Khulla Bichar Online

खाँडादेबी माविका विद्यार्थीलाई दुना-टपरी बुन्ने व्यवहारिक सीप प्रशिक्षण

काभ्रे । काभ्रेको चौरिदेउराली गाउँपालिका-२ स्थित खाँडादेबी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई परम्परागत दुना-टपरी बुन्ने सीप सिकाइएको छ। विद्यालयको वार्षिक शैक्षिक क्यालेण्डर अनुसार नियमित शुक्रबार सञ्चालन हुने अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीहरूलाई दुना-टपरी बुन्ने तथा क्ले (माटो) बाट कलात्मक सामग्री निर्माण गर्ने अभ्यास गराइएको हो।

कार्यक्रमका क्रममा विद्यार्थीहरूलाई सालको पात टिप्ने, सफा गर्ने र सामूहिक रूपमा दुना तथा टपरी बुन्ने प्रक्रिया सिकाइएको थियो। आधुनिक शिक्षासँगै स्थानीय सीप, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले यस्तो गतिविधि सञ्चालन गरिएको विद्यालयले जनाएको छ।

विद्यालयका शिक्षक अर्पण मोक्तान तामाङका अनुसार किताबी ज्ञानमा मात्र सीमित नराखी विद्यार्थीहरूलाई व्यवहारिक र जीवनोपयोगी सीप प्रदान गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको हो। “दुना-टपरी जस्ता परम्परागत सामग्री हाम्रो मौलिक पहिचान हुन्। यसले सीप विकाससँगै आत्मनिर्भरता र श्रमप्रतिको सम्मान पनि सिकाउँछ,”उहाँलेभन्नुभयो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले नयाँ सीप सिक्न पाउँदा उत्साहित भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले यस्तो व्यवहारिक शिक्षा नियमित रूपमा भए पढाइ अझ रोचक र उपयोगी हुने बताएका छन्।

विद्यालय प्रशासनका अनुसार आगामी दिनमा पनि कृषि, हस्तकला, स्थानीय संस्कृति र वातावरण संरक्षणसँग सम्बन्धित विभिन्न व्यवहारिक गतिविधिहरू सञ्चालन गर्दै विद्यार्थीहरूको सर्वांगीण विकासमा जोड दिइनेछ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.