Khulla Bichar Online

सार्वजनिक बहसकाे प्रभाब: मतदाताले खोज्न थाले नेकपाकाे उम्मेदवार रञ्जित तामाङ

दमक। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह सँग सार्वजनिक बहस गर्ने बताएका नेकपा एमालेका अध्यक्ष तथा झापा–५ का उम्मेदवार केपी शर्मा ओली यस साता सार्वजनिक बहसमा सहभागी भए। बहसमा बालेन्द्र अनुपस्थित रहे पनि अन्य उम्मेदवारहरू उपस्थित थिए।
चुनावी अभियान सुरु भएपछि चर्को दबाबमा रहेका ओली पत्रकार विजय पौडेलले सञ्चालन गरेको सार्वजनिक बहसपछि थप रक्षात्मक देखिएका छन्।
सार्वजनिक बहसमा विशेषगरी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रन्जित तामाङ ले उठाएका सवालहरूको तथ्यपरक जवाफ दिन नसक्दा ओली रक्षात्मक बनेका हुन्। भदौ २३ को जेन्जी आन्दोलनमा भएको क्षतिको नैतिक जिम्मेवारी ओलीले लिनुपर्ने तथा क्षेत्रमा गरिएको विकास जनताको आवश्यकता र मागअनुसार नभएको विषय तामाङले जोडदार रूपमा उठाएका थिए।
कार्यकारी प्रमुख भएकाले सरकार मातहत भएका सबै कामको नैतिक जिम्मेवारी सोही पदले लिनुपर्ने तामाङको स्पष्ट अडानमा कार्यक्रममा सहभागीहरू मात्र होइन, क्षेत्रका मतदाताहरू पनि सहमत देखिएका छन्। अर्कोतर्फ, तामाङले ओलीले प्रयोगविहीन भ्यु टावर बनाएको तर सो स्थान नजिक मोबाइल टावर नहुँदा नागरिकले सहज रूपमा सञ्चार सेवा उपभोग गर्न नपाएको विषय पनि उठाएका थिए।
तामाङले विद्यालयका भवन बने पनि विद्यार्थी नभएको, किसानहरूले मल, बिउ र सिँचाइ नपाएको तथा उत्पादन गरिएको कृषि उपजले उचित बजार मूल्य नपाएको विषयसमेत उठाए। उनले कार्यक्रममा ओलीलाई “किसानले उत्पादन गरेको धानको मूल्य कति छ, थाहा छ?” भनी प्रश्न गरेका थिए। जवाफमा ओलीले आफूलाई थाहा नभएको बताएका थिए।
जेन्जी आन्दोलनको नैतिक जिम्मेवारीबारे ओलीले राजीनामा दिएको बताए पनि आफ्ना कमजोरी स्वीकार गरेनन्। आन्दोलनका बेला नेपाली सेनाको हेलिकप्टरमार्फत प्रधानमन्त्री पदबाट राजीनामा दिई बाहिरिएको विषयमा उनले आफू भागेको नभई थप मानवीय क्षति हुन नदिन स्थान परिवर्तन गरेको जिकिर गरेका थिए।
कार्यक्रममा नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरिया र राप्रपाकी उम्मेदवार लक्ष्मी संग्रौलालगायतले आठौँ पटक चुनाव लडिरहेका ओलीमाथि प्रश्न उठाएका थिए। सहभागीहरूले पनि उनीमाथि विभिन्न प्रश्न गरेका थिए। विशेषगरी तामाङले उठाएका सवालहरूमा सहभागीहरूले हुटिङ गरेर समर्थन जनाएका थिए।
कार्यक्रमको भिडियो सार्वजनिक भएपछि क्षेत्रका मतदाताबीच ओली थप रक्षात्मक बनेको चर्चा छ। मतदाताहरूले तर्कपूर्ण र तथ्यपरक प्रस्तुति दिएका तामाङलाई योग्य र उपयुक्त उम्मेदवारका रूपमा विश्लेषण गर्न थालेका छन्।
‘ओलीलाई यसपटक जसरी पनि हराउने हो। तर्कपूर्ण ढंगले उनको प्रतिवाद गर्न सक्ने क्षमता तामाङमा रहेछ,’ गौरादह–१ का एक मतदाताले भने, ‘ओलीलाई हराउन बालेनलाई भोट हाल्ने सोचमा थियौँ। तर, क्षमताको हिसाबले रन्जित अब्बल रहेछन्। अब उनलाई नै भोट हाल्छौँ।’
यसअघि ओलीको विकल्प बालेन मात्र हुन् भन्ने चर्चा क्षेत्रमा थियो। दमकको सार्वजनिक बहसपछि भने धेरैले तामाङलाई अब्बल उम्मेदवारका रूपमा लिन थालेका छन्। झापा, गौरादह घर भई हाल क्यानडामा बसोबास गर्दै आएका भानुभक्त आचार्यले सामाजिक सञ्जालमा स्टाटस लेख्दै तामाङले आफूलाई अब्बल साबित गरेको उल्लेख गरेका छन्।
सार्वजनिक बहसको प्रभाव तामाङको घरदैलो अभियानमा पनि देखिन थालेको बताइएको छ। ‘सार्वजनिक बहसमा तपाईंको प्रस्तुति उत्कृष्ट लाग्यो, तपाईंलाई हामीले बल्ल चिन्यौँ,’ झापाको कमल–गौरादह नगरपालिका, सितापुरीका युवा अशोक राईले तामाङलाई भने, ‘ओलीलाई हराउन बालेनलाई भोट हाल्ने मुडमा थियौँ। तर, बालेन हामीसँग भेट्दै नभेट्ने, हाम्रा सवालहरूको जवाफ नदिने र राजाको सवारीजस्तै हिँड्ने पात्र रहेछन्। अब तपाईंलाई सहयोग गर्छौँ।’
चुनावी अभियानका क्रममा क्षेत्रका करिब १० हजार घरमा पुगेको बताउँदै नेकपाको चुनाव प्रचार समितिका संयोजक सुरेन्द्र बस्नेतले रन्जित तामाङको पहिचान मतदाताबीच स्थापित हुँदै गएको बताए। सुरुमा दुई उम्मेदवारको मात्र चर्चा रहे पनि अहिले अवस्था पूर्ण रूपमा बदलिएको उनको दाबी छ।
‘दुईखाले अतिवादलाई परास्त गरौँ, क्षेत्रका स्थानीय समस्या बुझेको युवा उम्मेदवारलाई मतदान गरौँ’ भन्ने नारासहित चुनावी अभियानमा रहेका तामाङले मतदाताबाट उत्साहजनक प्रतिक्रिया पाएको बताएका छन्। उनले उम्मेदवारले जनताले उठाएका प्रश्नहरूको सामूहिक मञ्चबाट जवाफ दिनुपर्ने धारणा राख्दै, बालेन्द्र शाह ओलीसँग एउटै मञ्च साझा गर्न तयार नभए अन्य उम्मेदवारबीचको बहसमा सहभागी हुन आह्वान गरेका छन्।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.