Khulla Bichar Online

एमाले परित्यागको घोषणा : बाह्रविसेकाे मेयरद्वारा भावुक सम्बोधन

सिन्धुपाल्चोक । नेकपा एमालेका एक अग्रज नेता तथा बाह्रविसे नगरपालिकाका संस्थापक मेयरले पार्टी परित्यागको घोषणा गरेका छन्। गाती-मान्द्राको विकट गाउँमा जन्मिएका उनले करिब छ दशक लामो राजनीतिक यात्राको स्मरण गर्दै एमालेसँगको सम्बन्ध तोडेको औपचारिक घोषणा गरेका हुन्।

सामाजिक संजालमा भावुक सम्बोधनमार्फत उनले आफू चेतना आएको बेलादेखि नै एमालेसँग जोडिएको र जीवनका सबैभन्दा उर्जाशील वर्ष पार्टीका लागि समर्पण गरेको बताए। “मैले पार्टीलाई धेरै दिएँ, पार्टीले पनि मलाई धेरै दियो,” उनले भने, “तर पार्टी चलाउने केही व्यक्तिहरूबाट पाएको व्यवहारले आत्मालाई गहिरो चोट पुर्‍यायो।”

२०४६ सालको जनआन्दोलनमा सहभागी भई पक्राउ परेको स्मरण गर्दै उनले त्यही संघर्षबाट पिपुल्स भोलेन्टियर हुँदै एमालेको राजनीतिक यात्रा सुरु भएको बताए। बाह्रविसे र भोटेकोशी क्षेत्रमा एमाले कमजोर अवस्थामा रहेको बेला संगठन विस्तार गरी स्थानीय तहको पहिलो निर्वाचन जितेको उल्लेख गर्दै उनले आफू संस्थापक मेयर बनेको स्मरण गराए।

तर पार्टीभित्रकै केही व्यक्तिहरूले क्षेत्रीय संगठन कमजोर बनाउन दुई वटा कमिटी बनाएर विभाजन गराएको र त्यसकै परिणामस्वरूप आफू कारबाहीको सिकार बनेको उनको आरोप छ। “कमजोरी हुन सक्छ, तर योगदान र संघर्षलाई पूर्ण रूपमा अस्वीकार गर्नु अन्याय हो,” उनले भने।

पार्टीबाट ‘तेरो आवश्यकता छैन’ भन्ने सन्देश कारबाहीमार्फत दिइएपछि आत्माले स्वीकार नगरेको भन्दै उनले एमालेको संगठित सदस्यता नम्बर ५२६३४ यही मितिदेखि त्याग गरेको घोषणा गरे।

सम्बोधनको अन्त्यमा उनले एमालेमा रहँदा कसैको मन दुखाएको भए माफी माग्दै, पार्टी परित्याग गरे पनि आफ्नो संघर्ष, त्याग र सपनाको इतिहास कसैले मेटाउन नसक्ने बताए।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.