Advertisements

• अर्चना अस्तानी मगर

सारा दुनियाँको अगाडि
हातमा हात मिलाएर, साथमा साथ दिएर
गन्तव्यमा पुग्छु भन्थ्यौ तिमीले !
बीचमै किन घात गर्यौ प्रिय ?
अनायासै तिमी र मेरो वैमनस्यले
सारा सन्ततिको भविष्यमा
खेलबाड भइरहेको टुलुटुलु
हेरिरहेछौ तिमीले !
किन घात गर्यौ प्रिय ?
तिमी कसैको बहकाउमा लागेर
या कुरै नबुझी सबै गल्ती मैमाथि थोपारेर,
आफूले ऐना नहेरी
मलाई मात्र कमजोर सम्झी
किन घात गर्यौ प्रिय ?
यदि तिमी सही छौ भने,
मसँग बसेर सबै वास्तविकता उजागर गर्नुपर्छ, प्रिय।
नत्र हामीलाई इतिहासले अवश्य धिक्कार्नेछ,
प्रिय ! हाम्रा सन्ततिले दुःख पाइरहनेछन्, प्रिय !
यी सबैको अगाडि खाएको कसम
र दिएको वचन पूरा गर्न
हामीले व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नैपर्छ, प्रिय।
यी सबै कुरा तिमीलाई थाहा हुँदाहुँदै
तर किन घात गर्यौ प्रिय ?