Khulla Bichar Online

महाभारतमा नेकपाको निर्वाचन केन्द्रीत अगुवा कार्यकर्ता भेला सम्पन्न, संगठन मजबुत बनाउन जोड

महाभारत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) महाभारत गाउँपालिका समितिको आयोजनामा अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठक सम्पन्न भएको छ। महाभारत गाउँपालिका–६ देविटारमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा पूर्व ऊर्जा राज्यमन्त्री सुर्यमान दोङ (लालध्वज) प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवार दिननाथ गौतम र समानुपातिकतर्फकी उम्मेदवार मिना पाख्रिनको पनि उपस्थिति रहेको थियो।

प्रमुख अतिथि दोङले पार्टी संगठनलाई जनस्तरसँग मजबुत रूपमा जोड्नुपर्नेमा जोड दिँदै राजनीति सत्तामुखी नभई जनजीवन परिवर्तनमुखी हुनुपर्ने धारणा राख्नुभयो। उहाँले स्थानीय उत्पादनको प्रवर्द्धन, आत्मनिर्भर अर्थतन्त्र निर्माण, स्रोत–साधनको समुचित उपयोग र जनअधिकार केन्द्रित राजनीतिक अभ्यास आवश्यक रहेको बताउनुभयो।

भेलामा सहभागी नेताहरू तथा अगुवा कार्यकर्ताहरूले संगठन सुदृढीकरण, निर्वाचन तयारी र जनतासँगको सम्बन्ध विस्तारका विषयमा आ–आफ्ना विचार प्रस्तुत गरेका थिए। आगामी निर्वाचनलाई लक्षित गर्दै स्थानीय तहमा पार्टीको पकड अझ बलियो बनाउने लक्ष्यका साथ गतिविधि अघि बढाइएको नेताहरूले बताएका छन्।

नेकपाले काभ्रेपलाञ्चोक प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं–१ लाई समृद्धिको दिशामा अघि बढाउने उद्देश्यसहित जनमुखी र व्यवहारिक राजनीतिक दृष्टिकोण अघि सारेको जनाएको छ। पार्टीले जनसहभागिता, समावेशी विकास र समानतालाई नीति निर्माणको आधार बनाएको उल्लेख गरिएको छ।

प्रतिनिधि सभा सदस्य उम्मेदवार दिननाथ गौतमले शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिक एजेन्डा बनाउने, कृषि, पर्यटन र स्थानीय स्रोतको विकासमा जोड दिने तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उक्त कार्यक्रममा केन्द्रीय, जिल्ला, गाउँपालिका तथा वडा तहका नेताहरू तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.