
- राजीब माेक्तान तामाङ

तामाङ समाजमा “गोनेङ्या” भन्नासाथ छुट्टै रौनक आउँछ। गोनेङ्याको समय सीमा राखेर वर्षे खेति किसानको काम गरिन्छ। सम्पूर्ण बाली लगाउने काम सकेर गोने मनाउने तयारी हुन्छ। गोनेपछि वर्खे बाली लगाइँदैन। गोनेङ्या पछि मौसम फेरिन्छ भन्ने विश्वास छ। मौसम पनि गज्जबको हुन्छ, चर्केको घाम, जताततै हरियाली, मुख्य बाली धान लहलाउँदै, मकै पाक्दै गरेको, आँगनको डिलमा नासपाती र अनार छिप्पिँदै गरेको, थाङ्ग्रामा हरियो काग्रा तेर्सिरहेको दृश्य लोभलाग्दो हुन्छ।

गोनेङ्या वर्षा यामको चटारो काम सकिएको जनाउने चाड पनि हो। तामाङ समाजमा बौद्ध धर्म र बोन धर्म मान्ने संख्या लगभग उस्तै छन्। घरघरमा गोनेङ्याको मानसिक तयारी पहिल्यै हुन्छ, जसको नेतृत्व बोन्पो र लामाले गर्छन्। शैलुङ फेदी तिर अभ्यासमा रहेका यी परम्परा र विधिहरू छन्। मेरो जानकारीमा नआएका, सामान्यतया चलनचल्तीमा रहेका अभ्यास र परम्परा भए आगामी दिनमा थप परिष्कृत गर्दै जानेछु।
गोनेङ्या अर्थ
तामाङ भाषामा गोनेङ्या भन्नाले “गोने” ले एउटा महिनाको नाम जनाउँछ भने “ङ्या” ले पूर्णिमाको अर्थ दिन्छ। यो नेपाली पात्रोको साउनको अन्तिम वा भदौको पहिलो हप्तातिर पर्छ। यही समयलाई हिन्दूहरूले “जनै पूर्णिमा” नाम दिएका छन्।
खोज अनुसन्धानकर्ता खोजराज गोलेका अनुसार “गो” भन्नाले ‘ढोका’ हो भने “ने” को अर्थ ‘तीर्थ/स्थल’ हुन्छ। यो मासमा देउताहरू गुफा बस्छन्। यही मासको पूर्णिमा तिथिको दिन गुफाबाट बाहिर आउँछन्। त्यसरी देउता गुफा बसेको स्थानको ढोका खोलिने हुँदा दर्शनका लागि पुगिन्छ। यसैकारण महिनाको नाम पनि “गोने” रहन गएको हो।
१) सरसफाइ
गोनेङ्याको सुरुवात सरसफाइबाट हुन्छ। पूर्णिमाको दुई/चार दिनअघि देखि हरेक घरले आफ्नो घर जाने बाटो सफा गर्ने, झाडीहरू फाड्ने, नजिकैको कुण्ड, लाथान, ओम, गुम्बा, छ्योर्तेनहरू सफाचट गर्ने काम गरिन्छ। घरहरू लिपपोत र सफा पनि गरिन्छ। घर जाने बाटो घरकै मानिसले सफा गर्छन् भने सार्वजनिक स्थलहरू सामूहिक रूपमा सफा गरिन्छ। सरसफाइ पूर्णिमाको अघिल्लो दिनसम्म सम्पन्न गरिसक्नुपर्छ। यसरी सफा गर्नाले सफा बाटोबाट भगवान घरसम्म आउँछन् भन्ने जनविश्वास छ। अर्को, हरेक घरमा बुद्धका विभिन्न मूर्ति, पुस्तक, थाङ्का आदि सहित सानो गुम्बाजस्तै छ्योखाङहरू हुने गर्छन्। मूर्तिहरू धुने, टल्काउने, थाङ्का र पुस्तकहरूको धूलो टकटक्याएर पूजाका लागि सजाएर राखिन्छ।

२)लामाले गर्ने पूजा
पूर्णिमाको बिहानै सबैभन्दा पहिला गुम्बा, ओम, छ्योर्तेनहरूमा सामूहिक पूजा गरिन्छ। त्यसपछि लामाहरू घरघरै पुगेर पूजा गर्छन्। यही बेला लामाहरू भ्याइनभ्याइ हुन्छ, एक जनाले धेरै घरमा पूजा गर्नुपर्ने हुँदा राति अबेरसम्म पूजाका लागि जिन्दाहरू लामा पर्खिरहेका हुन्छन्। पूजामा बत्ती बाल्नुका साथै दूधेलु मकै, सिजनको फलफूल, खिर, रोटी चढाउने गरिन्छ। यश दिन ढिकी,जाँताे,मुसल,घट्ट,मिल,कुटाे,काेदाेलाे केही चलाउनु हुन्न भन्ने मान्यता छ।
३) कल्डी बाँध्ने र बोन्पोले गर्ने पूजा
कल्डी बाँध्ने काम भने बोन्पोले गर्छन्। बिहान सबेरै गाई-बस्तुको पुच्छरमा, कुखुराको मूल भालेको खुट्टामा धागो बाँधेर दिउँसो पोखरी, कुण्ड, थानहरूमा पुगेर पूजा गर्ने गरिन्छ। पूजामा धूप, बत्ती बाल्नुका साथै दूधेलु मकै, सिजनको फलफूल, खिर, रोटी चढाउने गरिन्छ। तर कुनै प्रकारको काटमार हुँदैन। सबैभन्दा रमाइलो बोन्पोहरूको हुन्छ, जसको अघि-पछि धेरै मानिसहरू हुने गर्छन्। अलि टाढा जान चाहने बोन्पोहरू शैलुङ र गोसाइँकुण्डसम्म पनि पुग्छन्, तर अनिवार्य भने छैन। यस भेगका बोन्पोहरू पुस पूर्णिमाको शैलुङ मेलामा भने अनिवार्य पुग्ने गर्छन्।
४) गुफा बस्ने
यही समयमा सिद्ध प्राप्त गर्न बोन्पोहरू गुफा बस्ने पनि गर्छन्। एक हप्ता अगाडि चिहान डाँडामा गुफा बसेका बोन्पोहरूलाई लिन हरेक घरबाट सगुन लिएर गुफा बसेको स्थानमा पुगिन्छ। फर्किँदा हरेक कुण्ड, थान, पोखरीहरू डुल्दै सफा बाटो हुँदै घर भित्र्याइन्छ। ठाउँ-ठाउँमा स्वागत र सत्कारका लागि सगुन राखिन्छ। लामाहरू भने यो समयमा गुफा बस्ने चलन छैनन्।
५) कपडा धुने र सुकाउने चलन
पूर्णिमाको दिन काशीबाट सिधा हावा आउँछ भन्ने जन विश्वास छ। बिहानको झुल्के घाममा वर्षभरि थन्क्याएर राखेको कपडा बाहिर हावामा देखाउने, कपासजन्य कपडा खरानी प्रयोग गरेर धुने र सुकाउने चलन छ।
अन्तमा: गोनेङ्या हरेक हिसाबले प्रकृति-पुजक देखिन्छ। यो बोन धर्म र सभ्यता संग जोडिएको स्पष्ट हुन्छ। तामाङहरू बौद्ध धर्म अंगीकार गर्नु अघि आठौं शताब्दी सम्म बोन धर्ममा आधारित थिए। बौद्ध धर्म र हिन्दू धर्मको मिचाइमा परेर यो परम्परा साघुरिएको कुरा प्रष्ट देखिन्छ। आजको पुस्ताले पनि यसलाई निरन्तरता दिइराख्नु यसको सांस्कृतिक, धार्मिक र सामुदायिक महत्त्वको प्रमाण हो, जसले पुस्तौँसम्म हाम्रो पहिचानलाई बलियो बनाइराख्नेछ।