
नेपाल तामाङ घेदुङ केवल ‘सांस्कृतिक झाँकी देखाउने’ वा ‘वर्षमा एक पटक उत्सव मनाउने’ क्लब मात्र बनेर तामाङ समुदायको समग्र रूपान्तरण सम्भव छैन । यसका लागि घेदुङले बाहिरी संरचना (नीति, आर्थिक, राजनीति) र भित्री चेतना (अध्यात्म र संस्कार) दुवै पक्षमा समानान्तर काम गर्नु पर्दछ ।

१. बाहिरी संरचनाको रूपान्तरण:
नीति, अर्थ र नेतृत्व नीतिगत तथा कानुनी लडाइँ: पहिचान, भाषिक अधिकार र संघीयताको सही कार्यान्वयनका लागि पैरवी गर्ने । साथै, सांस्कृतिक र परम्परागत खानपानका आधारमा नागरिकलाई अपराधी करार गर्ने विभेदकारी कानुन विरुद्ध न्यायिक लडाइँ लड्ने ।
राज्यको मूलधारमा प्रतिनिधित्व: युवाहरूलाई लोक सेवा, बैंकिङ र सुरक्षा निकायमा प्रवेश गराउन विशेष तयारी कक्षा, कोचिङ र छात्रवृत्तिको व्यवस्था गर्ने तथा आरक्षणको रक्षा गर्ने ।
कला-सीपको व्यावसायीकरण: थान्का,गलैचा,काष्ठकला, ढुङ्गाकला,मुर्तिकला, बाँस, निङगालो, मकैको खोस्टा, पराल, हस्तकला, वास्तुकला र ऊन-गोईलो, तोङबा, कोदोको तिनपाने जस्ता परम्परागत सीपलाई आधुनिक बजारसँग जोडी ब्रान्डिङ गर्ने । युवाहरूलाई उद्यमशीलता र स्टार्टअप तालिम दिएर रोजगारदाता बनाउने ।
सांस्कृतिक पर्यटन र स्वरोजगार: उत्सवलाई टुँडिखेलमा मात्र सीमित नगरी तामाङ बाहुल्य क्षेत्रमा ‘होमस्टे’ र पर्या-पर्यटन (Eco-Tourism) मार्फत रैथाने संस्कृतिको प्रवर्द्धन गरी गाउँमै रोजगारी सिर्जना गर्ने ।
२. भित्री चेतनाको रूपान्तरण: साप्ताहिक जागरण र अध्यात्म
गाउँ-टोलमा साप्ताहिक रूपमा समूह बनाएर भेला हुने, भजन, ध्यान र प्रवचन गर्ने परिपाटी बसाल्न सकेमा समाजमा बहुआयामिक परिवर्तन आउँछ:
भाषा र संस्कृतिको पुस्तान्तरण: टोल-टोलमा साप्ताहिक रूपमा भेला भई तामाङ भाषामा साँस्कृतिक भजन गाउँदा र संवाद गर्दा नयाँ पुस्ताले सहजै मातृभाषा र संस्कार (बोन र बौद्ध दर्शन) सिक्ने अवसर पाउँछन ।
योग, ध्यान र मानसिक शान्ति: आधुनिक युगको मानसिक तनाव र डिप्रेसनलाई कम गर्न योग र ध्यान विधिको प्रयोग गर्ने । यसले मानिसको शारिरिक स्वास्थ्य र मस्तिष्कलाई शान्त बनाई समाजमा आपसी भाइचारा र सकारात्मक ऊर्जा निर्माण गर्छ ।
विकृति र अपराध न्यूनीकरण: युवाहरूलाई मदिरा, लागूऔषध र जुवातासको लतबाट मुक्त गराई उनीहरूको ऊर्जालाई सही दिशामा मोड्ने । आध्यात्मिक चेतनाले मानिसलाई भित्री विवेकबाटै अनुशासित र सभ्य बनाउँछ।
कार्यान्वयनको विधि:
घेदुङले हरेक वडा र टोल तहमा ‘टोल घेदुङ’ वा ‘अध्यात्म समिति’ गठन गर्ने, स्थानीय लामा, ताम्बा तथा बोन गुरुहरूलाई परिचालन गर्ने र गुम्बा वा सामुदायिक भवनमा ‘साप्ताहिक मिलन केन्द्र’ सञ्चालन गरी यस अभियानलाई निरन्तरता दिन सक्छ ।
निष्कर्ष:
राजनीतिक र कानुनी लडाइँले समाजको बाहिरी संरचना बदल्छ, तर अध्यात्म र सांस्कृतिक जागरणले मानिसको भित्री मन बदल्छ । घेदुङले यी दुवै पक्षलाई समेटेर अघि बढेमा मात्र तामाङ समुदायको आर्थिक, सामाजिक, कानुनी र राजनीतिक मुक्तिको आन्दोलन सफल हुनेछ ।