिजिटल नियन्त्रण र शक्ति संरचनाको अदृश्य रूप:

आजको शक्ति संरचना र समाज केवल राज्यमा सीमित र शासित छैन। अर्थात राज्यद्वारा होइन, एल्गोरिदमद्वारा निर्देशित र शासित छ। यो प्रकृया एल्गोरिदम र कोडभित्र प्रवेश गरिसकेको छ। अब निर्णयहरू: कुन सूचना/समाचार देखाउने, कुन अवसर दिने, कुन श्रमिकलाई काम दिने, कसलाई ऋण दिने, कुन सामग्री भाइरल हुने भन्ने  – यी सबै निर्णय अब कोड र डेटा मोडेल अर्थात एल्गोरिदमिक प्रणालीले निर्धारण गर्छ।

यसलाई अर्को शब्दमा “Algorithmic Governance” भन्न पनि सकिन्छ, जहाँ शक्ति पारदर्शी छैन। नागरिकलाई थाहा हुँदैन कि – किन उसले कुनै सूचना देख्यो वा किन उसको पहुँच सीमित गरियो।

यस सन्दर्भमा फ्रान्सका दार्शनिक मिशेल फुको (Michel Foucault) को शक्ति (power), ज्ञान (knowledge), अनुशासन (discipline) र समाजिक नियन्त्रणका धारणा अर्थात “जसले ज्ञान उत्पादन गर्छ, उसले शक्ति पनि उत्पादन/नियन्त्रण गर्छ” भन्ने धारणासंग यहाँ अझ गहिरो र सान्दर्भिक हुन्छ । किनकि – शक्ति अब देखिने संस्था होइन, अदृश्य डेटा संरचना बनेको छ। यसले लोकतन्त्रलाई नयाँ संकटमा पुर्‍याएको छ । किनकि शक्ति अब संस्थागत मात्र होइन, कोडभित्र लुकेको, अदृश्य संरचना बनेको छ। जहाँ नागरिकले निर्णय प्रक्रिया देख्न सक्दैन।

ध्यान अर्थतन्त्र, मनोवैज्ञानिक नियन्त्रण र डिजिटल चेतना:

२१औँ शताब्दीको पूँजीवादको केन्द्र “Attention Economy” हो। यहाँ उत्पादन वस्तु होइन,मानव ध्यान हो। प्लेटफर्महरूको उद्देश्य प्रयोगकर्ताको समय, भावना र चेतना अधिकतम रूपमा कब्जा गर्नु अर्थात अनलाइनमा राख्नु हो।

एल्गोरिदमहरूले भावनात्मक सामग्रीमा प्राथमिकता दिन्छन् । त्यसकै लागि – रिस, आक्रोश र उत्तेजना फैलाउने सामग्री बढाउँछ । जसले छोटो, तीव्र र भाइरल प्रतिक्रिया उत्पन्न गर्छ ।  यसले विचार र सामाजिक बहसलाई गहिराइबाट हटाएर सतही प्रतिक्रिया/ भावनामा सीमित/रूपान्तरण गर्छन्।

नेपालमा यसको प्रभाव अझ तीव्र छ,राजनीति विचारको संघर्ष होइन, भाइरल भावना, TikTok क्लिप र Facebook आक्रोशको प्रतिस्पर्धा बनेको छ। अर्थात राजनीति विचारको संघर्ष होइन, भावनात्मक भिडन्त बनेको छ।

AI, स्वचालन र श्रमको संरचनात्मक विघटन:

कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence) ले उत्पादन प्रणालीलाई तीव्र रूपमा रूपान्तरण गरिरहेको छ। अब:- लेखन, डिजाइन, विश्लेषण, ग्राहक सेवा र निर्णय प्रक्रिया जस्ता सबै क्षेत्रमा मानव श्रम प्रतिस्थापन भइरहेको छ।

यसले मार्क्सको मूल प्रश्नलाई चुनौती दिएको छ,यदि मानव श्रम घट्दै गयो भने मूल्यको श्रोत के हो ? उत्तर अझै स्थिर र सजिलो छैन। अब मूल्य केवल श्रमबाट होइन, डेटा, एल्गोरिदम र कम्प्युटेशनल शक्तिबाट पनि उत्पादन हुन थालेको छ। यसले “काम” र “श्रम” को परम्परागत परिभाषा भत्काइदिएको छ र नयाँ “डिजिटल उत्पादन सम्बन्ध” जन्माएको छ।

गिग अर्थतन्त्र र डिजिटल शोषणको नयाँ रूप:

गिग अर्थतन्त्र (स्थायी जागिरभन्दा platform आधारित अस्थायी कामको व्यवस्था)ले “स्वतन्त्र श्रमिक” को भाष्य निर्माण गरे पनि वास्तविकता नियन्त्रणयुक्त छ। काम एल्गोरिदमले दिन्छ, मूल्य निर्धारण प्रणालीले गर्छ, अवसर वितरण पनि प्रणालीले नियन्त्रण गर्छ।

पठाओ (Pathao), फुड डेलिभरी (Food delivery), फ्रि- लन्चिङ (freelancing) जस्ता क्षेत्रमा श्रमिक स्वतन्त्र देखिए पनि संरचनागत रूपमा पूर्ण रूपमा एल्गोरिदमिक नियन्त्रणमा र संरचनागत रूपमा असुरक्षित छन्।

यसलाई डिजिटल टेलरवाद (algorithm र technology मार्फत कामदारमाथि गरिने सूक्ष्म नियन्त्रण र निगरानी प्रणाली) भन्न सकिन्छ,जहाँ श्रमको गति, व्यवहार र उत्पादन प्रक्रिया पूर्ण रूपमा प्रणालीद्वारा निर्देशित हुन्छ।

वित्तीय पूँजीवाद, ऋण समाज र असमानताको नयाँ संरचना:

आजको पूँजीवाद उत्पादनभन्दा बढी वित्तीय खेल/सट्टेबाजीमा आधारित छ। शेयर बजार, क्रिप्टो, ऋण प्रणाली र डिजिटल फाइनान्सले वास्तविक अर्थतन्त्रलाई छायाँमा पारेका छन्।

नेपालमा सहकारी संकट, रियल–इस्टेट बुलबुला र डिजिटल ऋण विस्तारले समाजलाई ऋण–निर्भर संरचनामा बदलिरहेको छ। नागरिक अब केवल श्रमिक होइन,ऊ दीर्घकालीन ऋणद्वारा बाँधिएको उपभोक्ता हो। यसले स्वतन्त्रताको अर्थ नै बदलिदिएको छ।

जलवायु संकट र वर्गीय–पर्यावरणीय असमानता:

जलवायु संकट केवल प्राकृतिक समस्या होइन, यो गहिरो वर्गीय र राजनीतिक–आर्थिक असमानताको परिणाम हो। धनी राष्ट्रहरूले ऐतिहासिक रूपमा बढी प्रदूषण/दोहन गरे पनि यसको असर गरिब राष्ट्रहरूले भोगिरहेका छन्।

तर असर:नेपाल, ग्लोबल साउथ र गरीब समुदायले बढी भोगिरहेका छन्। यसले “ecological injustice” को गहिरो संरचना देखाउँछ। जस्तै कि – नेपाल न्यून उत्सर्जक भए पनि उच्च जोखिममा छ बाढी, पहिरो, हिमनदी पग्लिने संकट तीव्र हुँदै गएको छ। यसले देखाउँछ कि जलवायु संकट पनि वैश्विक वर्गीय संरचनाको हिस्सा हो।

वैश्विक श्रम विभाजन र आप्रवासी अर्थतन्त्र:

वैश्वीकरणले श्रमलाई अन्तर्राष्ट्रिय बनाएको छ। नेपालसहित ग्लोबल साउथका लाखौँ श्रमिक खाडी, युरोप र अन्य देशमा श्रम बेच्न बाध्य छन्।

आप्रवासी श्रमिक आधुनिक पूँजीवादको मेरुदण्ड हुन्, तर सबैभन्दा असुरक्षित वर्ग पनि उनीहरू नै हुन्क । म तलब, कानुनी असमानता र सामाजिक असुरक्षासहित।

नेपाल: डिजिटल परनिर्भरता र संरचनात्मक संकट:

नेपालको अर्थतन्त्र रेमिट्यान्स र वैदेशिक श्रममा आधारित छ। उत्पादन कमजोर छ र श्रम निर्यात प्रणाली स्थायी बनेको छ।

डिजिटल स्तरमा पनि नेपाल विदेशी प्लेटफर्ममा निर्भर छ। डेटा, सूचना र डिजिटल व्यवहारमाथिको नियन्त्रण बाह्य संरचनामा केन्द्रित हुँदै गएको छ, जसले डिजिटल उपनिवेशवाद (Digital Colonialism) को संकेत दिन्छ। जहाँ भूमि होइन, डेटा र चेतना नियन्त्रण गरिन्छ।

वर्ग, जात, लैंगिकता र संरचनात्मक बहुआयाम:

आधुनिक मार्क्सवाद केवल आर्थिक वर्गमा सीमित हुन सक्दैन। नेपालमा वर्गीय शोषण – जात, लैंगिकता, भूगोल र सांस्कृतिक संरचनासँग गहिरो रूपमा गाँसिएको छ।

दलित श्रमिक, महिला श्रमिक, ग्रामीण युवा र आप्रवासी श्रमिक सबैले फरक–फरक संरचनात्मक शोषण भोगिरहेका छन्। घरेलु श्रम र भावनात्मक श्रम पनि यस शोषण प्रणालीको संरचनामा अदृश्य हिस्सा बनेका छन्।

निष्कर्ष:

२१औँ शताब्दीको पूँजीवाद अब केवल आर्थिक प्रणाली होइन—यो चेतना, डेटा, प्रविधि, वित्त र प्रकृतिमाथि नियन्त्रण गर्ने समग्र शक्ति संरचना हो। अब शोषण देखिने छैन, तर एल्गोरिदमभित्र लुकेको हुनेछ; अब उत्पादन कारखानामा होइन, डिजिटल व्यवहारमा हुनेछ।

वर्ग संघर्ष अब केवल मजदुर र पूँजीपतिबीच सीमित छैन,यो डेटा र स्वामित्व, मानव चेतना र एल्गोरिद्मिक नियन्त्रण, जीवन र वित्तीय ऋण, तथा प्रकृति र औद्योगिक दोहनबीच फैलिएको संघर्ष हो। शक्ति अब अदृश्य भएको छ, तर अझ गहिरो र सर्वव्यापी पनि बनेको छ।

यसैले मार्क्सवादी वैचारिकीको पुनर्विकास केवल बौद्धिक अभ्यास होइन,यो ऐतिहासिक आवश्यकता हो। अब प्रश्न विचारधाराको होइन, अस्तित्वको हो। मानव स्वतन्त्रता र डिजिटल नियन्त्रणबीचको संघर्ष नै भविष्यको मुख्य राजनीतिक द्वन्द्व हुनेछ।

अन्ततः प्रश्न यही हो,मानव चेतनाले आफ्नो भविष्य आफै निर्धारण गर्ने हो, कि एल्गोरिद्मिक पूँजीवादले उसको चेतना, व्यवहार र निर्णयसमेत नियन्त्रण गर्ने हो? यो प्रश्नको उत्तर नै आगामी शताब्दीको सभ्यता, लोकतन्त्र र मानवताको दिशा निर्धारण गर्नेछ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.