
काभ्रेपलाञ्चोकको बनेपामा रहेको लिन इन्टरनेशनल बोर्डिङ स्कूलले विद्यार्थीहरूको कक्षा कोठामा सिकेको ज्ञान र सीपलाई व्यवहारिक रूपमा प्रस्तुत गर्ने उद्देश्यसहित शैक्षिक प्रदर्शनी आयोजना गरेको छ। विद्यार्थीमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने, सिर्जनशीलता विकास गर्ने र परियोजना कार्यमार्फत सिकाइलाई जीवनसँग जोड्ने लक्ष्यका साथ प्रदर्शनी आयोजना गरिएको विद्यालयका निर्देशक शिशिर भण्डारीले जानकारी दिनुभयो।


प्रदर्शनीमा विद्यार्थीहरूले तयार पारेका सयौँ शैक्षिक तथा सिर्जनात्मक सामग्रीहरू प्रदर्शनमा राखिएको थियो। कार्यक्रममा एक हजारभन्दा बढी विद्यार्थी तथा अभिभावकको उल्लेखनीय सहभागिता रहेको थियो। कला र सिर्जनाका विविध प्रस्तुतिले आफू निकै खुशी र उत्साहित भएको अभिभावक अमर लामाले बताउनुभयो। चित्रकला, विज्ञान, हस्तलेखन, नाट्य प्रस्तुति, पुराना सामग्रीको संकलन तथा विषयगत शैक्षिक प्रदर्शनीहरू सफलतापूर्वक सम्पन्न भएको विद्यालयका प्रिन्सिपल श्रीकृष्ण श्रेष्ठले जानकारी दिनुभयो। शैक्षिक प्रदर्शनीले विद्यार्थीमा आत्मविश्वास बढाउनुका साथै व्यवहारिक सिकाइको महत्वलाई उजागर गरेको सहभागीहरूको भनाइ रहेको छ।