
काभ्रेपलाञ्चोक/एक महिलामाथि जबर्जस्ती करणी गरेको अभियोगमा चौरीदेउराली गाउँपालिका-२ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वडा सभापति ६४ वर्षीय अच्युतप्रसाद न्यौपाने पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार न्यौपानेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको समन्वयमा भदौ ९ गते काठमाडौं महानगरपालिका-१० बाट पक्राउ गरिएको हो। पक्राउपछि उनलाई काभ्रे ल्याई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।
पीडित पक्षका अनुसार गत असार २५ गते गाउँमा पितृप्रसाद खाएर फर्किने क्रममा न्यौपानेले महिलालाई आफ्नो घरमा बोलाई एक हजार रुपैयाँ दिने प्रलोभन देखाएर जबर्जस्ती करणी गरेको आरोप छ।
घटनापछि पीडित पक्षले असार ३० गते वडा कार्यालयमा निवेदन दिँदै छानबिन र कारबाहीको माग गरेको थियो। वडा अध्यक्ष क्षत्रबहादुर प्रधानले दुवै पक्षलाई राखेर छलफल गराउने प्रयास गरेको स्वीकार गरेका छन्।
यता, न्यौपानेले पीडित पक्षको निवेदनभन्दा दुई दिनअघि असार २८ गते आफूलाई कुटपिट गरिएको र आफूविरुद्ध झुटा आरोप लगाएर चरित्र हत्या गरिएको भन्दै वडा कार्यालयमा निवेदन दिएको देखिएको छ।
प्रहरीमा जाहेरी परेपछि न्यौपाने फरार रहेका थिए। लामो समयको खोजीपछि पक्राउ परेका उनलाई अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको सूचना अधिकारी कविन राईले बताएका छन्।
न्यौपाने यसअघि पनि यस्तै प्रकृतिको अभियोगमा जेल परिसकेको पीडित पक्षको दाबी छ।
प्रहरीले घटनासम्बन्धी बयान, प्रमाण तथा अन्य पक्षको अनुसन्धान गरिरहेको जनाएको छ। न्यौपानेमाथिको अभियोग पुष्टि वा दोषी ठहर हुने विषय भने अदालतको न्यायिक प्रक्रियाबाट टुंगो लाग्नेछ।