
• लाेक लामा

इरानको रोदन
आज इरानको आकाशमा
बादल मात्र छैनन्
धुवाँ छ त्यहाँ
बारुदको गन्ध छ त्यहाँ
र हजारौँ घरको
नबोलेको रुवाइ छ
कुनै आमाको काख रित्तिएको छ
कुनै बाबुको सपना ढलेको छ
कुनै बालकले
आफ्नो घर होइन
भग्नावशेषभित्र
आफ्नो भविष्य खोजिरहेको छ
तेहरानका सडकमा
मानिसहरू मात्र दौडिएका छैनन्
डर दौडिएको छ
पीडा दौडिएको छ
र हरेक मुटुभित्र
एउटै प्रश्न दौडिरहेको छ
किन हाम्रो आकाशमा
अरूको युद्धको आगो
इरानी राष्ट्रपतिको आवाज
विश्वमाझ पुग्दा
त्यहाँ कुनै घमण्ड थिएन
थियो त केवल
घाइते देशको कारुणिक पुकार हाे
“हामीमाथि परेको पीडा सुन,
तर हाम्रो पीडालाई
राजनीतिक नारामा मात्र नताैल
बमले घर ढाल्न सक्छ
शहर खरानी बनाउन सक्छ
तर आमाको आँसु
कुनै मिसाइलले रोक्न सक्दैन
इरान आज घाइते छ
तर उसको घाउसँगै
विश्वको मानवता पनि
परीक्षामा उभिएको छ
र इतिहासले सोध्नेछ
जब निर्दोषहरूको घर जलिरहेको थियो
त्यतिबेला संसार
कहाँ थियो ?