
काभ्रेपलाञ्चोक । जिल्ला बचत तथा ऋण सहकारी संघ काभ्रेको २८औँ वार्षिक साधारण सभाबाट उदयराम कायस्थ पुनः अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।


संघको उपाध्यक्षमा निर्मला श्रेष्ठ, सचिवमा राजन अधिकारी र कोषाध्यक्षमा जीवन श्रेष्ठ चयन भएका छन्। त्यसैगरी सञ्चालक समिति सदस्यहरूमा विनोद सापकोटा, जान्दवी अधिकारी, श्रीकृष्ण न्यौपाने, चन्दा श्रेष्ठ र राजन सापकोटा निर्वाचित भएका छन्। लेखा समिति संयोजकमा शिवप्रसाद आचार्य तथा सदस्यहरूमा नवराज केसी र राजकुमार आचार्य चयन भएका छन्।
साधारण सभाको अध्यक्षता अध्यक्ष कायस्थले गरेका थिए। कार्यक्रममा संघले पछिल्ला चार वर्षमा गरेका कामको समीक्षा, सहकारी क्षेत्रका चुनौती र वर्तमान अवस्था सम्बन्धी विषयमा प्रमुख कार्यकारी अधिकृत गुरुप्रसाद ढकालले कार्यपत्र प्रस्तुत गरेका थिए।
सभामा वार्षिक प्रतिवेदन सचिव सुरेन्द्रप्रसाद पौडेलले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष जीवन श्रेष्ठले र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक शिवप्रसाद आचार्यले प्रस्तुत गरेका थिए।
नयाँ नेतृत्व चयनका लागि शनिबार पुस ५ गते उम्मेदवारी दर्ता भएको थियो। तीन दलबीच सहमतिका आधारमा नेतृत्व चयन गरिएको हो। सहमतिअनुसार एमालेले अध्यक्षसहित ४ पद, नेपाली कांग्रेसले उपाध्यक्ष र कोषाध्यक्षसहित ५ पद तथा साविक नेकपा (माओवादी केन्द्र)ले सचिवसहित ३ पद पाएका छन्।