Khulla Bichar Online

प्रेमको अर्थ: पीडादेखि आत्मबोधसम्म

त्यो समय व्यक्तिगत प्रेमको ठाउँ थिएन।जिम्मेवारी, कर्तव्य र देशप्रेमको जोश जागर थियाे। त्यसै बीच एक वर्षमै जनवादी विवाह भयो। न त गहना, न त तामझाम, प्रतिज्ञा र अनुशासन मात्र थियाे।

• लक्ष्मी लामा,काभ्रे

विद्यालय जीवन

विद्यालयको समय प्रेम मुस्कान, साथीको साथ र खेलकुदको रमाइलोमा सीमित थियो। मधेशको संगतमा हुर्केँ,बुर्का लगाउनेहरूसँग अलि टाढा, तर कमला नदीको किनारमा बसेको हाम्रो बस्ती विविधताले भरिएको थियो। दलित, तामाङ, नेवार,हायु, माझी, खस, क्षेत्री, बाहुन,सबैको घना सहअस्तित्वले भरिएकाे थियाे। कसैले कसैलाई मन परायो कि पराएन, त्यो अब स्मृतिमा धुम्म छ। पहाडका साना सिर्का खेत र वारि हेर्दा तराईका विशाल फाँट आँखाले नभ्याएको हुने नै भयाे। खेतीपाती, किताब, खेलकुद र सपना त्यो समयका साँचो साथी थिए। प्रेम गहिराे त्यसैमा थियाे। त्यो बेलाकाे प्रेमको अनुभव कल्पनामा सीमित थियो। कल्पना कल्पना मै सिमित थियाे।

हृदयको धड्कन अलिकति  छिटोछिटो चलेकाे थियो भने साथीको आँखामा लुकाएको मुस्कानमा रमाउने थियो हाेला। तराईकाे फाँट तिरै। कतै बुर्का लगाउने तिरै पाे साेझिन्थ्याे कि! तर पनि सुरक्षित, साधारण, शान्त र सरल जीवन जहाँ प्रेम भन्नाले डर होइन, हल्का उत्साह मात्र दिन्थ्यो बेला त्यस्तै थियाे।

जनयुद्ध र जिम्मेवारीको प्रेम

एस.एल.सी. सकिँदै गर्दा देशभर जनयुद्धको गर्जन गुञ्जिरहेको थियो । भूकम्पको कडा पराकम्पन झैं। त्यो पराकम्पनले कसैलाई छोएन भन्ने कुरा सम्भवै थिएन। म पनि त्यही लहरमा बगेँ। पहाड तिर उक्ले । वान पाेलर झाेला,गाेल्डस्टार जुत्ता,दुई चार वटा किताब,फेर्ने कपडा नै मेराे लागि संसार थियाे। पहाडका टाकुरोहरुमा ढिडाे खान सिके,पहाडकाे उकालाे,उह्रालाे,भन्झ्याङ शुरुकाे दिनमा निकै कठिन भयाे। बिस्तारै प्रेम बस्याे। गाैरीशंकरकाे फेदी तिब्बत काे सीमा नजिक बिगु गुम्बा सम्म पुग्दा पहाड संग गहिराे प्रेम बस्याे। हिमाल संग कन्चन प्रेम रह्याे। शैलुङ संग यति गाढा प्रेम बस्याे कि छुटिनै सकिन लामाे समय त्यहि रहे। हजारौँ युवासँगै सपनामा आगो सवार गरे। देशको भविष्य बनाउने प्रयास गरेँ।

त्यो समय व्यक्तिगत प्रेमको ठाउँ थिएन। थियो त जिम्मेवारी, कर्तव्य र देशप्रेमको जोश जागर थियाे। त्यसै बीच एक वर्षमै जनवादी विवाह भयो। न त गहना, न त तामझाम, प्रतिज्ञा र अनुशासन मात्र थियाे। भोलिपल्टै आ-आफ्नाे कार्यक्षेत्रका लागि छुट्टियौँ। त्यो बेला प्रेम व्यक्तिगत होइन, सामूहिक थियो। देशप्रेम नै जीवनको गहिरो अर्थ बनेको थियो। त्यो प्रेम आत्मिक,गहिराे भाबनात्मक,स्पात जस्तै, निकै बलियो र जिम्मेवारीपूर्ण थियो। सपना र लक्ष्यसँग जोडिएको, व्यक्तिगत भावनाभन्दा माथि उठेको।

आधुनिक जेन्जी पुस्ताको प्रेम

आजको जेन्जी पुस्ता सामाजिक सञ्जालमा बाँचेका छन्। फेसबुक, टिकटक, इन्स्टाग्राम अनिगिन्ती यी प्रेमका नयाँ रंगमञ्च बनेका छन्। कुनै चाैतारी,गाेठालाे चाैंर,मिल वा पानी घट्टा,मुस्कान हेर्नकै लागि मेलापात आबश्यक परेन। यहाँ प्रेम मुस्कान होइन, “लाइक” र “भ्युज”को हिसाबमा मापन हुन्छ।

टेक्स्टले संवाद बन्छ, इमोजीले भावना व्यक्त गर्छ, तर गहिराइ हराउँछ। भेटघाटको सट्टा भिडियो कल, पत्रको सट्टा इनबक्स, र प्रतीक्षाको सट्टा तुरुन्त प्रतिक्रिया ,यी सबैले प्रेमलाई क्षणिक बनाइदिएका छन्।सामाजिक सञ्जालको यो संस्कृतिले युवाहरूलाई देखावटी र प्रतिस्पर्धी प्रेमतर्फ धकेलेको छ। “लाइक नआएर मन दुख्ने”, “सन्देश नआएर एक्लो महसुस हुने” र “अनफोलो हुँदा आत्मसम्मान घट्ने”यी नयाँ यथार्थ हुन्। प्रेममा असफल हुँदा उनीहरू डिप्रेशन, आत्महत्या र आत्मविनाशसम्म पुग्ने अवस्थासमेत देखिएको छ।

बिद्वान एरिक फ्रॉमका अनुसार,“साँचो प्रेम लड्ने होइन, उभिने कुरा हो जसका लागि परिपक्वता, धैर्यता र जिम्मेवारी आवश्यक हुन्छ।”

तर अहिलेको पुस्तामा ती तीनै गुणको कमी छ। प्रेम छिटो सुरु हुन्छ, छिट्टै अन्त्य हुन्छ। धैर्य छैन, संवाद छैन, आत्मबोध छैन। कुनै शारीरिक परिश्रम छैन। प्रेम अब “फिल्टर”मा सजिएको फोटोझैं कृत्रिम बनेको छ। प्रेम सफल छैन। प्रेम असफल हुनुका कारणहरू अनेक छन्। अवास्तविक अपेक्षा, सामाजिक तुलना, आत्मसम्मानको अभाव, र सम्बन्धलाई भोगका रूपमा लिने प्रवृत्ति मुख्य हुन। जसरी इन्धन बिना गाडी चल्दैन, त्यसरी नै आत्मबोध बिना प्रेम टिक्दैन।

गाैतम बुद्धका शब्द सापटी लिने हाे भने “तिमीले आफूलाई प्रेम गर्न नजानेसम्म अरूलाई साँचो प्रेम गर्न सक्दैनौ।”

हाे, प्रेम आत्मबोधबाट सुरु हुनुपर्छ। प्रेम केवल आकर्षण होइन, बुझाइ हो। गहिराे सम्बन्ध हाे। अझ सम्बन्ध भन्दा पनि आत्म-विकासको यात्रा हो । जहाँ पीडाबाट अनुभव जन्मिन्छ र अनुभवबाट आत्मबोध। साँचो प्रेमले स्वामित्व होइन, स्वतन्त्रता दिन्छ। त्यो क्षणिक होइन, आत्मिक हुन्छ।

अन्तमा: प्रेम समय र पुस्तासँगै रूप बदल्दै आएको छ। कहिले विद्यालयको निष्कपट मुस्कानमा, कहिले जनयुद्धको जिम्मेवारीमा, र अहिले डिजिटल दुनियाँको प्रदर्शनमा छ। तर यसको मूल सार एकै छ,आत्मबोध, आत्माबाेध। साँचो प्रेम स्वामित्व होइन, समझदारी हो । आकर्षण होइन, आत्म-विकासको यात्रा हो। प्रेम तब मात्र सफल हुन्छ जब मानिसले पहिलोपटक आफैँलाई प्रेम गर्न सिक्छ। तसर्थ आफैले आफैलाई प्रेम गराैं।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.