Khulla Bichar Online

वडाध्यक्ष सागर लामाको रणनितिक मार्ग चित्र

खानीखोला गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष सागर लामाले गाउँसभा/बजेट-२०८३ अधिवेशनमा लिखित मन्तव्य प्रस्तुत गर्दै भावी विकासका लागि रणनीतिक मार्गचित्र सार्वजनिक गरेका छन्।

प्रस्तुत लिखित मन्तब्यमा विगतका उपलब्धिहरू, गाउँपालिका नेतृत्वसमक्ष राखिएका सुझावहरू तथा आगामी दूरगामी नीति तथा कार्यक्रमहरूलाई समेटिएको छ। प्रस्तुत मार्गचित्रलाई खानीखोलाको समग्र, सन्तुलित र दिगो विकासका लागि तयार पारिएको दीर्घकालीन सोचका रूपमा हेरिएको छ।

. पृष्ठभूमि र विगतका उपलब्धिहरू

वडाध्यक्ष लामाले आफ्नो कार्यकालको अन्तिम नीति, कार्यक्रम भएकाले आगामी पुस्ताका लागि बलियो र दिगो ‘सिस्टम’ निर्माण गर्नु आफ्नो प्रमुख दायित्व रहेको बताएका छन्।

उनका अनुसार वडा नं. ३ मा “एक घर, एक धारा” अभियान अन्तिम चरणमा पुगेको छ भने आहले क्षेत्रमा नेपाल टेलिकम (NTC) को नयाँ टावर स्थापना गरी 4G नेटवर्कसम्बन्धी समस्या समाधान गरिएको छ।

त्यसैगरी, वडा कार्यालय जोड्ने मुख्य तीन सडक-जुरे-भाडटार, सौरे-जुरे तथा बाङ्गे-धनमना आले सडकखण्डको स्तरउन्नति गरिएको छ। यसले वर्षायाममा समेत यातायात सञ्चालन सहज भएको जनाइएको छ।

जनताको जिउधनको सुरक्षालाई ध्यानमा राख्दै चट्याङको जोखिम न्यूनीकरणका लागि विभिन्न टोलहरूमा अस्थायी अर्थिङ प्वाइन्ट स्थापना गर्ने कार्य सुरु गरिएको छ।

स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले बाँस तथा मकैको खोस्टाबाट सामग्री निर्माण, मौरीपालन लगायतका आयआर्जनमूलक सीपमूलक तालिम सञ्चालन गरिएको वडाध्यक्ष लामाले उल्लेख गरेका छन्।

सामाजिक तथा शैक्षिक क्षेत्रमा निःशुल्क आँखा शिविर सञ्चालन, विद्यालय भवनलाई प्रविधिमैत्री (SY Panel) संरचनामा निर्माण तथा विद्यार्थीहरूलाई न्यानो कपडा, स्टेशनरी र झोला वितरण कार्यक्रमलाई निरन्तरता दिइएको छ।

त्यस्तै, जनप्रतिनिधिको जिम्मेवारीभन्दा माथि उठेर आर्थिक अवस्था कमजोर भएका, बिरामी तथा असहाय वडाबासी र खानीखोलाबासीहरूलाई व्यक्तिगत रूपमा आर्थिक तथा भौतिक सहयोग गर्दै आएको प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन्।

२. गाउँपालिका नेतृत्वलाई आग्रह र पूर्वाधार रणनीति

समग्र गाउँपालिकाको सन्तुलित र न्यायोचित विकासका लागि अध्यक्ष तथा उपाध्यक्षको ध्यानाकर्षण गराउँदै वडाध्यक्ष लामाले बजेट वितरणमा समानता कायम गर्न आग्रह गरेका छन्।

उनले पहुँच, दलीय आधार वा व्यक्तिगत सम्बन्धका आधारमा बजेट विनियोजन गर्ने परिपाटीको अन्त्य गरी सातवटै वडालाई समान र न्यायपूर्ण दृष्टिकोणबाट हेर्नुपर्ने बताएका छन्।

खानीखोलालाई सदरमुकाम तथा अन्य पालिकासँग प्रभावकारी रूपमा जोड्न रणनीतिक सडक योजनाहरूलाई प्राथमिकताका साथ पूर्णता दिनुपर्ने उनको भनाइ छ। यस अन्तर्गत ऐतिहासिक खोपासी-ताल्दुङ्गा सडक, च्याल्टी-कोठे सडक तथा च्याप्राङबेसी-मिल्चे-दुलुङ-ताल्दुङ्गा सडकलाई पूर्णता दिनुपर्ने माग गरिएको छ।

त्यसैगरी, कंक्रिट पुल निर्माणमा लामो समय लाग्ने भएकाले फालामेटारदेखि ताल्दुङ्गासम्मका खोलाहरूमा तत्काल बेलिब्रिज निर्माण गरी यातायात सञ्चालन सहज बनाउनुपर्ने सुझाव पनि उनले दिएका छन्।

३. आगामी नीति, कार्यक्रम तथा दूरगामी सुझावहरू

भविष्यका लागि दिगो विकासको अवधारणा प्रस्तुत गर्दै वडाध्यक्ष लामाले “गाउँलाई गाउँ जस्तै बनाऔँ” भन्ने नारालाई अघि सारेका छन्।

उनले सिङ्गापुर वा स्विट्जरल्याण्डको अन्धानुकरण गर्नुको सट्टा गाउँको मौलिकता जोगाउँदै स्थानीय विशेषता अनुरूप विकास गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

महँगा कंक्रिट संरचनाको विकल्पका रूपमा कम खर्चिलो, सुरक्षित र वातावरणमैत्री ‘प्रिफ्याब’ भवन निर्माणलाई प्राथमिकता दिनुपर्ने सुझाव पनि दस्तावेजमा उल्लेख गरिएको छ।

गाउँपालिकाको दीर्घकालीन विकास तथा वैज्ञानिक नीति निर्माणका लागि विज्ञहरूको सहभागितामा ‘थिङ्क ट्याङ्क’ गठन गर्नुपर्ने प्रस्ताव गरिएको छ।

त्यसैगरी, साना तथा टुक्रे योजनाबाट अपेक्षित विकास सम्भव नहुने भन्दै प्रत्येक वडामा कम्तीमा दुईदेखि तीनवटा “वडाको गौरवका आयोजना” छनोट गरी बजेट केन्द्रित गर्नुपर्ने सुझाव दिइएको छ।

स्थानीय उत्पादनको प्रवर्द्धनका लागि कफी, दुग्धजन्य पदार्थ, कोदोको तीनपाने रक्सी, मह तथा जडीबुटीको व्यावसायिक उत्पादन र बजारीकरणमार्फत “खानीखोला ब्रान्ड” स्थापना गर्नुपर्ने अवधारणा प्रस्तुत गरिएको छ।

बाँस, निगालो, मकैको खोस्टा तथा सालको पातमा आधारित घरेलु उद्योगलाई प्रोत्साहन गर्न अनुदान तथा सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि गरिएको छ।

शिक्षा क्षेत्रलाई रोजगारमुखी बनाउन माध्यमिक विद्यालयहरूमा स्थानीय कच्चा पदार्थमा आधारित सीपमूलक तथा व्यावहारिक शिक्षा लागू गर्नुपर्ने सुझाव दिइएको छ।

खेलकुद तथा प्रतिभा विकासका लागि “एक वडा, एक खेल मैदान” अवधारणा लागू गर्दै खेलाडीहरूलाई राष्ट्रिय स्तरसम्म पुर्‍याउने वातावरण निर्माण गर्नुपर्ने उल्लेख गरिएको छ। साथै कला, साहित्य र सङ्गीतको संरक्षण तथा प्रवर्द्धनका लागि हरेक वर्ष “खानीखोला आइडल” प्रतियोगिता आयोजना गर्नुपर्ने प्रस्ताव गरिएको छ।

पर्यटन प्रवर्द्धनका लागि स्थानीय युवा तथा महिलाहरूलाई होमस्टे सञ्चालनसम्बन्धी विशेष तालिम प्रदान गर्नुपर्ने र सामाजिक सुरक्षा भत्ता वितरणलाई थप सहज बनाउन ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई वर्षमा कम्तीमा दुई पटक वडामै भत्ता वितरण गर्ने व्यवस्था मिलाउनुपर्ने सुझाव पनि समेटिएको छ।

यो दस्तावेज प्रशासनिक प्रतिवेदन मात्र नभई खानीखोला गाउँपालिकालाई आत्मनिर्भर, मौलिक र दिगो विकासको दिशामा अघि बढाउने स्पष्ट मार्गचित्रका रूपमा प्रस्तुत गरिएको उनकाे दाबी छ।

वडाध्यक्ष सागर लामाले दलगत स्वार्थभन्दा माथि उठेर खानीखोलाको वास्तविक र सन्तुलित समृद्धिका लागि सबै समुदाय, वर्ग र विचार बोकेका नागरिकहरूलाई एकजुट भएर विकास अभियानमा सहभागी हुन आह्वान गरेका छन्।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.