Khulla Bichar Online

नयाँ राजनीतिको अनुहारमा देखिएको विकृति

Advertisements

•  शिशिर भण्डारी

भूमिका :

नेपालको राजनीतिमा ‘नयाँ’ शब्दले पछिल्ला वर्षहरूमा केही आकर्षण पैदा गरेको छ । पुराना दल, पुराना नेता, पुराना नारा र पुरानै राजनीतिक संस्कारबाट दिक्क भएको पुस्ताले नयाँ अनुहार, नयाँ शैली र नयाँ राजनीतिको खोजी गर्नु स्वाभाविक पनि हो । यही आकांक्षाले राजनीतिको मूलधारमा नयाँ पात्रहरूलाई प्रवेश गरायो, पुराना शक्तिका एकाधिकारलाई चुनौती दियो र राजनीतिमा प्रश्न गर्ने नयाँ आत्मविश्वास जन्मायो ।

तर यहाँ एउटा असहज सवाल उठ्छ—के अनुहार नयाँ हुँदैमा राजनीति पनि नयाँ हुन्छ ? हाम्रो राजनीतिमा सबैभन्दा ठूलो धोका नयाँ आशा देखाउनु होइन, नयाँको नाममा पुरानै रोग बोकेर आउनु हो ।

नेपालको वर्तमान राजनीतिक परिवर्तन र जनमतलाई हेर्दा लाग्छ—पुरानो राजनीति देखेर थाकेको नागरिकले नयाँ अनुहारमा आशा देख्यो । पुराना नारा सुनेर दिक्क भएको पुस्ताले नयाँ आवाजमा भविष्य खोज्यो । पुराना दलका झण्डा, भाषण र वाचा सुन्दा–सुन्दा निराश भएको समाजले मोबाइलको स्क्रिनमा देखिएका विविध नयाँ अनुहारलाई विकल्प ठान्यो । कसैले सुशासन देख्यो, कसैले पुस्तान्तरण, कसैले भ्रष्टाचार विरुद्धको विद्रोह, कसैले राज्यको पुनर्निर्माण ।

त्यो आशा गलत थिएन । तर अहिले एउटा असहज प्रश्न उठाउनै पर्ने भएको छ—हामीले राजनीति बदलिरहेका छौँ कि राजनीतिले केवल आफ्नो प्रोफाइलको फोटो मात्र बदलिरहेको छ ? किनकि अनुहार नयाँ हुँदैमा संस्कार नयाँ हुँदैन । पार्टीको नाम नयाँ हुँदैमा चरित्र नयाँ हुँदैन । चुनाव चिह्न नयाँ हुँदैमा राजनीति नयाँ हुँदैन । फेसबुकको स्टाटसमा ‘सिस्टम परिवर्तन’ लेख्दैमा प्रणाली परिवर्तन हुँदैन ।

नयाँ राजनीतिले पुरानो राजनीतिको भ्रष्टाचार, भागबन्डा, अहंकार, गुटबन्दी, व्यक्तिपूजा, असहिष्णुता र जवाफदेहिताको अभावविरुद्ध जन्मिएको दाबी गर्छ । तर त्यही नयाँ राजनीतिमा अहिले अराजकतालाई विद्रोह, अश्लीलतालाई निर्भीकता, हिंसात्मक भाषालाई जुझारुपन, भीडलाई जनमत, ट्रोलिङलाई तर्क, हल्लालाई सूचना र व्यक्ति पूजालाई नेतृत्व ठान्ने प्रवृत्ति देखिन थालेको छ । वास्तवमा यो समस्या अनुहारको होइन—संस्कारको हो । त्यसैले नयाँ राजनीति पुरानो राजनीतिभन्दा अनुहारमा फरक देखिनु मात्र पर्याप्त छैन । व्यवहारमा फरक हुन सक्नुपर्छ ।

यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने—पुराना दलहरूप्रतिको वितृष्णाबाट जन्मिएको नयाँ राजनीतिको सबैभन्दा ठूलो पूँजी नागरिकको विश्वास हो । तर त्यो विश्वास बैंकको खाताजस्तो हो—जहाँ जम्मा गर्न वर्षौं लाग्छ, निकाल्न थोरै समय भए पुग्छ । त्यसैले नयाँ हुनु अपराधमुक्त हुने लाइसेन्स होइन । नयाँ हुनु आलोचनामुक्त हुने पासपोर्ट होइन । र नयाँ हुनु गल्तीहरूलाई ‘क्रान्तिकारी शैली’ भनेर नाम फेर्ने सुविधा पनि होइन । हो, यहीँबाट अहिलेको नयाँ राजनीति र त्यसका नयाँ अनुहारको वास्तविक ऐना देखिन्छ ।

विद्रोहको नाममा अराजकता : परिवर्तन कि नियन्त्रण विहीनता ?

हो, नयाँ राजनीतिले प्रश्न गर्नुपर्छ । पुराना संरचनालाई चुनौती दिनुपर्छ । सत्तासँग डराउनु हुँदैन । संस्थाको कमजोरी औँल्याउनुपर्छ । तर विद्रोह र अराजकता बीचको फरक मेटियो भने परिवर्तनको नाममा अव्यवस्था जन्मिन्छ ।

आज हाम्रो सामाजिक सञ्जालमा राजनीतिक बहस हेर्दा कहिलेकाहीँ यस्तो देखिन्छ— ‘ठोक्नु पर्छ’, ‘घिसार्नु पर्छ’, ‘पाता फर्काउनु पर्छ’, ‘जलाइ दिनुपर्छ’, ‘सिध्याइ दिनुपर्छ’ जस्ता धाक–धम्की, रवाफ, अश्लीलता र हिंसाजन्य शब्द बाहेक केही छैन । अनि यस्ता शब्द लेख्ने र बोल्ने मानिसलाई नै ‘जुझारु’, ‘निर्भीक’ वा ‘क्रान्तिकारी’ भनेर ताली बजाइन्छ । वास्तवमा लोकतन्त्रमा विचारले जित्न नसकेपछि मुड्कीलाई विचारको विकल्प बनाउनु भनेको त्यो नयाँ राजनीति होइन, पराजित मानसिकता र अभिभावकत्व विहीन मानसिक बिरामी हो ।

कानुन खराब छ भने कानुन बदल्नुपर्छ । संस्था निकम्मा छ भने सुधार्नुपर्छ । नेता भ्रष्ट छ भने प्रमाणसहित प्रश्न गर्नुपर्छ । तर कानुनभन्दा माथि आफूलाई राख्नु, संस्थालाई नै अस्वीकार गर्नु, असहमतिको उत्तर धम्कीले दिनु र भीडलाई न्यायाधीश बनाउनु भनेको संस्कार सिक्न नसकेको अराजकता हो ।

अझ गम्भीर कुरा—बलात्कार जस्तो जघन्य अपराधलाई समेत गाली, धम्की वा प्रतिवादको हतियार बनाउनु केवल भाषाको पतन मात्रै होइन; अपराधको संवेदनशीलतालाई खुलेआम बजारमा बेच्नु हो । आपराधिक शब्दहरूको सामान्यीकरण गरेर आफू र आफ्नाहरू समेतबाट गहिरो निचतामा पुगेर नाङ्गिनु हो ।

त्यसैले नयाँ राजनीति आक्रामक हुन सक्छ, तर आपराधिक हुनु पर्दैन । निर्भीक हुन सक्छ, तर अश्लील हुनु पर्दैन । विद्रोही हुन सक्छ, तर अराजक हुनु पर्दैन । पुरानो घर भत्काएर नयाँ घर बनाउनु परिवर्तन हो; तर घरमा आगो लगाएर खरानीमा भुतभुती खेलिरहनु कुनै पनि क्रान्ति होइन ।

स्क्रिनमा जन्मिएको भीड—तथ्यभन्दा भाइरल ठूलो

नयाँ राजनीतिको अर्को अनुहार अहिले मोबाइलको स्क्रिनमा देखिन थालेको छ । पहिला राजनीतिक सभा चोकमा हुन्थ्यो । अहिले मोबाइलको स्क्रिनमा हुन थालेको छ । पहिले माइक चाहिन्थ्यो । अहिले एउटा मोबाइल, एउटा क्यामेरा र एउटा ह्यासट्याग पर्याप्त छ । यो विकास लोकतन्त्रका लागि ठूलो अवसर हो । तर यही शक्ति अहिले राजनीतिक विकृतिको सबैभन्दा ठूलो कारखाना पनि बनिरहेको छ ।

एउटा दृश्य कल्पना गरौँ न—कुनै नेताको पाँच मिनेटको भाषणबाट एउटा १२ सेकेन्डको भिडियो काटिन्छ । सन्दर्भ गायब, अर्थ बदलियो, क्याप्सन थपियो—‘हेर्नुस्, के भनेछन् !’ केही मिनेटमा हजारौँ शेयर हुन्छ, त्यसपछि सयौँ कमेन्ट बर्सिन्छन् । अनि अर्को बिहान त्यो आधा सत्य पूर्ण सत्य भइसकेको हुन्छ ।

अर्को दृश्य—तीन वर्ष पुरानो फोटो हुन्छ । नयाँ घटनाको क्याप्सन । ‘अहिले भर्खरैको घटना ।’ फेरि अर्को—अज्ञात अकाउन्ट । कुनै प्रमाण छैन । तर लेखिएको छ—‘भित्री स्रोतका अनुसार…।’ त्यसपछि—पहिले भाइरल, त्यसपछि तथ्य । एआईले नक्कली भाषण, आवाज र भिडियो समेत यथार्थ जस्तै बनाउन सक्ने भएकाले ‘मैले आफ्नै आँखाले भिडियो देखेँ’ भन्नु मात्र अब प्रमाण बन्न छाडेको छ ।

एउटा सत्य के हो भने—मोबाइलको स्क्रिनले सत्य देखाउन सक्छ; तर स्क्रिनमा देखिएको हरेक कुरा सत्य हुँदैन । त्यसैले ‘लाइक’ सत्यको प्रमाण होइन, ‘शेयर’ प्रमाण होइन, ‘भ्युज’ जनमत होइन, ‘ट्रेन्डिङ’ नै तथ्य होइन । एल्गोरिदमले मानिसलाई उसले पहिले नै मन पराएको कुरा अझ धेरै देखाउँछ । परिणाम—मानिसलाई सत्यभन्दा आफ्नो विश्वास प्यारो हुन थाल्छ । त्यसपछि राजनीति बहस होइन, केवल प्रतिध्वनि बन्छ ।

ट्रोल–फौज र चरित्रहत्या—तर्क सकिएपछि सुरु हुने युद्ध:

स्क्रिनमा जन्मिएको यही भीड विस्तारै ट्रोल संस्कारमा बदलिन्छ । नयाँ राजनीतिबाट भित्रिएको अर्को गम्भीर विकृति हो—प्रश्नको उत्तर तर्कले होइन, चरित्रहत्याले दिनु ।

यहाँ कसैले प्रश्न गर्‍यो—‘ऊ दलाल हो,’ असहमति जनायो—‘पुरानोको मान्छे हो,’ नीतिमा प्रश्न उठायो—‘विरोधी हो,’ तथ्य देखायो—‘फेक अकाउन्ट हो,’ नेताको आलोचना गर्‍यो—‘देशद्रोही हो ।’ त्यस पछि विचारमाथि होइन, व्यक्तिमाथि हमला सुरु हुन्छ । त्यहाँ परिवार तानिन्छ, निजी जीवन तानिन्छ, पुराना तस्वीर खोजिन्छन्, शारीरिक बनोटमाथि टिप्पणी हुन्छ, पुरानो गल्ती खोतलिन्छ, सम्बन्ध र निजी जीवनबारे अफवाह बनाइन्छ ।

महिला माथिको मिथ्या आक्रमणले विशेष रूपमा निजी जीवन, परिवार, रूपरंग र चरित्रलाई निशाना बनाउने गरेको पाइन्छ । वास्तवमा कुनै महिलालाई नीतिमा हराउन नसकेर उसको चरित्रमा आक्रमण गर्नु भनेको राजनीति होइन; त्यो पितृसत्तात्मक ट्रोलिङको डिजिटल संस्करण हो ।

अर्को डरलाग्दो दृश्य पनि छ—एउटै पार्टी वा समूहसँग सम्बन्धित दर्जनौँ अकाउन्टले एउटै भाषामा एउटै आरोप दोहोर्याउँछन् । एउटा पोस्ट, सयौँ समान कमेन्ट देखिन्छन् । एउटा आरोप, हजारौँ शेयर हुन्छन् । त्यसपछि लाग्छ—‘यति धेरै मानिसले भनेका छन्, पक्कै केही त होला नै ।’ वास्तवमा यही नै भ्रम हो ।भीडको आकारले आरोपलाई प्रमाण बनाउँदैन ।

राजनीतिमा असहमति हुन सक्छन् । तर असहमतिको उत्तर चरित्र हत्या भयो भने लोकतन्त्र विस्तारै भीडको अदालतमा परिणत हुन्छ । अनि प्रश्न फेरि त्यहीँ फर्किन्छ—नयाँ राजनीति आएको हो कि पुरानो असहिष्णुता नयाँ स्क्रिनमा आएको हो ?

युवा आक्रोश, सनसनी र भीडतन्त्र : ऊर्जा कसको हातमा ?

नयाँ राजनीतिको सबैभन्दा ठूलो शक्ति युवा पुस्ताको ऊर्जा हो । तर ऊर्जा आफैँमा नीति होइन, आक्रोश आफैँमा कार्यक्रम होइन र भीड आफैँमा जनमत होइन ।

युवाको बेरोजगारी, अवसरको अभाव, भ्रष्टाचार प्रतिको वितृष्णा, पुराना नेता प्रतिको आक्रोश र राज्यप्रतिको निराशालाई राजनीतिक परिवर्तनको शक्तिमा बदल्न सकिन्छ । तर त्यसैलाई उत्तेजना, भिडन्त, गाली र घृणामा बदलियो भने त्यही ऊर्जा विनाशको साधन बन्छ ।

आज सामाजिक सञ्जालमा एउटा सनसनीपूर्ण भिडियोले गम्भीर नीति बहसलाई केही मिनेटमै विस्थापित गर्न सक्छ । एउटा आक्रोशपूर्ण लाइभले सयौँ प्रमाण भन्दा बढी प्रतिक्रिया पाउन सक्छ । किन त ?

किनकि एल्गोरिदमलाई सधैँ गम्भीरता मन पर्दैन; उसलाई ध्यान चाहिन्छ । त्यसैले क्रोध बिक्छ, गाली बिक्छ, अपमान बिक्छ, डर बिक्छ र अफवाह बिक्छ । राजनीति यदि ‘कसले सबैभन्दा ठूलो हल्ला गर्न सक्छ ?’ भन्ने प्रतियोगिता बन्यो भने लोकतन्त्रको आवाज होइन, एल्गोरिदमको आवाज ठूलो हुन्छ ।

त्यसैले युवा पुस्तालाई नेतृत्व चाहिएको हो, उत्तेजक उद्घोषक होइन । नयाँ राजनीतिले युवाको आक्रोशलाई भीडमा होइन, नीति र परिणाममा बदल्न सक्नुपर्छ ।

व्यक्तिपूजा, ‘हामी मात्र सही’ र आलोचनाको अन्त्य:

पुरानो राजनीतिको एउटा ठूलो रोग थियो—नेता पार्टी भन्दा ठूलो । नयाँ राजनीतिले त्यसैको विरोध गर्‍यो । तर त्यही रोग नयाँ अनुहारमा फर्कियो भने के हुन्छ ? नेताको हरेक पोस्ट शेयर, हरेक भाषणमा ताली, हरेक निर्णयको बचाउ, हरेक आलोचकको खोजी, ‘हाम्रो नेता गलत हुनै सक्दैन ।’ वास्तवमा यो लोकतन्त्र होइन । यो नयाँ नाममा पुरानो भक्तिभाव हो ।

नेता लोकप्रिय हुन सक्छ । तर लोकप्रियता आलोचना माथिको लाइसेन्स होइन । ‘हामी मात्र सही’ भन्ने मानसिकताले राजनीतिक बहसलाई नै बन्द गर्छ । आफ्ना समर्थकले गरेको गल्ती पनि बचाउने, विपक्षीले गरेको सानो गल्तीलाई पनि राष्ट्रिय संकट बनाउने हो भने नैतिकता हराउँछ । नेतालाई प्रश्न गर्ने कार्यकर्ता शत्रु होइन । गल्ती औँल्याउने पत्रकार शत्रु होइन । असहमति जनाउने नागरिक विरोधी होइन ।

जसलाई प्रश्न सुन्ने बानी छैन, उसलाई सत्ता पाएपछि जवाफ दिन झन् गाह्रो हुन्छ । नयाँ राजनीतिको वास्तविक परीक्षा आफ्ना मान्छेले आलोचना गर्दा हुन्छ । नयाँ अनुहारको नयाँपन पनि त्यहीँबाट देखिन्छ—उसले आफ्ना समर्थकलाई ताली बजाउन मात्र सिकाउँछ कि प्रश्न गर्न पनि ?

दोहोरो मापदण्ड, पहिचानको राजनीति र इतिहासको व्यापार:

नयाँ राजनीतिको सबैभन्दा ठूलो नैतिक परीक्षा यहीँ हुन्छ—पुरानाको गल्ती अपराध, आफ्नाको गल्ती रणनीति । पुरानाले नियुक्ति गर्दा भागबन्डा, आफ्नाले गर्दा मेरिटोक्रेसी र प्रतिस्पर्धा । पुरानाले आलोचकलाई गाली गर्दा असहिष्णुता, आफ्नाले गर्दा राजनीतिक प्रतिरोध । पुरानाले तथ्य बिनाको आरोप लगाउँदा दुष्प्रचार, आफ्नाले लगाउँदा ‘खुलासा’ । पुरानाले सत्ता दुरुपयोग गर्दा तानाशाही, आफ्नाले गर्दा ‘परिवर्तनका लागि कठोर कदम ।’ यदि मापदण्ड यसरी व्यक्ति हेरेर बदलिन्छ भने सिद्धान्तको मृत्यु भइसकेको हुन्छ ।

त्यस्तै जात, धर्म, भाषा, क्षेत्र, लिंग, वर्ग र पहिचानका प्रश्नलाई सम्मानपूर्वक सम्बोधन गर्नु लोकतन्त्रको दायित्व हो । तर मतका लागि समुदायलाई एक अर्काविरुद्ध उभ्याउनु, धार्मिक संवेदनालाई उत्तेजनाको सामग्री बनाउनु, क्षेत्रीय असन्तुष्टिलाई घृणामा बदल्नु र इतिहासलाई वर्तमानको बदला लिन प्रयोग गर्नु खतरनाक बाटो हो ।

इतिहास बाट सिक्नुपर्छ; इतिहासको नाममा आजका नागरिकलाई फेरि लडाउनु हुँदैन ।
सनातन, धर्म, संस्कृति, परम्परा वा आधुनिकता—कुनै पनि कुरा अर्को नागरिकलाई अपमान गर्ने हतियार बन्नु हुँदैन । नयाँ राजनीति जोड्ने शक्ति बन्नुपर्छ, फुटाउने होइन ।

संस्था, सत्ता, प्रचार र जवाफदेहिताको परीक्षा:

नयाँ राजनीति संस्थाको असफलता माथि प्रश्न गर्दै जन्मिएको हो । त्यसैले उसले संस्थालाई अझ बलियो बनाउनुपर्छ, कमजोर होइन ।

आज संसद् मन परेन भने—संसद्लाई गाली गर्ने, अदालतको फैसला मन परेन भने—अदालतलाई शत्रु ठान्ने, मिडियाले प्रश्न गर्‍यो भने—‘मिडिया बिकेको’ देख्ने र नागरिकले आलोचना गर्‍यो भने—‘पुरानो मानसिकता’ देख्ने प्रवृत्ति झनै बढेको छ । यसरी हरेक असहमतिलाई षड्यन्त्र मान्न थालियो भने लोकतन्त्रमा बाँकी के रहन्छ ?

संस्था व्यक्तिभन्दा ठूलो हुनुपर्छ । सत्ता बाहिर हुँदा पारदर्शिता माग्ने र सत्ता पाएपछि सूचना लुकाउने हो भने नयाँपन कहाँ रह्यो ? विपक्षमा हुँदा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने र आफू सत्तामा पुगेपछि आलोचकलाई दबाउने हो भने फरक के भयो ? भ्रष्टाचार विरुद्ध भाषण गर्ने तर आफ्नै मान्छेमाथि प्रश्न उठ्दा मौन बस्ने हो भने नैतिकता कहाँ रह्यो ?

वास्तवमा जवाफदेहिता भनेको अरूलाई हिसाब माग्ने कला होइन; आफूले पनि हिसाब दिनुपर्ने अनुशासन हो । नयाँ राजनीतिले यहीँ आफूलाई सावित गर्नुपर्छ ।

निष्कर्ष :

नयाँ राजनीति यति सजिलै जन्मिनुको कारण बुझ्न सजिलो छ—नागरिक थाकेका थिए । उनीहरू भ्रष्टाचार बाट थाकेका थिए । भागबन्डा बाट थाकेका थिए। झुटा वाचाबाट थाकेका थिए । गुटबन्दी बाट थाकेका थिए । अयोग्यता बाट थाकेका थिए । नेताका परिवार र कार्यकर्ताको विशेषाधिकार बाट थाकेका थिए ।

त्यसैले नयाँ अनुहार आएपछि उनीहरूले ताली बजाए । तर ताली स्थायी समर्थन होइन ।नागरिकले नयाँलाई अवसर दिन सक्छ; तर नयाँलाई माफी दिइरहन नागरिक बाध्य हुँदैन ।

आजको डिजिटल युगले राजनीतिलाई असाधारण शक्ति दिएको छ । तर त्यही शक्ति दुष्प्रचार, डीपफेक, ट्रोलिङ, घृणा, चरित्रहत्या र भीडतन्त्रमा बदलियो भने सामाजिक सञ्जालले लोकतन्त्रलाई बलियो होइन, कमजोर पनि बनाउन सक्छ ।

त्यसैले अब नयाँ राजनीतिले आफैँलाई सोध्नुपर्छ—के हामी पुरानो राजनीतिको भ्रष्टाचार मात्र हटाउन आएका हौँ, कि पुरानो राजनीतिको संस्कार पनि बदल्न ? के हामी पुरानो नेताको ठाउँ लिन आएका हौँ, कि पुरानो नेतृत्व शैली नै बदल्न ? के हामी नयाँ पार्टी बनाउन आएका हौँ, कि नयाँ राजनीतिक चरित्र निर्माण गर्न ?

यदि गाली पुरानै छ, गुट पुरानै छ, व्यक्तिपूजा पुरानै छ, दोहोरो मापदण्ड पुरानै छ, अफवाह पुरानै छ, आलोचना सहन नसक्ने संस्कार पुरानै छ, सत्ता पाएपछि जवाफदेहिता बाट भाग्ने बानी पुरानै छ—त्यसो भए नयाँ के भयो त ?

पहिले गाली चोकको माइकबाट आउँथ्यो, अहिले मोबाइलको स्क्रिनबाट आउँछ । पहिले कार्यकर्ता नेता बचाउन दौडिन्थे, अहिले ट्रोल अकाउन्ट दौडिन्छ । पहिले भीड सडकमा जम्मा हुन्थ्यो, अहिले ह्यासट्यागमा जम्मा हुन्छ । तर रोग उही रह्यो भने-नयाँ चाहिँ के भयो ?

यहाँ नयाँ राजनीतिको आलोचना गर्नु नयाँ राजनीतिको विरोध होइन । यो नयाँ राजनीतिको सम्भावना जोगाउने अन्तिम चेतावनी पनि हो । नयाँ राजनीति चाहिन्छ—तर अराजकता होइन, नयाँ आवाज चाहिन्छ—तर अश्लीलता होइन, नयाँ विद्रोह चाहिन्छ—तर हिंसाको महिमा होइन, नयाँ डिजिटल शक्ति चाहिन्छ—तर झुटको कारखाना होइन, नयाँ नेतृत्व चाहिन्छ—तर व्यक्तिपूजा होइन, नयाँ पहिचान चाहिन्छ—तर विभाजन होइन, नयाँ राष्ट्रवाद चाहिन्छ—तर घृणा होइन, नयाँ सत्ता चाहिन्छ—तर पुरानै अहंकार सहित होइन ।

अन्ततः नागरिकलाई नयाँ पोस्टर मात्रै चाहिएको होइन । नयाँ चरित्र चाहिएको हो । नयाँ चुनाव चिह्नले मात्रै पुरानो संस्कार ढाक्न सक्दैन, नयाँ भाषणले मात्रै पुरानो व्यवहार छोप्न सक्दैन, नयाँ अनुहारले मात्रै पुरानो चरित्र सधैँ लुकाउन सक्दैन । किनकि सामाजिक सञ्जालको युगमा सबै कुरा रेकर्ड हुन्छ—भाषण, पोस्ट, कमेन्ट, समर्थन, विरोध, वाचा, व्यवहार ।

आज डिलिट गरिएको पोस्ट पनि स्क्रिनसटमा बाँच्छ । आज हटाइएको भिडियो पनि अर्कै अकाउन्टमा फर्किन्छ । आज दबाइएको प्रश्न भोलि अझ ठूलो प्रश्न बनेर आउन सक्छ । त्यसैले डिजिटल युगमा राजनीति स्मृतिविहीन छैन ।

त्यसैले नयाँ राजनीतिले अरूको ऐना फुटाउनु भन्दा पहिले आफ्नै ऐनामा हेर्नुपर्छ । ऐनामा दाग देखियो भने ऐनालाई दोष नदिनु । प्रतिबिम्ब मन परेन भने क्यामेरालाई गाली नगर्नु । बरू आफ्नै अनुहार सफा गर्नु ।

किनकि इतिहासले अन्ततः यति मात्र सोध्नेछ—
तिमी नयाँ भएर आयौ, ठीक छ । तर तिमीले राजनीतिलाई कति नयाँ बनायौ ? र इतिहासको अन्तिम फैसला अझ कठोर हुनेछ—अनुहार नयाँ हुनु परिवर्तनको खबर हुन सक्छ; तर संस्कार नयाँ हुनु मात्रै परिवर्तनको प्रमाण हो । नत्र इतिहासले लेख्नेछ—‘मुख नयाँ थियो, मुखौटा नयाँ थियो, तर ऐनामा देखिएको राजनीति पुरानै थियो ।’

– २०८३ भदौ ३१ गते ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.