Khulla Bichar Online

लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस सम्पन्न(फाेटाे फिचर)

बनेपा/काभ्रेको बनेपा नगरपालिका वडा नं. ८ मा अवस्थित लिन इन्टरनेशनल बोर्डिङ स्कुलले आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सव “रजत जयन्ती” तथा अभिभावक दिवस दुई दिने कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ।


आज सम्पन्न कार्यक्रमको दोस्रो दिन कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थीहरूले आफ्नो विविध कला, क्षमता तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। साथै सोही तहका विद्यार्थीहरूलाई २०८१ को शैक्षिक तथा २०८२ का विभिन्न अतिरिक्त क्रियाकलापमा प्राप्त पुरस्कारहरू कार्यक्रममा उपस्थित अतिथिहरूबाट वितरण गरिएको थियो।
विद्यालयका एक्जाम तथा ई.सी.ए. को–अर्डिनेटर दिपक तामाङको सञ्चालनमा भएको यस विशेष “रजत जयन्ती” तथा अभिभावक दिवस कार्यक्रममा २०८१ मा एसईई पासआउट भएका १५ जना विद्यार्थीहरूलाई विदाई तथा अभिभावक सम्मान गरिएको थियो। साथै विद्यार्थीहरूलाई २०८२ का शैक्षिक तथा अतिरिक्त क्रियाकलापका पुरस्कार वितरण, विद्यालयमार्फत नगर, जिल्ला तथा प्रदेशस्तरमा गायन, नृत्य, आर्ट, मार्सल आर्ट लगायतका विधामा उत्कृष्टता हासिल गर्ने विद्यार्थी तथा शिक्षक/शिक्षिकालाई सम्मान गरिएको थियो।
यसै क्रममा विद्यालयलाई रजत जयन्तीसम्म आइपुग्दा विभिन्न साथ, सहयोग र योगदान प्रदान गर्ने शिक्षक–कर्मचारी तथा विद्यालयका विभिन्न समितिमा बसेर योगदान गर्ने त्रिरत्न राजवाहक, अनुशा जस्पाउ, लक्ष्मी मानन्धर, होमकुमारी दोङ, मिनराज के.सी., शिवहरि थापा, मारमेन तामाङ तथा पूर्व सञ्चालकहरू प्रकाश उलक र याधव फैजूलाई विद्यालय सञ्चालक समितिको तर्फबाट सञ्चालक रक्तिम लामा र राजिव लामाले सम्मानपत्र प्रदान गर्नुभएको थियो।


कार्यक्रमको अवसरमा विद्यालय सञ्चालनका लागि विगत १७ वर्षदेखि आफ्नो घर उपलब्ध गराउँदै यस भेगको शैक्षिक उन्नयनमा योगदान पुर्‍याउनु भएका घरबेटी गणेशभक्त ख्याजु र उहाँकी धर्मपत्नी कृष्णदेवी ख्याजूलाई विद्यालय सञ्चालकको तर्फबाट विद्यालयका निर्देशक शिशिर भण्डारी र प्रमुख अतिथि भिमसेन के.सी.ले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो। साथै कार्यक्रममा विशेष अतिथिका रूपमा रहनु भएका काभ्रे प्याब्सनका संस्थापक अध्यक्ष तथा बालबाटिका विद्या मन्दिर स्कुल बनेपाका निर्देशक रवि वैद्यलाई पनि उहाँले काभ्रेको निजी शिक्षा तथा शैक्षिक संस्थालाई पुर्‍याउनुभएको योगदानको कदर गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो।


कार्यक्रममा गत वर्षदेखि सञ्चालनमा आएको विद्यालयका शिक्षक–अभिभावक समितिका सदस्य शिवहरि थापाद्वारा निर्मित जे.एस.डी. अक्षयकोषबाट विभिन्न शैक्षिक सामग्रीहरू वितरण गरिएको थियो। प्रि–प्राइमरी, प्राइमरी र माध्यमिक तहबाट २/२ जना गरी ६ जना उत्कृष्ट तथा जेहेन्दार विद्यार्थीलाई अक्षयकोषकी संरक्षक कल्पना थापामार्फत छात्रवृत्ति प्रदान गरिएको थियो।
कार्यक्रममा विद्यार्थीहरूले तहगत तथा विधागत विभिन्न रोचक प्रतिभा र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। साथै विद्यालयले आफ्नो क्यालेन्डरअनुसार आयोजना गरेको विभिन्न अतिरिक्त क्रियाकलाप (ECA) मा सदनगत प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने हरियो सदन यस वर्षको “हाउस अफ द इयर” घोषित भएको छ। विजेता हरियो सदनलाई प्रोत्साहनस्वरूप विद्यालयले प्रदान गर्दै आएको नगद रु. १,००,००० (एक लाख) को चेक र ट्रफी विद्यालयका निर्देशक शिशिर भण्डारी र प्रिन्सिपल श्रीकृष्ण श्रेष्ठले संयुक्त रूपमा प्रदान गर्नुभएको थियो।

विद्यालयका संस्थापक प्रिन्सिपल श्रीकृष्ण श्रेष्ठले कार्यक्रममा स्वागत मन्तव्यसहित विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उहाँले भन्नुभयो, “हाम्रो उद्देश्य विद्यार्थीहरूको सर्वाङ्गीण विकास र आत्मनिर्भर भविष्य सुनिश्चित गर्नु हो। हाम्रो शिक्षण विधिले उनीहरूलाई सिर्जनशील सोच, समस्या समाधान क्षमता र नेतृत्व क्षमतासहित सक्षम युवा बनाउने प्रयास गर्दछ।”
उहाँका अनुसार विद्यालयले आधुनिक शिक्षण विधिको खोज र कार्यान्वयन, प्रयोगात्मक विज्ञान, कम्प्युटर कक्षा, पर्याप्त पुस्तकालय, कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोगशाला, अतिरिक्त गतिविधिमा जोड, विद्यार्थी–केन्द्रित सिकाइ, व्यक्तिगत ध्यान तथा कमजोर विद्यार्थीको सुधारमा विशेष पहल गर्दै आएको छ। साथै मानसिक स्वास्थ्य तथा यूथ काउन्सिलिङ, बाल क्लब, अभिभावक अन्तरक्रिया, साप्ताहिक अतिरिक्त गतिविधि, इनडोर तथा आउटडोर खेलकुद, एथलेटिक्स, नृत्य, संगीत, चित्रकला, गायन, मार्सल आर्ट, हस्तलेखन आदि कार्यक्रम सञ्चालन गर्दै आएको पनि बताउनुभयो।


आगामी दिनमा अभिभावकले खोजेको पूर्ण शैक्षिक गन्तव्यका रूपमा लिन स्कुललाई अगाडि बढाउने विद्यालय प्रशासनको योजना रहेको पनि उहाँले बताउनुभयो। हाल विद्यालयमा करिब ६ सय विद्यार्थी अध्ययनरत रहेको जानकारी पनि उहाँले दिनुभयो।
कार्यक्रमका दोस्रो दिनका प्रमुख अतिथि प्याब्सन केन्द्रका उपमहासचिव भिमसेन के.सी.ले नेपालको शैक्षिक विकासमा संस्थागत विद्यालयहरूको ठूलो भूमिका रहेको बताउँदै लिन स्कुल बनेपामा उच्चस्तरीय शिक्षा र विद्यार्थीको उज्ज्वल भविष्य निर्माण गर्ने संस्थाका रूपमा अग्रपंक्तिमा रहेको उल्लेख गर्नुभयो।
कार्यक्रमका सभापति तथा विद्यालयका निर्देशक शिशिर भण्डारीले लिनबाट दीक्षित विद्यार्थीहरूले जीवनका प्रत्येक पक्षमा सन्तुलित विकास, ज्ञान, सीप, मूल्य र प्रतिस्पर्धात्मक क्षमता हासिल गरी आत्मनिर्भर जीवनयापन गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार विद्यालयले विद्यार्थीलाई सिर्जनशील, अनुशासित, कुशल, उद्योगी तथा सामाजिक उत्तरदायी नागरिक बनाउने लक्ष्य लिएको छ।


कार्यक्रममा काभ्रे प्याब्सनका अध्यक्ष श्यामबहादुर भुजेललगायत विभिन्न व्यक्तित्वहरूले विद्यालयको सफल कार्यक्रमको प्रशंसा गर्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गरेका थिए। विद्यालयको दुवै दिनको कार्यक्रममा अभिभावक तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो भने कार्यक्रम नमस्ते ख्वप्प टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियाे।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.