
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोग ले २३ र २४ भदौको घटनासम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्दै रवि लामिछाने सहित राष्ट्रिय स्वतन्त्र पार्टी का १७ जना सांसदमाथि अनुसन्धान गर्न सिफारिस गरेको छ ।
आयोगले नख्खु कारागारबाट लामिछाने बाहिरिँदा कैदीबन्दी बाहिर पठाउने कार्यमा संलग्नता रहेको उल्लेख गर्दै उनीमाथि सूक्ष्म अनुसन्धान गर्न आग्रह गरेको छ । सोही घटनामा रास्वपा प्रवक्ता मनिष झा र नेता हरि ढकाल माथि पनि अनुसन्धान गर्न सिफारिस गरिएको छ ।
प्रतिवेदनअनुसार रास्वपाका सांसदहरू सुधन गुरुङ, दीपक बोहरा, गणेश कार्की, सुलभ खरेल, शिव यादव, बब्लु गुप्ता, कृष्णकुमार कार्की, डा. तोसिमा कार्की, राजीव खत्री, केपी खनाल, आशिका तामाङ, ज्वाला संग्रौला, सोम शर्मा र पुरुषोत्तम यादवलाई समेत अनुसन्धानको दायरामा ल्याउन भनिएको छ ।
त्यस्तै रास्वपा केन्द्रीय सदस्य खेमराज साउद तथा बाजुराबाट उम्मेदवार बनेका हेमराज थापामाथि पनि छानबिन गर्न आयोगले सिफारिस गरेको छ ।
आयोगका अनुसार प्रदर्शनअघि, प्रदर्शनका क्रममा र त्यसपछि नेताहरूले दिएका अभिव्यक्ति, सामाजिक सञ्जाल गतिविधि, प्रकाशित समाचार तथा राष्ट्रिय अनुसन्धानबाट संकलित सूचनाका आधारमा उनीहरूको भूमिकाबारे अनुसन्धान आवश्यक देखिएको हो ।
प्रतिवेदनमा भनिएको छ, “उनीहरूको अभिव्यक्तिले प्रदर्शनलाई उत्तेजित बनाउन भूमिका खेलेको भन्ने विभिन्न कोणबाट टिप्पणी देखिएकाले सार्वजनिक शान्ति, सुव्यवस्था तथा मानवीय एवं भौतिक क्षतिमा असर परे/नपरेको विषयमा अनुसन्धान आवश्यक देखिन्छ ।”
आयोगले भदौ २३ गतेको प्रदर्शनमा भएको दमन तथा भोलिपल्ट घटेका घटनाबारे अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको हो । आयोगकी सदस्य लिली थापा को संयोजकत्वमा गठित समितिले घटनाको अनुसन्धान गरेको थियो ।