
काठमाडौं । तामाङ समुदायको सबैभन्दा ठूलो सांस्कृतिक पर्व सोनाम ल्होछार २८६२ (ता ल्हो–घोडा वर्ष) लाई भव्य, मर्यादित र अनुशासित रूपमा सम्पन्न गर्ने उद्देश्यसहित तयारीलाई तीव्र बनाइएको छ। माघ ४ र ५ गते काठमाडौंको टुँडिखेलमा तामाङ सांस्कृतिक महोत्सव आयोजना हुने आयोजकले जानकारी दिएका छन्।


यसै सन्दर्भमा २२ पुस २०८२ का दिन नेपाल तामाङ घेदुङको सभाहल, काठमाडौंमा विस्तृत तयारी बैठक सम्पन्न भएको हो। नेपाल तामाङ घेदुङको संयोजकत्वमा बसेको उक्त बैठकमा राष्ट्रिय तामाङ घेदुङ तथा विभिन्न तामाङ संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
बैठकले सोनाम ल्होछार २८६२ को सम्पूर्ण कार्यक्रम व्यवस्थापन, समन्वय र सफल सञ्चालनका लागि नेपाल तामाङ घेदुङको संयोजकत्व,राष्ट्रिय तामाङ घेदुङ सह संयाेजक तथा विभिन्न तामाङ संघ–संस्थाका प्रतिनिधिहरू सहित १०१ सदस्यीय मूल समारोह समिति गठन गरेको छ। समितिले तामाङ समुदायको मौलिक संस्कार, भाषा, भेषभूषा, कला र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्दै ल्होछारलाई गरिमा, अनुशासन र एकताको प्रतीकका रूपमा मनाउने प्रतिबद्धता जनाएको छ।
महोत्सव अवधिभर परम्परागत नृत्य, सांस्कृतिक झाँकी, भेषभूषा प्रदर्शनी, मौलिक संगीत तथा विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने तयारी छ। साथै देश-विदेशबाट आएका तामाङ समुदायका अगुवा, बुद्धिजीवी, कलाकार तथा काठमाडौं उपत्यकामा हुने तामाङहरू समुदायको व्यापक सहभागिता रहने आयोजकले जनाएको छ।

तयारी बैठकले आगामी सोनाम ल्होछार समारोहको उद्घाटन सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीबाट गराउने निर्णय समेत गरेको छ। आयोजकका अनुसार कार्यक्रमले तामाङ समुदायको पहिचान, इतिहास र सांस्कृतिक गौरवलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।