
• राजीव माेक्तान तामाङ ,काभ्रे

पूर्वकाे शैलुङ जाने बाटाेमा “गुम्पटी” भन्ने एउटा सानाे बजार पर्छ। यस बजारकाे नाम “गुम्पटी” किन रह्याे भन्ने जिज्ञाशामा, बुझ्दा थाहा हुन्छ, याे बाटाे पुरानाे पदमार्ग हाे। त्यतिबेला पदयात्रामा हिँड्ने बटुवाहरूलाई बास बस्न कठिन हुने भएकाले, भाेर्लाकाे पातले छाएको एउटा सानाे विश्रामस्थल पाटी निर्माण गरिएकाे रहेछ। यही पाटीलाई स्थानीय भाषामा “गुम्पटी” भनियाे, र पछि यही नाम बजारकै नामका रूपमा बस्याे।
तर, तामाङ समुदायका मानिसहरू आज पनि यस स्थानलाई “घुमपाटी” नै भन्छन्। “गुम्पटी” शब्दको खास अर्थ नखुले पनि, तामाङहरूले प्रयोग गर्ने “घुमपाटी” शब्दले स्थाननामको परिचय र इतिहास सहजै स्पष्ट गर्छ। त्यसैले “घुम” भन्ने शब्द तामाङ भाषाबाट आएको हुनसक्छ भन्ने अनुमान गर्न सकिन्छ। अर्थात्, यो “गुम” होइन, “घुम” हो। अब प्रश्न उठ्छ “घुम” भनेको के हो? लोपोन्मुख बन्दै गएको “घुम” सँग सम्बन्धित ज्ञान, पछिल्लो पुस्ताले सायद नबुझ्न सक्ला। तर, पुराना पुस्ताहरूलाई “घुम” के हो भन्ने राम्रो ज्ञान छ। घुम के हो? यो कसरी बनाइन्छ? यसको प्रयोजन के हो? अब हामी यसबारे संक्षिप्तमा जानौँ।
घुमको परिचय:
“घुम” तामाङ समुदायको मौलिक सिर्जना हो। हिमाली भेगमा तामाङ,शेर्पा र भाेटेहरुले प्रयाेग गर्ने भेडाकाे ऊन,चाैरीकाे छालाबाट तयार पारिने ओढाे नै घुम हाे। घुम शब्द कसरी रह्याे भन्ने जिज्ञाशामा खाेजकर्ता जीवन कुमार याेञ्जन भन्नुहुन्छ”हाम्राे शरीरकाे पछिल्लो भागलाई तामाङले घाे भन्छन्। यही भाग पानी,हिउँ र चिसाेबाट जाेगाउने साधनलाई घुम भनेका हुन्। घुम शब्द घाेसँग सम्बन्धित छ।” हिमालमा ऊन र छालाबाट तयार पारिने घुम ठाउँ बिशेश बेशिमा बास वा निङगालाे र भाेर्लाेकाे पातबाट तयार भयाे।

पहाड र तराईमा घुम चोयाले बुनेको, दुईवटा चित्राभित्र बीचमा भोर्लाको पातले छापिएको, लाम्चो चारकुने र दुई पाखे ओढो हो। बर्खाको समयमा गाउँघरमा घुम ओढेर मेलापात जानु सामान्य प्रचलन थियो। तर अहिले त्यो स्थान छाता, रयाङकोट वा प्लास्टिकले लिएको छ। मेलापात जाँदा वा हाटबजारतिर जाँदा घुम ओढेर हिँड्ने चलन अब छैन।
शायद अब कतैकतै म्युजियममा मात्र घुम भेटिन सक्छ। तर बर्खा लाग्दा अहिलेको पुस्ताले पनि कहिलेकाहीं घुम सम्झिनु स्वाभाविक हो।
घुम बनाउने तरिका:
घुम विभिन्न साइजमा बनाउन सकिन्छ। घुम बनाउन एउटा चोया आउने बास वा निङगालाे आवश्यक पर्छ। बासलाई राम्रोसँग खुर्केर फुटाएर कप्टेरा बनाइन्छ र त्यसबाट चोया निकालिन्छ। निकालिएको चोया एक-दुई दिन घाममा सुकाएर वा सिधै काड्दै बुन्दै गर्दा पनि प्रयोग गर्न सकिन्छ।
चोया तयार भएपछि त्यसलाई बुनेर घुमको चित्रा तयार पारिन्छ। चित्रा बनेपछि, लहरे भोर्लाको प्वाल नपरेको राम्राे पात छानेर राम्ररी छापिन्छ। पातले मोरिसकेपछि, घुम दोब्बर पारेर सिउनु पर्छ। भित्र पट्टि टाउकाे अडाउने डाेरी राखिन्छ, अनि मात्र घुम तयार हुन्छ। सामान्यतया, घुमको परिचय र बनाउने तरिका यही हो।
घुम,बर्षा र असार
घुमकाे नाम लिने बित्तिकै बर्षायामकाे संकेत मिल्छ। जेष्ठ महिनाको अन्त्यतिर गाउँघरमा बाँझो खेत पल्टाउने काम सुरु हुन्छ। यससँगै, भदौको अन्त्यदेखि थन्क्याएर राखिएको “घुम” को अवस्था कस्तो छ भन्ने कुरा हेर्न थालिन्छ।
असारमा प्रयोग हुने औजारहरू,जस्तै हलाे,जुवा कोदालो,काेदाली, गैंती, डोको, नाम्लो,आदि,कसको अवस्था ठीक छ, कसको छैन भनेर जाँचिन्छ। जुन सामग्री ठीकठाक छन्, तिनै प्रयोग गरिन्छन्; बिग्रिएका छन् भने नयाँ किन्ने वा बनाउने तयारी हुन्छ। ती सामग्रीहरूमध्ये “घुम” पनि एक हो, जुन असार महिनाको लागि अनिवार्य वस्तुजस्तै मानिन्छ।

हरेक किसानको घरको बैइगलमा थन्क्याएर राखिएको घुमलाई खोज्दै किसान हतारिन्छन्। असार सुरु भएको संकेत हो त्यो,पुरानो घुमको याद, र त्यसलाई चलाउने तयारी। यसले पानी मात्र ओत्ने मात्र होइन, घाम लाग्दा पनि सितलता प्रदान गर्छ। हावा चलेको बेलामा पनि घुम सजिलै ओढ्न सकिन्छ, सानोतिनो असिनापातमा समेत घुम उपयोगी हुन्छ।
असारमा रोपाइँ गर्दा, घाँस काट्दा, बजार जाँदा वा गोठालो जाँदा घुम ओढ्ने चलन परापूर्वकालदेखि रहिआएको थियाे। घुमको उपयोग वर्षात सकिएपछि मात्र रोकिन्छ, अनि घुमलाई फोल्ड (पट्याएर) गरेर सुरक्षित रूपमा राखिन्छ।
पुरानो घुमले वर्षा र घामबाट किसानलाई जोगाउँछ। खेतमै खाएर बस्नुपर्ने समय आउँदा, खानेकुरा छोपेर राख्न पनि घुमको प्रयोग गरिन्छ। त्यसैले किसानका लागि घुम ओढ्ने वस्तु मात्र होइन, खेतीपातीको अनिवार्य साथीसँग पनि जोडिएको हुन्थ्याे।
असार सुरु भएपछि, किसान घरको पुरानो घुमलाई तानतुन (मर्मत) गरेर मिल्छ भने मिलाउँछन्, मिल्दैन भने नयाँ घुम किन्ने पर्खाइमा बस्छन्। “कहिले हाटबजार आउने, कहिले घुम बेच्न ल्याउने होला?” भन्ने अपेक्षामा हुन्छन्।
त्यो समय हाटबजारदेखि गाउँ–गाउँ डुलेर घुम बेच्नेहरू पनि प्रशस्तै पाइन्थे। पुरानो घुम मिल्दैन भने, नयाँ घुम किन्ने आशामा किसानहरू उनीहरू कुरेर बस्ने गर्थे।