Khulla Bichar Online

सत्ताको ढोका होइन, सत्ताको अर्थ बदल्ने पार्टी चाहिएकाे छ।

• राजीव माेक्तान तामाङ

नेपालको राजनीतिक यात्रालाई फर्केर हेर्दा एउटा प्रश्न बारम्बार उठ्छ। जनताको नाममा यति धेरै पार्टीहरु खुले,काेहि अस्तित्वमा छन्,काेहि अस्तित्वकाे लडाइँमा छन्,काेही बिलय भए,काेहि हराएर गए तर जनताको वास्तविक शक्ति किन संस्थागत हुन सकेन?

२००७ सालको परिवर्तन देखि २०४६ को जनआन्दोलन,१०बर्षे जनयुद्ध र २०६२/६३ को लाेकतान्त्रिक आन्दोलन हुँदै गणतन्त्रको स्थापनासम्म नेपालले अनेक राजनीतिक उभार देख्यो। गत बर्ष २०८२ भदौं २३/२४गतेकाे जेन्जी बिद्रोह सम्म भयाे। व्यवस्था फेरिए, संविधान फेरिए, पार्टी फेरिए, नेताहरू फेरिए, नाराहरू फेरिए। तर श्रम बेचेर जीवन धान्ने नागरिकको पीडा कति पनि फेरिएन। किसानको माटो, मजदुरको पसिना, युवाको बेरोजगारी, गरिबको चुलो र आम नागरिकको राज्यसँगको सम्बन्ध आज पनि उस्तै प्रश्नका अगाडि उभिएको छ।

आज हामीसँग गणतन्त्रवादी छन्, लोकतन्त्रवादी छन्, राजावादी छन्। अनेकौं वाद र बिचारकाे बहसहरु भए पनि  तीन धार वरिपरि नेपाली राजनीतिको ठूलो हिस्सा घुमिरहेको देखिन्छ। कोही राजतन्त्र फर्काउने दुश्सपना देख्छन्, कोही गणतन्त्रलाई अन्तिम उपलब्धि ठान्छन्, कोही लोकतन्त्रलाई नै सबै समस्याको समाधानका रूपमा प्रस्तुत गर्छन्। तर प्रश्न यति मात्र होइन। व्यवस्था कुन हो भन्नेभन्दा पनि व्यवस्था कसका लागि हो?

जनताले गणतन्त्र पाए, तर के जनताले गणतन्त्रको वास्तविक स्वामित्व पाए? लोकतन्त्र आयो, तर निर्णय गर्ने लोकतान्त्रिक शक्ति नागरिकको हातमा पुग्यो? संविधानले अधिकार लेख्यो, तर उत्पादनका साधन, अर्थतन्त्र र अवसरमाथिको पहुँच कसको हातमा रह्यो? यहीँबाट नयाँ राजनीतिक कल्पनाको आवश्यकता देखिन्छ।

पार्टी होइन, राजनीतिक संस्कार खोज्ने बेला

नेपालमा नयाँ पार्टीहरू जन्मिनु आफैंमा खराब कुरा होइन। नयाँ पुस्ताले पुरानो राजनीतिक संस्कारलाई चुनौती दिनु झन् आवश्यक कुरा हो। तर पार्टीको नाम, झण्डा, चुनाव चिह्न र अनुहार फेरिँदैमा राजनीति बदलिँदैन।

आज सामाजिक सञ्जालमा एउटा पुस्ता असन्तुष्ट छ। असुन्तुष्टकाे परिणाम जेन्जी बिद्रोह थियाे, सडकमा अर्को पुस्ता प्रश्न गरिरहेको छ। विदेश जाने विमानस्थलमा युवाको लामो लाइन छ। पासपोर्ट बनाउने ठाउँमा उस्तै लाईन छ,उपभोक्ताले समयमा ग्यास,चामल पाईरहेकाे छैन। महंगी चरम छ, ग्यासमा लामाे लाईन अहिले पनि उस्तै छ। गाउँमा खेत बाँझिँदै छन्। शहरमा डिग्री बोकेर रोजगारी खोज्ने युवाहरू छन्। राजनीतिक भाषणमा समृद्धि छ, तर दैनिक जीवनमा महँगी छ। घोषणापत्रमा रोजगारी छ, भाषणमा बिदेशका गल्ली गल्लीमा नेपाल फर्कन सुचना टास्ने गफ छ तर व्यवहारमा छैन । अवसरका लागि दलाली, पहुँच र नातावाद छ। युवाले नयाँ अनुहार मात्रै खोजेको होइन। नयाँ राजनीतिक चरित्र खोजेको हो।

त्यसैले प्रश्न उठाउनुपर्छ,के हामी यस्तो पार्टी बनाउन सक्छौँ, जसको लक्ष्य निर्वाचन मात्र जित्नु होइन, समाजको चरित्र बदल्नु हो? जसको मेरुदण्ड कुनै व्यक्ति होइन, विचार हो? जसमा नेता मालिक होइन, जिम्मेवार कार्यकर्ता हो? जसले सत्ता प्राप्तिलाई अन्तिम गन्तव्य होइन, सामाजिक रूपान्तरणको एउटा साधन मात्र ठान्छ?

दर्शन बोक्ने झोलादेखि यथार्थ बोक्ने काँधसम्म

मार्क्स, लेनिन र माओका विचारले नेपालका धेरै पुस्तालाई प्रभावित गरे। वर्ग, श्रम, उत्पादन, शोषण, राज्य र सामाजिक रूपान्तरणका प्रश्न उठाए,लाखौं लाख मानिसहरु जागे। हजारौँ युवाले काँधमा झोला बोके। कसैले किताब बोके, कसैले बन्दुक बोके, कसैले सपनाको भारी बोके।तर इतिहासले एउटा कठोर प्रश्न सोध्छ,हामीले बोकेको दर्शनलाई जीवनमा कति उतार्यौँ?

दर्शनका पोका बोकेको त्यही झोलाले पछि चुनावी पोस्टर, पदको आकांक्षा र सत्ताको हिसाबकिताब बोक्न थाल्यो भने के भयो? वर्गसंघर्षको कुरा गर्ने पार्टी आफैंभित्र वर्ग, गुट र पहुँचको संरचना निर्माण गर्न थाल्यो भने के भयो? सर्वहाराको मुक्तिको सपना देखाउने नेतृत्व अन्ततः सुविधासम्पन्न राजनीतिक वर्गमा रूपान्तरण भयो भने के भयो? यहीँबाट आत्मसमीक्षा सुरु हुन्छ।

क्रान्तिको नाममा पुस्ता बिताउनु उपलब्धि होइन, यदि क्रान्तिले समाजको सोच, उत्पादन सम्बन्ध र राजनीतिक संस्कार बदल्न सकेन भने……।

आन्दोलन गर्नु ठूलो कुरा हो,तर आन्दोलनपछि निर्माण गर्नु अझ ठूलो जिम्मेवारी  हो।

अब बन्दुकको होइन, विचार, संगठन, कठाेर श्रम र नैतिकताको शक्ति देखाउने समय हो। यसाे भन्दै गर्दा ईतिहासकाे आबश्यक्ताले बन्दुक मागे एक हातमा राईफल अर्को हातमा ज्याबेल हुनैपर्छ।

मैले देखेको पार्टी

म यस्तो पार्टीको कल्पना गर्छु, जहाँ पद प्रतिष्ठा होइन, जिम्मेवारी प्रधान होस। जहाँ जनवादी वा लोकतान्त्रिक केन्द्रीयता व्यवहारमै लागू हुन्छ। निर्णय माथिबाट तल झर्ने होइन, जनता र कार्यकर्ताको अनुभवबाट माथि उठ्ने हो। नेतृत्वले आदेश मात्र दिने होइन, जवाफ पनि दिने हो। पदमा टाँसिएर बस्ने संस्कार अन्त्य हुन्छ। नेतृत्वको कार्यकाल निश्चित हुन्छ। नयाँ पुस्ताले नेतृत्व गर्ने ठाउँ पाउँछ।

किनकि कुनै पनि पार्टीमा एउटै पुस्ता अनन्तकालसम्म नेतृत्वमा बसिरह्यो भने विचार विस्तारै संस्कारमा, संस्कार विस्तारै स्वार्थमा र स्वार्थ विस्तारै सत्तालिप्सामा बदलिन सक्छ। त्यसैले नेतृत्व परिवर्तन कमजोरी होइन,जीवित संगठनको प्रमाण हो।

त्यो पार्टी समावेशी हुन्छ। नेपाललाई भूगोलबाट होइन, विविधताबाट बुझ्छ। भाषा, जाति, समुदाय, लिङ्ग, क्षेत्र र पुस्ताको प्रतिनिधित्व संगठनमा देखिन्छ। अल्पमतलाई शत्रु मानिँदैन। आलोचना गर्ने कार्यकर्तालाई कारबाही गर्ने होइन, उसको आलोचनाबाट संगठनलाई सुधार्ने संस्कार हुन्छ।

किनकि आलोचना दबाएर संगठन बलियो हुँदैन। आलोचना सुन्न नसक्ने नेतृत्वले अन्ततः आफ्नै कमजोरी देख्न छाड्छ।

पैसा होइन, विचारले उम्मेदवार बनाउने पार्टी

आज नेपालको राजनीतिमा एउटा गम्भीर प्रश्न उम्मेदवारीसँग जोडिएको छ। योग्यता, विचार र जनसम्बन्ध भन्दा पैसा र पहुँच प्रभावशाली बन्ने अवस्था छ।

मैले देखेको पार्टीमा उम्मेदवारी किनबेच हुँदैन। टिकट पाउन पैसा चाहिँदैन। नेताको नजिक हुनुपर्दैन। गुटको झोला बोक्नुपर्दैन।

उम्मेदवार बन्ने आधार हुन्छ,चरित्र, क्षमता, विचार, जनसम्बन्ध र सार्वजनिक जीवनको इमानदारी हुन्छ।

भ्रष्टाचारलाई कानुनी अपराधका रूपमा मात्र होइन, राजनीतिक नैतिकताको अपराधका रूपमा हेरिन्छ। सार्वजनिक जिम्मेवारीमा बसेको व्यक्ति माथि गम्भीर नैतिक प्रश्न उठ्यो भने छानबिन नसकिँदासम्म जिम्मेवारीबाट अलग हुने संस्कार हुन्छ। किनकि पार्टीको प्रतिष्ठा व्यक्तिको पदभन्दा ठूलो हुन्छ। घोषणापत्रमा समाजवाद, व्यवहारमा दलालवाद,अब हुँदैन राजनीतिको सबैभन्दा ठूलो संकट विचार र व्यवहारबीचको दूरी हो।

मञ्चमा समाजवाद, कोठामा पूँजीको हिसाब। भाषणमा श्रमिक, व्यवहारमा श्रमको अवमूल्यन। घोषणापत्रमा समानता, संगठनभित्र अवसरको असमानता। जनताको नाममा राजनीति, तर जनताबाट टाढा जीवनशैली। यो दोहोरो चरित्रले राजनीति मात्र होइन, विचारप्रतिको विश्वास पनि मार्छ।

त्यसैले पार्टीहरुले आफूले बोलेको कुरा पहिले आफ्नै संगठनमा लागू गर्नुपर्छ। पारदर्शिता राज्यसँग माग्नुअघि पार्टीभित्र लागू गर्नुपर्छ। लोकतन्त्र सरकारसँग माग्नुअघि आफ्नै बैठकमा अभ्यास गर्नुपर्छ। समावेशिता संविधानमा माग्नुअघि आफ्नै समितिमा देखाउनुपर्छ। देश बनाउने अभियान पार्टी बनाउने ठाउँबाट सुरु हुन्छ।

युवाहरूलाई आग्रह

युवा साथीहरू, राजनीति छोडेर देश बदलिँदैन। जेन्जी बिद्रोह पछि आएकाे ठुलाे उभार बालेन सरकार बनेकाे ४महिनामै एकाएक सिलवरकाे ताप्के सेलाए झै देखिन्छ।

“सबै नेता खराब छन्” भनेर राजनीति छोड्नु भनेको खराब राजनीतिलाई खाली मैदान दिनु हो। सामाजिक सञ्जालमा आक्रोश पोखेर मात्र परिवर्तन आउँदैन। प्रश्न गर्नुपर्छ, संगठित हुनुपर्छ, पढ्नुपर्छ, बहस गर्नुपर्छ, आफ्नो विचार निर्माण गर्नुपर्छ र त्यसलाई व्यवहारमा परीक्षण गर्नुपर्छ।

तर अर्को गल्ती पनि नगरौँ। नयाँ अनुहार देखेर पुरानै राजनीति स्वीकार नगरौँ। नयाँ त बिज्ञानमा हुन्छ,त्याे माक्र्सवादी दर्शनमा हुन्छ।

कसैले राम्रो बोल्दैमा राम्रो राजनीतिको प्रमाण हुँदैन। कसैले भ्रष्टाचारविरुद्ध चर्काे भाषण गर्दैमा ऊ पारदर्शी हुन्छ भन्ने हुँदैन। कसैले पुराना दललाई गाली गर्दैमा ऊ नयाँ हुँदैन। नयाँ राजनीति अनुहारले होइन, आचरणले प्रमाणित हुन्छ। ब्यबहारले देखाउँछ।

युवाले नेता खोज्ने होइन, नेतृत्व निर्माण गर्ने हो। कसैको जयजयकार गर्ने होइन, आवश्यक पर्दा आफ्नै नेतामाथि खराे प्रश्न गर्ने हो। व्यक्तिपूजा होइन, विचारको सम्मान गर्ने हो।

सत्ता बदल्ने कि सत्ताको संस्कार?

नेपालमा पटक-पटक सत्ता परिवर्तन भयो। तर सत्ताको संस्कार कति परिवर्तन भयो? यही सबैभन्दा ठूलो प्रश्न हो। सत्ता कसको हातमा छ भन्ने मात्रै महत्वपूर्ण होइन। सत्ता कसरी प्रयोग हुन्छ भन्ने अझ महत्वपूर्ण हो।

त्यसैले मैले देखेको पार्टी चुनाव जितेर सरकारमा पुग्न आतुर हुँदैन। उसले जनताको आदेश कुर्छ। चुनावअघि एउटा कुरा र चुनावपछि अर्को गठबन्धन बनाउने राजनीतिक संस्कारलाई अस्वीकार गर्छ। सत्ता प्राप्तिका लागि विचार बेच्दैन। त्यो पार्टीले पहिले आफूलाई सुशासित बनाउँछ। त्यसपछि समाजलाई सुशासन सिकाउँछ।

राज्य बदल्नुअघि संगठन बदल्छ। समाज बदल्नुअघि आफ्नै कार्यकर्ता बदल्छ। राजनीतिक संस्कृति बदल्नुअघि आफ्नै नेताको संस्कार बदल्छ। किनकि देश बनाउने कुरा संसद्बाट मात्र सुरु हुँदैन,राजनीतिक संगठनको चरित्रबाट सुरु हुन्छ।

सपना अझै मरेको छैन

सायद आज नेपालमा मैले कल्पना गरेको पार्टी छैन। तर त्यसको अर्थ त्यो सपना असम्भव छ भन्ने होइन। हरेक ठूलो राजनीतिक परिवर्तन सुरुमा एउटा असन्तुष्ट मनबाट जन्मिएको हुन्छ। एउटा प्रश्नबाट जन्मिएको हुन्छ। एउटा अस्वीकारबाट जन्मिएको हुन्छ।

आजको युवाको असन्तुष्टि रोजगारीको प्रश्न मात्रै होइन। यो सम्मानको प्रश्न हो। अवसरको प्रश्न हो। समानताको प्रश्न हो। भविष्य आफ्नै देशमा निर्माण गर्न पाउने अधिकारको प्रश्न हो। जब यी साना-साना असन्तुष्टिहरू साझा राजनीतिक चेतनामा बदलिन्छन्, त्यहीँबाट नयाँ शक्ति जन्मिन्छ। पार्टी रुपान्तरण हुन्छ,नयाँ उडान भर्छ। तर त्यो शक्ति अर्को चुनावी पार्टी मात्र बन्नु हुँदैन।

त्यसले भन्न सक्नुपर्छ,हामी सत्ता माग्न आएका होइनौँ, सत्ताको अर्थ बदल्न आएका हौँ। हामी नेता बन्न आएका होइनौँ, नेतृत्वको संस्कार बदल्न आएका हौँ। हामी झण्डा फेर्न आएका होइनौँ, झण्डाभित्रको विचारलाई व्यवहारमा उतार्न आएका हौँ।

हामी पुरानालाई गाली गरेर नयाँ बन्न आएका होइनौँ, आफूभित्रको पुरानो संस्कारलाई पराजित गरेर नयाँ बन्न आएका हौँ। त्यस दिन राजनीति फेरिन्छ।  त्यस दिन जनता मतदाता मात्रै रहने छैनन् ,राजनीतिक शक्तिको वास्तविक स्रोत बन्नेछन्।

र त्यही दिन सुरु हुनेछ त्यो यात्राको पहिलो अध्याय, जसको सपना धेरै पुस्ताले देखे, धेरैले झोला बोकेर हिँडे, कसैले जीवन दिए, कसैले जेल गए, कसैले सत्ता पाए र कसैले सपना गुमाए।

अब बाँकी पुस्ताको जिम्मेवारी छ।सपना सम्झिने मात्रै होइन, त्यसलाई नयाँ युगको राजनीतिक संगठनमा रूपान्तरण गर्ने हाे। किनकि इतिहासले हामीलाई फेरि एउटा अवसर दिएको छ। समाजबादमा फड्काे मार्ने।

अब प्रश्न यो होइन-कुन पार्टी ठूलो हुन्छ? प्रश्न याे हो-कुन विचारले जनताको जीवन ठूलो बनाउँछ? त्यो पार्टी सत्ताको ढोका ढकढक्याउन मात्र आउनेछैन। त्यो पार्टी आएपछि सत्ताको ढोका कसका लागि खुल्छ भन्ने अर्थ नै बदलिनेछ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.