
काभ्रे । चौरिदेउराली गाउँपालिका-२ को विकट क्षेत्र नाग्रेगगर्चेमा स्थापित नाग्रेगगर्चे महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेह्रौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।


जनप्रतिनिधि देवी श्रेष्ठ र रेवती परियारले संयुक्त रूपमा पानसमा बत्ती बालेर साधारणसभाको उद्घाटन गरेका थिए। कार्यक्रमको स्वागत मन्तव्य मनिषा न्यापानेले राखेकी थिइन्।


संस्थाकी अध्यक्ष लक्ष्मी लामाको सभाध्यक्षतामा सम्पन्न साधारणसभामा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा सहकारीकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। शेयर सदस्यहरूको पनि उल्लेखनीय सहभागिता थियो।


साधारणसभामा सचिव सम्झना लामाले वार्षिक गतिविधि तथा आगामी कार्ययोजना समेटिएको प्रतिवेदन प्रस्तुत गरिन् भने कोषाध्यक्ष सिर्जना पौडेलले वार्षिक आर्थिक गतिविधि तथा अनुमानित बजेटसम्बन्धी प्रतिवेदन पेश गरिन्। यस्तै, लेखा समिति संयोजक मनकुमारी थापा मगरले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।

कार्यक्रममा २०८१/०८२ का उत्कृष्ट बचत शेयर सदस्य प्रमिला प्रधान, उत्कृष्ट बाल बचत सदस्य प्रतिभा प्रधान तथा उत्कृष्ट किशोरी बचत सदस्य सबिना श्रेष्ठलाई सम्मान गरिएको थियो।



संस्थाले स्थापना भएको १३ वर्षको अवधिमा ५८५ जना शेयर सदस्य र ८७१ जना बचत सदस्य पुर्याउन सफल भएको तथा हालसम्म २ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरेको जानकारी दिइयो।
सहकारी स्थापना गर्दाका संस्थापक अध्यक्ष गीता देवी न्यापानेले “सामान्य खर खाँचाे टार्न साहुको घर-दैलो चाहर्नु नपरोस् भन्ने उद्देश्यले १३ वर्षअघि स्थापना गरिएको सहकारीले यति धेरै प्रगति गर्न सफल हुनु यहाँका महिलाहरूको विश्वास र साहुहरूको चर्को ब्याजप्रतिको तीव्र प्रतिरोधको परिणाम हो,” भन्दै खुसी व्यक्त गरिन्।


अध्यक्ष लक्ष्मी लामाले पिछडिएको ग्रामीण बस्तीमा महिलाहरू खेतीपाती, घरधन्दा र चुलोचौकामा सीमित रहे पनि इमानदार र परिश्रमी हुने बताउँदै महिलाले नेतृत्व पाएमा परिवर्तन सम्भव हुन्छ भन्ने उदाहरण नाग्रेगगर्चे महिला सहकारीले प्रस्तुत गरेको उल्लेख गरिन्।

कार्यक्रमको अन्त्यमा अध्यक्ष लामाले साधारणसभामा सहभागी सम्पूर्णलाई धन्यवाद व्यक्त गरिन्।