
-देवशंंकर पाैडेल

“बर्गीय शासनले नचिनेको ऐमान दमाईँको जनधर्म ऐतिहासिक पाटी पुनर्निर्माण गरिनुपर्छ ।”
साँगा भञ्ज्याङ र बनेपाको विच (काभ्रेपलाञ्चोक) तिर अचेल मामाज् क्याफे छ । मामाज् क्याफेको सामुन्ने सडकपारी दोबाटामा एउटा ऐतिहासिक पाटी थियो । त्यसलाई स्थानीय बोलिचालिमा “ऐमाने पाटी” भनेर चिनिन्थ्यो । उक्त पार्टी मुलबाटामा पर्नेगरि स्थानीय ऐमानसिंह दमाईँले आफ्नो निजी खर्चले बनाएका रहेछन् । हामीले त्रिभुवनको सालिकदेखि गाडी पायौँ । हाम्रा बा हजुरबा र उहाँहरूभन्दा अघिल्लो पुस्ता काठमाडौँसम्म पैदल यात्रा गर्थ्यो । त्यस पाटीमा नेपालको पूर्वी सिमानादेखिका हाम्रा बा हजुरबा भन्दा अघिल्लो पुस्ताका बटुवाहरूले आश्रय लिएर ऐमानसिंह दमाईँलाई सम्झिए ।

मान कहिले जन्मिए, कुन टोलका हुन्, मलाई जानकारी छैन । मैले उनका बारेमा त्यता जाँदा जाने सुनेका कुरा उल्लेख गरेको हुँ । सडक यातायातको विकास नहुँदाका बखत पैदल हिँड्नु पर्थ्यो । हिँड्दैहिँड्दै जाँदा जहाँ रात पर्यो त्यहीँ बास बस्नु बाध्यता थियो । मैले सुनेसम्म जातीय छुवाछुतले ग्रस्त समाजमा उपल्लो जातका भनिएका यात्रुहरू दमाईँका घरमा बास बस्दैनथे । यात्रुहरू बास खोज्दै आउँथे, दमाईँ जात थाहा पाएपछि बास नवसेर रुखका फेदमा कष्टकर बास बस्थे । ऐमान दमाईँलाई त्यसबेलाका यात्रु प्रति दया लाग्यो ।
उनले यात्रुका निम्ति बास बस्न एउटा सत्तल बनाउने निश्चय गरे । ऐमानले धुलिखेल, बनेपा, अनैकोट, दाप्चाआदि ठाउँमा राजामहाराजाले बनाएका पाटी देखेका थिए । गाउँका स्थानीय धनाड्यहरूले पाटी, पौवा, धर्मशाला बनाएर धर्म कमाएको भन्ने पनि देखेजानेका थिए । उनले धेरैसँग त्यस ठाउँमा धर्मशालाको आवश्यकताका कुरा उठाए । उनको कुरा धेरैले सुनेनन् । केहिकेहिले सुनेर सहयोग पनि गरे । आफ्नो निजि जमिन बेचेर दोवाटो पर्ने ठाउँमा थोरै जमिन किने । ईँटा किने, भगवानका मूर्ति कुँद्न लगाएर पाटीको नजिकै स्थापना गरे । पाटी बलियो पार्न जगमा ठूलाठूला चौडा ढुङ्गाको तर्जुमा गरे । आर्थिक अवस्था कमजोर भएपनि उनले मजबुत धर्मशाला बनाएरै छाडे ।
बालिघरे प्रथामा जीउनुपर्ने त्यसबेलाको उत्पीडित (दलित) परिवारले भनेको कमैले सुन्थे । गाउँका ठालुहरूका सामुन्ने यस्तो साहसी काम गर्न कति कठिन भयो होला ? उनको नाम ऐमान थियो । हेपेर उक्त पाटीको नाम नै “ऐमाने पाटी” राखिदिए ।
आज राज्यको ढिकुटीबाट झिकेर के के न गरेँ भन्ने जमाना छ । ऐमान दमाईँले त्यस युगमा नीजी खर्चमा जो काम गरे, अत्यन्तै सराहनीय छ । आजका हामीले ऐमानबाट सिक्नु जरुरी छ । यो पाटी र ऐमान दमाईँप्रति निकै पहिले देखि ध्यानाकर्षण भएर उक्त पाटीको तस्विर खिचेको थिएँ । ऐमाने पाटी वि.सं. २०७२ को भूकम्पले ढाल्यो । त्यसपछि पनि भग्नावशेषको तस्विर लिएँ । पाटी पुनर्निर्माण गर्नुपर्छ भन्नेतर्फ म केन्द्रीत थिएँ । राज्य सञ्चालक समक्ष कुरा पुर्याएँ । राज्यको ध्यान महाराजा प्रताप मल्लकालीन रानीपोखरी र धरहरामा गयो । ऐमाने पाटीजस्ता जनसंरचनामा जाँदै गएन ।
माननीय लक्ष्मण लम्सालजी र मैले निकै लामो छलफल गर्यौँ । उहाँले सम्बन्धित ठाउँमा कुरा पनि उठाउनु भयो, कार्यान्वयन भएन । दलित उत्पीडित समुदायको हित गर्ने सर्वहारा श्रमजीवि बर्गको पार्टीले नेपालमा धेरै काम गर्यो । बर्गबन्धु ऐमानको महानताको मूल्याङ्कन गर्दैगरेन । बरु राजामहाराजाको अवशेष उठायो, खुब ठूलो काम गरेँ पनि भन्यो । हेपिएका थिचिएका ऐमान दमाईँले बनाएको ऐमाने पाटी पुनर्निर्माण गर्नु पर्थ्यो, त्यो चाहिँ गरेन ।

अहिले सडक विस्तार तीब्र छ । ऐमाने पार्टीका ईँटा, ढुङ्गा र मूर्तिहरू बेखवर छन् । के उत्पीडनको प्रतीक पुरातात्विक महत्वको ऐमाने पाटीलाई नजर अन्दाज गरेर ‘रानीपोखरी र धरहरा उठायौँ’ मात्र भन्दा हाम्रो आस्थाको राजनीति चम्किएला ? महामहिम सरकार ! राजामहाराजाका मात्र होइन, ऐमाने पाटी र त्यस्तै जनस्तरका अन्य भौतिक संरचना पनि जस्ताको त्यस्तै ठड्याउने पो हो कि !
(२०८२ पाैष ९)