
काठमाडौं /काठमाडौं महानगरपालिका-१० बुद्धनगरमा शनिबार बिहान एक पुरुषले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ४५ वर्षीय आश्विन राउतले बिहान करिब ६:१५ बजे आफ्नै डेराको भान्सा कोठामा शरीरमा आगो लगाएका हुन्। घटनापछि प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्याएको छ।
प्रहरीका अनुसार राउतको शरीरको करिब ५०-५५ प्रतिशत भाग जलेको छ। उनको वीर अस्पतालमा उपचार भइरहेको छ।
प्रारम्भिक अनुसन्धानअनुसार उनी श्रीमती र छोरासँग बुद्धनगरमा बस्दै आएका थिए। घटनाका बेला भने श्रीमती र छोरा घरमा थिएनन्। आत्मदाहको प्रयासको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। प्रारम्भिक रूपमा पारिवारिक विवादको कोणबाट अनुसन्धान भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।