Khulla Bichar Online

नेकपाकाे उम्मेदवार बसुन्धरा हुमागाईको संक्षिप्त परिचय

काभ्रे /बसुन्धरा हुमागाई फागुन २१ गते हुने  निर्वाचनकाे लागि  काभ्रेपलान्चोक  जिल्लाको काभ्रे क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हुनुहुन्छ। न्याय, समानता र सामाजिक रूपान्तरणका पक्षधर नेताका रूपमा परिचित हुमागाई ब्यबहारिक, जनमुखी राजनीति र समाजवादी विचारधारामा लामो समयदेखि सक्रिय रहँदै आउनु भएको छ। काभ्रेको समृद्धि, किसानको हक-हित र युवाको भविष्यलाई उहाँले आफ्नो राजनीतिक यात्राको केन्द्रीय उद्देश्य बनाउँदै आउनु भएको छ।

वि.सं. २०२७ साल मंसिर २८ गते काभ्रेको तत्कालीन भुमिडाँडा गाविसमा बुवा नारायण हुमागाई र आमा पुष्पमाया हुमागाईको कोखबाट जन्मिनु भएका उहाँ सानैदेखि सामाजिक न्याय, समान अवसर र परिवर्तनकारी सोचबाट प्रेरित रहनुभयो। किसान परिवारमा हुर्किनु भएका हुमागाई उत्पादन, श्रम र आत्मनिर्भरताको मूल्यलाई व्यवहारमै आत्मसात् गर्ने नेता हुनुहुन्छ।

२६ वर्षकै उमेरमा गाविस अध्यक्ष निर्वाचित हुँदै स्थानीय नेतृत्वको जिम्मेवारी सम्हाल्नु भएका उहाँले विकास र सुशासनको अभ्यास स्थानीय तहबाटै सुरु गर्नुभयो। शिक्षण पेशामा समेत केही समय संलग्न रहनु भएका हुमागाई लामो समय काभ्रेली वामपन्थी आन्दोलनमा सक्रिय रहनु भयो।

२०७४ सालमा प्रदेशसभा सदस्य निर्वाचित हुमागाई बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्रीका रूपमा कार्यरत रहँदा किसानमैत्री नीति, कृषि सुधार, संस्थागत विकास र पूर्वाधार विस्तारमा उल्लेखनीय योगदान पुर्‍याउन सफल हुनुभयो। इमानदार छवि, स्पष्ट दृष्टिकोण र व्यवहारिक नेतृत्वका कारण उहाँ जनताको आशावादी,भरोसायोग्य नेताका रूपमा चिनिनु हुन्छ।

हाल समाजवादी रूपान्तरण, उत्पादनमुखी अर्थतन्त्र र काभ्रेको समग्र विकासलाई एजेन्डा बनाएर उहाँ प्रतिनिधिसभा सदस्यका रूपमा प्रमुख दाबेदार सहित  चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.