
- लक्ष्मी लामा (केन्द्रीय सदस्य-एकीकृत अखिल नेपाल शिक्षक संगठन )
तिमी भन्छौ

“शिक्षा असफल भयो।”
तर तिमीले कहिल्यै सोध्यौ?
शिक्षक किन थाक्यो?
राज्यले भाषण गर्छ,
समाजले फैसला सुनाउँछ,
तर कालोपाटी पछाडिको पसिना
कुन प्रतिवेदनले नाप्छ?
पाठ्यपुस्तक ढिला आयो
दोष शिक्षकको!
भवन चुहियो
दोष शिक्षकको!
नानी भोकै आयो
उत्तर पनि शिक्षककै!
तलब समयमा आएन,
तर जिम्मेवारी
सधैँ समयभन्दा अगाडि आइपुग्छ।
प्रशिक्षण कागजमै सीमित,
अपेक्षा भने आकाश जत्तिकै।
बिरामी शिक्षक
कक्षा छाड्न मिल्दैन,
किनकि शिक्षक
मानिस होइन
प्रणालीको मेसिन ठानिएको छ।
छोराछोरीको जन्मदिन
क्यालेन्डरमा मात्रै बाँच्छ,
टीकाको स्पर्श
फोटोभित्रै हराउँछ।
समाज भन्छ
“शिक्षकले त्याग गर्नुपर्छ।”
तर
त्यागको अन्त्य
कहिले हुन्छ?
जब नानी डाक्टर बन्छ,
इन्जिनियर बन्छ,
मन्त्री बन्छ
गौरव भाषणमा गुञ्जिन्छ।
तर जस नदेखिने
पहिलो अक्षर,
धैर्य,
मौन मिहेनत
कुन भाषणले सम्झिन्छ?
म शिक्षक हुँ।
तिमी प्रश्न गर्न जान्यौ
किनकि मैले
प्रश्न गर्न नपाउने
अनुशासन सिकाएँ।
देश अगाडि बढोस् भनेर
म आफैँ पछि हटिरहेँ।
म कमजोर भएर मौन छैन
म मौन छु,
किनकि म शिक्षक हु!