
काठमाडौं, ४ असार । भारतले नेपाली चिया निर्यातमा अघोषित अवरोध लगाएपछि पूर्वी नेपालका चिया उद्योगहरू धमाधम बन्द हुन थालेका छन्। इलामका ५६ उद्योग बन्द भइसकेको अवस्थामा आजदेखि झापाका ३० भन्दा बढी चिया उद्योग तथा करिब दुई दर्जन चिया बगानसमेत पूर्ण रूपमा बन्द भएका छन्।
नेपाल चिया उत्पादक संघका अनुसार निर्यात ठप्प हुँदा उत्पादित चिया गोदाममै थन्किएको छ भने उद्योग सञ्चालन असम्भव बन्दै गएको छ। संघका अध्यक्ष आदित्य पराजुलीले समस्या समाधानका लागि पटक–पटक सरकारी निकायसँग कूटनीतिक पहलको माग गरे पनि सुनुवाइ नभएको गुनासो गरेका छन्।
निर्यात अवरुद्ध भएपछि उद्योगहरूले मजदुर र कर्मचारीलाई तलब दिनसमेत कठिन भएको बताएका छन्। संघले भारतले लगाएको अवरोध नहटेसम्म उद्योग बन्दको कार्यक्रम जारी रहने चेतावनी दिएको छ।
नेपालकै प्रमुख चिया उत्पादन क्षेत्र झापामा मात्रै वार्षिक १२ देखि १४ अर्ब रुपैयाँ बराबरको चिया कारोबार हुने गर्छ। त्यसमध्ये ५ अर्ब रुपैयाँभन्दा बढीको चिया भारतमा निर्यात हुँदै आएको व्यवसायीहरूको भनाइ छ।
उद्योग बन्द र निर्यात अवरोधका कारण इलाम र झापाका करिब ६० हजार श्रमिक, कर्मचारी तथा किसान प्रत्यक्ष प्रभावित भएका छन्। यसले चिया क्षेत्रसँग जोडिएको अर्थतन्त्रमा गम्भीर असर पर्ने चिन्ता बढेको छ।
यता उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी ले प्रतिनिधिसभामा सरकार समस्या समाधानका लागि कूटनीतिक पहलमा जुटिरहेको बताएकी छन्।