
प्युठान, असार १६ प्युठानको गौमुखी गाउँपालिका-५, खुङ्ग (सुन्दरमेला) मा बाँदर आतंकका कारण किसानसँगै विद्यार्थीको पढाइ पनि प्रभावित भएको छ।
कक्षा ६ मा अध्ययनरत ११ वर्षीय विशाल सामत मकैबाली जोगाउन दिनहुँ खेतमै बसेर बाँदर धपाउन बाध्य छन्। उनले बाँदर हेर्ने अस्थायी टहरोमै कापी–कलम लिएर पढाइसमेत गरिरहेका छन्। बाँदरको त्रासका कारण विद्यालयको पढाइसँगै खेतको जिम्मेवारी पनि सम्हाल्नुपरेको अवस्था रहेको स्थानीयले बताएका छन्।
वडाध्यक्ष बरुनधोज मल्लका अनुसार बाँदर आतंकले वर्षौंदेखि किसानको मकैलगायतका बालीमा ठूलो क्षति पुर्याउँदै आएको छ। उनले बालबालिकासमेत खेतमा बाँदर धपाउन बाध्य हुनु दुःखद भएको भन्दै समस्या समाधानका लागि प्रभावकारी सरकारी नीति, राहत तथा दीर्घकालीन व्यवस्थापन आवश्यक रहेको बताए।
स्थानीयले बाँदर आतंक नियन्त्रणका लागि सरकारले ठोस योजना र प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन्।