
रामेछाप । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली सहयोग विवरण सार्वजनिक गरी आफ्नै QR कोडमार्फत रकम उठाएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रामेछापका नेता पक्राउ परेका छन्।
रामेछापको गोकुलगंगा गाउँपालिका-२ का ३२ वर्षीय भगवान् कार्कीलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय रामेछापका सुचना अधिकारी प्रहरी निरीक्षक कमल राउतका अनुसार कार्कीले बाढीपीडितका लागि आफूले १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै नक्कली भौचर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। उक्त भौचर च्याटजीपीटीको प्रयोग गरी बनाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
यस्तै, उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा आफ्नै QR कोड सार्वजनिक गरी रकम संकलन गरेको आरोपसमेत लागेको छ।
कार्की रास्वपा गोकुलगंगा गाउँपालिका कार्यसमितिका सहसचिव रहेको स्थानीय नेताले बताएका छन्। उनले स्थानीय तह निर्वाचन २०८४ का लागि पार्टीको ‘क्यान्डिडेट क्लब’मा सहभागी हुने भन्दै पोस्टरसमेत सार्वजनिक गरेका थिए।