
चौरीदेउराली (काभ्रे) – नेपाली कम्युनिष्ट पार्टी काभ्रे जिल्ला क्षेत्र नं. १ अन्तर्गत चौरीदेउराली गाउँपालिकामा फागुन १ गते ३०औँ जनयुद्ध दिवसका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ।

चाैरीदेउराली वडा नम्बर ५ ले आयाेजना गरेकाे कार्यक्रम पार्टीकाे केन्द्रीय सदस्य रेणुका चौलागाईको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै चौलागाईले जनयुद्धमार्फत प्राप्त उपलब्धि-संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र संविधान-माथि विभिन्न कोणबाट चुनौती सिर्जना भइरहेको बताइन्। उनले देशको वर्तमान व्यवस्था र राष्ट्रियताको रक्षा गर्न आगामी निर्वाचनमा नेकपाका उम्मेदवारलाई विजय गराउनु आवश्यक रहेको धारणा व्यक्त गरिन्।
शहीद शुभद्र चौलागाईका बुबा केदार चौलागाईले शुभकामना मन्तव्य राख्दै आसन्न निर्वाचनमा मतदान गर्नुअघि यो व्यवस्था स्थापनाका लागि बलिदान दिने शहीदहरूको सम्झना गर्नुपर्नेमा जोड दिए।

केन्द्रीय सदस्यहरू राजीब लामा र बिष्णु चौलागाईले करिब ३३ वर्षपछि चौरीदेउरालीवासीलाई प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अवसर प्राप्त भएको उल्लेख गर्दै अब उक्त अवसर गुमाउन नहुने बताए। उनीहरूले जनयुद्धकालीन एकताको भावना पुनः स्थापित गर्दै संगठित रूपमा निर्वाचनमा जुट्न आह्वान गरे।
प्रदेश सदस्य एबं गाउँ पालिका ईन्चार्ज तेज पन्तले निर्वाचन केन्द्रित निर्देशनात्मक शुभकामना मन्तव्य राख्दै पार्टीका उम्मेदवारलाई जिताउन कटिबद्ध भएर लाग्न कार्यकर्तालाई आग्रह गरे। प्रदेश सदस्य एबं प्रचारप्रसार संयाेजक हरि खड्का र जिल्ला सदस्य गजबीर लामाले चौरीदेउरालीवासीको जनयुद्धमा रहेको योगदानको चर्चा गर्दै त्यसको ऐतिहासिक महत्व स्मरण गराए।
वडा अध्यक्ष राम लामाले जनयुद्ध दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै जनयुद्धमा योगदान गर्ने सबैप्रति उच्च सम्मान प्रकट गरे।

एकनाथ गौतमको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व निर्वाचन परिचालन समितिका संयोजक बिदुर गौतमले गरेका थिए। कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठनका निबर्तमान केन्द्रीय उपाध्यक्ष एबं प्रदेश सदस्य दुर्गा सि लामा र शिव पन्त , जिल्ला कमिटीका सदस्यहरु र स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ।