Khulla Bichar Online

भोटभोटेको सम्झनादेखि बेथानकाे वीरतासम्म

लक्ष्मी तामाङ,सर्लाही 

१. भोटभोटेको कराइ : बाल्यकालको निर्दोष स्मृति

बिहान नौ बजेतिर कामा डाँडा हुँदै ठुलो आवाजमा भट्भटे आयो-भटटटट… गर्दै। फुपुको घरबाट ल्याएको मोहिमा कोदोको ढिँडो मुछ्दै गरेको थाल लिँदै म भट्भटे हेर्ने रहरले आँगनमा निस्किएँ, त्यसरिनै बहिनी पनि। आँखै अगाडि नजिकै ठुलो भट्भटे देखेर ठुलो स्वरले चिच्याएँ, ताकि आफू समान उमेरका सबैले सुनून् भन्दै-

“ओ… भट्भटे खाजी, भट्भटे खाजी…”

(ओ… भोटभोटे आयो… भोटभोटे आयो…)

म जस्तै गाउँका अरू केटाकेटीहरू पनि त्यसरिनै कराइरहेका थिएँ, मानौँ कराउने मेलानै लागेको जस्तो। भोटभोटे पूर्व गाल्पा ताक्दै घरै माथिबाट गयो। रुखहरूको छेल पर्दै म अझै देख्ने रहरले घरमाथिको कान्ला उक्लिएँ, बहिनी पनि संगसंगै। भोटभोटे पूर्व गाल्पाबाट उतर अग्लेश्वरतर्फ मोडियो। त्यो मोडाइ देखेर म खुसी हुँदै फेरि चिच्याएँ-

“भोटभोटे धोजी… च्याकोले भोटभोटे धोजी!”

(भोटभोटे फर्क्यो, हेर न भोटभोटे फर्क्यो!)

फेरि गाउँभरि सबैको कराइ बढ्यो-देख्न पाइयो भनेर। तर अघि उक्लिँदा थालको ढिँडो पोखिएकोले बहिनी भने रोइरहेकी थिइन्। खुसीयालीमा मैले वास्तै गरिनँ उसको रुवाइको, बरु कराइ मात्रै रहेँ-अझ बेस्सरी, बेस्मारी।

त्यसपछि भोटभोटे शैलुङको काँख हुँदै गुराँसे डाँडाबाट अलाप भयो। त्यससँगै मेरो कराइ पनि। तर बहिनी रित्तो थाल लिँदै रुँदै आमा कहाँ भान्सामा गएर रोइरहेकी थिइन्। म पनि रित्तो थाल लिँदै फेरि मोही र ढिँडो खाने मनले भित्र पुग्दा झन् बहिनी ठुल्ठुला स्वरले रोइन्-कि आमाले मलाई पिटोस् भन्ने मनसायले आफ्नो खाना पोखिएको दोषमा।

बहिनीको एकोहोरो रुवाइमा दाबिलो उठाउँदै मलाई झम्टिँदै आमा बोल्नुभयो।

“राँडी, फुँडी आइ प्राङ्बोला कोला, प्रोङ-प्रोङ तातोबा।”

(तँ राँडी, फुँडी, गरिबको सन्तान, फुरुक–फुरुक फुर्किनुपर्ने!)

म डरले अब हान्ने हो कि भन्दै शरीर लुसुक्क पारें, तर हानिहाल्नु भने भएन। उता बहिनी झन् लामो सिंगान निकाल्दै रोइरहेकी थिइन्। जब आमाले सिंगान देख्नुभयो, रिसले दुई झापड आँङमा लगाएपछि बहिनी शान्त भइन्। त्यसपछि आमाले हामी दुवैलाई थप खाना दिनुभयो र हामी चुपचाप खायौँ। तर अघिको त्यो भोटभोटेको खुसी त्यतिबेला कहाँ पुग्यो, कहाँ?

२.बेथानको नाम, त्रास र बालमनका प्रश्नहरू

एकछिनपछि बाले खाना खाइसकेर हात चुठ्याउँदै बिस्तारै बोल्नुभयो।

“धोलाे मुना बेथान मार आस्याङकातेदा ह्रोपचिमरो, म्हामासे ओतासी भोटभोटे खापा।”

(आज राति बेथानमा मामाहरुलाई हानेछ रे माउले, त्यही भएर भोटभोटे आएको।)

आमाले झर्किलो र कडक स्वरमा भन्नुभयो-

“भैरेत… कोल्चुगुला राइरी ताबा आताबा ताम पाङजी, नाँगर म्हिसे थाइसम तिल ताला कुटिसी चिउ।”

(बहिरोलाई हुने–नहुने कुरा बच्चाको छेउमा गर्ने? भोलि मान्छेले सुन्यो भने के होला?)

आमाले “बहिरो” भनेको शब्दले कता–कता दुखेको जस्तो लाग्यो, अपमानको। तर बाहिर केही भन्न सकिनँ। मनमनै यति मात्रै सोचेँ-बहिरो नै चाहिँ नभनिदिएको भए हुन्थ्यो नि आमाले। बाले भन्नुभएको त्यो माउ (म्हामा), आस्याङ, मामा, बेथान र भोटभोटे प्रति निकै चाख बढ्यो। आखिर म्हामा, आस्याङ अनि बेथान के होला? यो भन्दै गर्दा आमाले किन चुप बस्न भन्नुभएको होला? बाले किन सानो आवाजमा भन्नुभयो? एकदमै शंकालु र सचेत रूपमा ममा आश्चर्यका प्रश्नहरू उठिरहे।

त्यसको केही समयपछि गाउँमा पुलिस आउने हल्ला चल्यो। बा–आमाले सिकाउनु हुन्थ्यो । नयाँ लाठी बोकेको मान्छे देख्यो भने लुक है भनेर। हामी त्यसै गर्थ्यौँ। गाउँमा त्रास फैलियो, तर त्रास किन भन्ने म बुझ्थिनँ।बिस्तारै गाउँबाट सहर गएकोहरूले बाटोमा पुलिसले सोध्दा रामेछापको भन्न नहुने, झन् बेथान, दोरम्बाकै भने समात्ने, पिट्नेसम्मको हल्ला मात्रै होइन, भोगाइ हुन थाल्यो।

३. बेथान : जनयुद्धको निर्णायक मोड

यी कुराहरूको वास्तविकता मैले छ कक्षामा पढ्ने उमेरमा युरिया मल लिन दोभानटार जाँदा बेथान पुगेपछि बुझें। त्यतिबेला बाले जंगलभित्र प्रहरी चौकीको अवशेष देखाउनुभयो। त्यसबेलासम्म गाउँ चौकीमुक्त भइसकेको थियो र माओवादीबारे खुला रूपमा बोल्न-सुन्न सकिने वातावरण भइसकेको थियो।

जतिबेला म पूर्णकालीन माओवादी भएकी थिएँ, त्यतिबेला बेथान रामेछापकै ठूलो आधारइलाका भइसकेको थियो। माओवादीले सुरु गरेको जनयुद्धको पहिलो होलेरी, सिन्धुली, गोरखा आक्रमण भए पनि त्यसपछि फौजी कारबाही कहीँ कतै हुन नसक्दा राज्यसत्ता माओवादी सकिसकेको ढुक्कमा थियो। २०५३ साल पुस उन्नाइसमा पूर्वीय इन्चार्ज आलोकको योजनामा तीर्थ गौतमको कमान्डमा सामान्य घरेलु हातहतियार र आफ्नै प्रविधिमा निर्माण केही थान हतियारको समायोजनमा गरिएको बेथान आक्रमणले पूर्वाञ्चलले विजय निकाल्यो। समग्रमा सिंगो माओवादी पार्टीकै विजय भयो।

यो फौजी विजय मात्र थिएन, सामरिक, राजनीतिक, रणनीतिक र सांगठनिक हिसाबले पूर्ण सफल आक्रमण थियो। प्रतिक्रियावादी राज्यसत्तामाथि माओवादी जनयुद्धले ठूलो हलचल ल्याइदियो र अन्तर्राष्ट्रिय जगतमा समेत माओवादी आन्दोलन चर्चाको विषय बन्यो। जहाँ तीर्थ गौतम, फत्तबहादुर स्माली, दिलमाया बम्जन (तिफदी) ले बलिदान दिए भने श्रीकृष्णप्रसाद अधिकारीलगायत धेरै घाइते हुनुभयो। कविता लामा लगायतकाले दुश्मनमाथि बहादुरीको गजब प्रदर्शन गरे।

आज श्रीकृष्णप्रसाद अधिकारी राष्ट्रिय सभा सदस्य हुनुहुन्छ, कविता लामा पार्टीको इमानदार योद्धाका रूपमा हामीसँग हुनुहुन्छ। यो हाम्रो र वर्तमानका लागि निकै खुसीको कुरा हो। बेथानजस्तो गरिमा बोकेको मोर्चाका योद्धाहरूलाई आजसम्म हामीबीच पाउनु गौरवको विषय हो। तिफदीप्रति हार्दिक श्रद्धासुमन, जसले जनयुद्धको एक महत्वपूर्ण इतिहास निर्माण गर्न आफ्नो जीवनको उच्चतम बलिदान दिनुभयो।

बेथान चौकी हुँदै बेथानले विभिन्न रूप धारण गर्दै गयो। बेथान आक्रमणको सफलतापछि रामेछापलाई रोल्पा–रुकुमको दर्जामा राखेर राज्यसत्ताले अपरेसन चलाउँदै गयो। रामेछापको मान्छे जहाँ जस्तो अवस्थामा भेटिए पनि माओवादीकै रूपमा हेर्न थालियो। त्यसैले जिल्ला भित्र मात्र होइन, बाहिर पनि “रामेछाप” भन्नासाथ दमन सुरु हुन थाल्यो। युद्धकालमा रामेछापले आफ्नो जिल्ला लुकाएर बाँच्नुपर्ने अवस्था भोग्नुपर्‍यो।

तर तिनै बेथान कारबाहीको सफलतापछि बेथान गाविसले पूरै जिल्लामा जनयुद्धको कमान्ड सम्हाल्न पुग्यो। दोरम्बा हत्याकाण्डमा परेका बाबुराम योञ्जन जिल्ला सरकार प्रमुख, दावा लामा (सहिद), दिल्लीमान तामाङ सांसद-महिला, दलित, विद्यार्थी लगायतका जनवर्गीय संगठनको नेतृत्व यही बेथानले गर्‍यो। जनमुक्ति सेनाको फर्मेशनमा रहेर विभिन्न हैसियतका योद्धाहरू जन्मिए, बीएन कमान्डरसम्म उत्पादन भए।

तिनै बलिदान, साहस, त्याग र तपस्याको विरासतमा माओवादी जनयुद्धको अग्रपंक्तिको संगठन बेथान स्मृति ब्रिगेड गठन भयो। राजधानीको पूर्वी आर्कहरू। काभ्रे, रामेछाप, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, मकवानपुर, सर्लाही, रौतहटसम्म यो ब्रिगेड सक्रिय रह्यो।

बेथानकै भूमिमा गठन भएको यो फर्मेशनले दोलखाको मैनापोखरी फायरिङ एम्बुस सफल बनाएर इन्सास, एलएमजी, टू–इन्च मोर्टारलगायत दर्जनौँ अत्याधुनिक हतियार खोस्यो। यो कारबाही कमान्डर जीवित, भिसी रामजीको कमान्डमा सम्पन्न भएको थियो। यसले पूर्वाञ्चलमा पहिलो ठूलो धमाका दियो।जसरी हिजो बेथान चौकी आक्रमणले दिएको थियो।

त्यसपछि सिन्धुपाल्चोकको मुडे, चेहेरे, दोलखाको चरिकोट चेकपोस्ट, बनेपाको चेकपोस्ट,काभ्रे भञ्ज्याङ,दागेगाैडा,नार्के,भक्तपुरकाे दधिकोट, मकवानपुरको अम्लेखगन्जजस्ता दिउँसैका दर्जनाै आक्रमणहरू सफल भए। बेथान स्मृति दुश्मनको दिल–दिमागमा नचाहँदा नचाहँदै गहिरो छाप बनेर बस्यो। बेथान भनेपछि चील होइन, बाजहरूको समूह हो भन्ने चर्चा दुश्मनकै बजारमा चल्न थाल्यो।

४. बेथान स्मृति र वीरता दिवसको अर्थ

यसरी २०५३ सालको बेथान चौकी आक्रमणले जनयुद्धलाई निर्णायक मोड दिएको जस्तै, बेथान स्मृतिले राजधानीका नाकाहरूमा बाज बनेर आक्रमण गर्‍यो र चील बनेर सम्पूर्ण फौजी कारबाहीमाथि मनोवैज्ञानिक प्रभुत्व जमायो। यसको परिणामस्वरूप दुश्मन सहर र सदरमुकाममै कैद हुन बाध्य भयो।

यो तागत, साहस, धैर्यता र आक्रोश बेथान मोर्चाका महान सहिद तीर्थ, फत्त र दिलमायाको बलिदानको उपज थियो। तिनै बलिदानलाई छाती र शिरमा राखेर हजारौँ तिफदीहरू जनसेना, जनकलाकार र जननेता बने। आज बेथान जनयुद्धको गौरवशाली गाथा बनेर गणतान्त्रिक व्यवस्थाको एउटा आधार बनेको छ।

तिनै दिनहरूको सम्मानमा, तिनै तिफदीहरूको सम्झनामा, सहिद, बेपत्ता र बलिदानी हजारौँ योद्धाहरूको स्मृतिमा बेथान वीरता दिवस मनाइन्छ। जहाँ महिलालाई दोस्रो दर्जामा राख्ने व्यवस्थाविरुद्ध आवाज उठाउने ऐतिहासिक मोडको स्मरण हुन्छ। दिलमायाको बहादुरी र बलिदानले हजारौँ महिलालाई युद्धमा समाहित गर्‍यो र आजको राज्यको सैन्य संरचनामा महिला सहभागिताको ढोका जबर्जस्त रूपमा खोलियो।यिनै उपलब्धि, बलिदान र सफलताको समग्र प्रतीक हो,बेथान वीरता दिवस।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.