
• राजीव माेक्तान तामाङ

शायद नेपालमा अहिले यस्तो पार्टी छैन, तर त्यसको सपना बाँचिरहेको छ। त्यो सपना हाम्रै भित्र धड्किरहेको छ, हाम्रा असन्तोष र आकांक्षासँगै बाँचिरहेको छ।
नेपालको राजनीतिक यात्रामा जनताको नाममा धेरै पार्टीहरू बने, तर जनताको वास्तविक शक्ति कहिल्यै संस्थागत भएन र देखिएन। भिन्न देखाउन खोज्ने थुप्रै पार्टी र नेता छन्। मूल रूपमा १) गणतन्त्रवादी, २) लोकतन्त्रवादी, ३) राजावादी यही तीन शक्ति हुन्। क्रान्ति भयो, आन्दोलनका उभारहरू आए, नेताहरू बदलिए, नारा बदलिए, तर जनताको पीडा उही रह्यो। श्रम बेचेर बाँच्नेलाई अझै पनि आफ्नै पसिनाको मूल्य किन्नै परिरहेको छ। यही यथार्थबाट एउटा प्रश्न उठ्छ । के हामी यस्तो पार्टीको कल्पना गर्न सक्दैनौं?जसले सत्ता होइन, समाज रूपान्तरणको बाटो सधैं रोज्छ? जसको मेरुदण्ड व्यक्ति होइन, विचार हुन्छ?
त्यस्तो पार्टीको आधार मार्क्स, लेनिन र माओको दृष्टिकोणमा निहित भएर लामो समय हिँडिरह्यो। “जहाँ राजनीतिक संगठन कुनै चुनावी मञ्च होइन, बरु वर्गसंघर्षको संगठन हो। वर्गसंघर्ष नै मानव मुक्ति र सामाजिक रूपान्तरणको ऐतिहासिक शक्ति हो। समाज दुई वर्गमा बाँडिएको छ शोषक र शोषित। जबसम्म उत्पादनका साधनहरू मुठ्ठीभर दलाल पुँजपतिहरूको हातमा केन्द्रित रहन्छन्, तबसम्म स्वतन्त्रता केवल भ्रम हुन्छ। त्यसैले सर्वहारा वर्गको पार्टीको पहिलो जिम्मेवारी नै यो भ्रम तोड्नु हो सत्ता अब सर्वहारा वर्गको हातमा हुनुपर्छ।”
यसो भन्दै बिर्खे झोला भिरेको पनि धेरै वर्ष भयो। झोलाले दर्शनका पोका देखि ग्रिनेडका डल्लासम्म बोक्यो, भन्नै पर्दा पुस्ता बित्यो।
देखेको सपनाको पार्टी
१) त्यो पार्टीले जनवादी वा लोकतान्त्रिक केन्द्रीयताको अभ्यास गर्छ। निर्णयहरू जनता र कार्यकर्ताबाट माथि उक्लिन्छन्, र नेतृत्व जिम्मेवार भएर तल फर्किन्छ। यहाँ पद स्थायी होइन, जिम्मेवारी अस्थायी हो। नेता व्यक्तिको रूपमा होइन, विचारको वहनकर्ताको रूपमा रहन्छ। उसको कार्यकाल सीमित हुन्छ, ताकि क्रान्तिको नेतृत्व सधैं ताजा चेतनासँग जोडिरहोस्।
२) समानुपातिक र समावेशी संरचना यसको अर्को प्राण हो। देशको विविधता भाषा, जात, लिङ्ग, भूगोल र उमेर पार्टीको संरचनामा प्रतिबिम्बित हुन्छ। यो पार्टी ‘अल्पमत’लाई दबाउँदैन, बरु आलोचनालाई शक्तिको रूपमा लिन्छ। किनकि लेनिनले भनेझैं, “आलोचना विना क्रान्ति स्थिर रहँदैन।”
३) पारदर्शिता यसको नैतिक अनुशासन हो। पैसाले उम्मेदवारी किन्न पाइँदैन, हैसियतले मत निर्धारण गर्न सकिँदैन। भ्रष्टाचार कुनै प्रशासनिक गल्ती होइन, राजनीतिक अपराध हो। जसले नैतिक संकट सिर्जना गर्छ, उसले तुरुन्तै पद छोड्नुपर्छ। कारण, पार्टी व्यक्ति होइन, विचारको प्रतिष्ठा हो। जनताको सेवक हो।
४) अर्को विशेषता भनेको विचार र व्यवहारको एकता हो। त्यो पार्टीले घोषणापत्रमा समाजवाद लेख्ने र व्यवहारमा दलाल पूँजीवाद पाल्ने द्वैधता अस्वीकार गर्छ। यहाँ व्यक्तिको पूजा गरिँदैन, नेताको जयगान गाइँदैन, पुच्छर लगाएर कोही हिँड्दैन। मतभेदलाई विभाजन वा गुट–उपगुट होइन, शुद्धिकरणको प्रक्रियाका रूपमा बुझिन्छ।
५) यस्तो पार्टीले सत्तामा जान जनताको आदेश कुर्छ। मतदातालाई धोका दिँदै चुनाव अघि र पछि फरक गठबन्धन बनाउने चलनलाई अस्वीकार गर्छ। यसको धैर्यता सत्ता कब्जामा होइन, सत्ताको संस्कार परिवर्तनमा केन्द्रित हुन्छ। यस्तो पार्टीले देश बनाउने गफ होइन, सुशासित पार्टी बनाउदै देश बनाउने महा अभियानमा लाग्छ। जसले राज्यलाई सुधार्नुअघि आफैं सुधारिन्छ, जसले चर्का नारा होइन, आचरणबाट जनताको विश्वास जित्छ।
शायद नेपालमा अहिले यस्तो पार्टी छैन, तर त्यसको सपना बाँचिरहेको छ। त्यो सपना हाम्रै भित्र धड्किरहेको छ, हाम्रा असन्तोष र आकांक्षासँगै बाँचिरहेको छ। जब सर्वहारा वर्गले आफ्ना साना–साना असन्तोषहरूलाई साझा सपनामा रूपान्तरण गरे, त्यहीँबाट नयाँ पार्टी जन्मिन्छ।
त्यो पार्टी सत्ताको ढोका ढकढक्याउने होइन, सत्ताको अर्थ नै फेरिदिनेछ।