
चौरीदेउराली, काभ्रे – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेले चौरीदेउराली गाउँपालिका–७ मादन कुँडारी मा वडा पार्टी कार्यालय तथा निर्वाचन प्रचारप्रसार कार्यालय उद्घाटन गरेकाे छ। गजबीर लामा संयाेजक र नमस्कार लामा सह संयाेजक रहने गरि १०१ सदस्य निर्वाचन परिचालन समिति गठन गर्दै घरदैलो अभियान सञ्चालन गरेको छ।


कार्यक्रम पार्टीका केन्द्रीय सदस्य रेणुका चौलागाई को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। विशेष अतिथिका रूपमा केन्द्रीय सदस्य विष्णु गौतम सहभागी हुनुभएको थियो भने अतिथिहरूमा प्रदेश सदस्य तेज पन्त, दुर्गा सिंह लामा, कर्मा लोप्साङ, शिव पन्त, र जिल्ला सदस्यहरु भरत लामा, कृष्णप्रसाद गौतम, टंकप्रसाद गौतम र रमेश ठकुरीलगायत जिल्ला कमिटी तथा पालिका–वडा कमिटीका नेता–कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रमुख अतिथि चौलागाईले जनयुद्धबाट प्राप्त उपलब्धि र संविधानको रक्षा आजको मुख्य जिम्मेवारी भएको उल्लेख गर्दै नेकपाको विजयले मात्र वर्तमान व्यवस्था सुरक्षित रहने दाबी गर्नुभयो। उहाँले प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार दिननाथ गौतमको जित सुनिश्चित गर्न संगठन एकताबद्ध भई परिचालन हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा अन्य वक्ताहरूले संगठन सुदृढीकरण र निर्वाचन तयारीलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। निर्वाचन परिचालन कमिटी सह–संयोजक नमस्कार लामाको सभापतित्व र गजबीर लामाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो।
