
काभ्रे /काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले विद्यालयहरूमा साताको दुई दिन दिइँदै आएको बिदा कटौती गरेको छ। नगर कार्यपालिकाको २०८३ जेठ १ गते बसेको बैठकले आइतबारको बिदा खारेज गर्दै आगामी आइतबारदेखि नियमित पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो।

नगरपालिकाद्वारा जारी सूचनाअनुसार अब नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू साताको ६ दिन सञ्चालन हुनेछन्। यसअघि नेपाल सरकारले परीक्षणका रूपमा शनिबार र आइतबार सार्वजनिक बिदा लागू गरेपछि यहाँका विद्यालयहरू पनि आइतबार बन्द हुँदै आएका थिए।
तर, दुई दिन बिदा हुँदा वार्षिक शिक्षण सिकाइका दिन अपुग हुने, विद्यार्थीहरूको सिकाइ उपलब्धि प्रभावित हुने तथा तोकिएको पाठ्यभार पूरा गर्न कठिनाइ भएको निष्कर्ष नगरपालिकाले निकालेको छ। स्थानीय भौगोलिक विकटता, समय व्यवस्थापनको चुनौती र बर्खायाममा वर्षाका कारण विद्यालय नियमित सञ्चालनमा समस्या हुने अवस्थालाई ध्यानमा राख्दै बाँकी समयमा पढाइलाई तीव्रता दिनुपर्ने आवश्यकता औंल्याइएको छ।
प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालद्वारा हस्ताक्षरित पत्रमा “आगामी आइतबारबाटै विद्यालयमा नियमित पठनपाठन हुने व्यवस्था मिलाउन” अनुरोध गरिएको छ।
नगरपालिकाको यो निर्णयलाई शैक्षिक क्यालेन्डर प्रभावकारी बनाउने र विद्यार्थीको सिकाइ सुधार गर्ने प्रयासका रूपमा हेरिएको छ।
