Khulla Bichar Online

मृत भेटिएको दुर्लभ कालो चितुवा रहस्यमय रूपमा हरायो, अनुसन्धानमाथि प्रश्न

काभ्रे, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-८ स्थित राता डाँडा सामुदायिक वन क्षेत्रमा मृत अवस्थामा फेला परेको दुर्लभ कालो चितुवा (ब्ल्याक प्यान्थर) रहस्यमय रूपमा हराएको घटनाले संरक्षण प्रणाली र सरकारी संयन्त्रको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ।
स्थानीय बासिन्दाले मृत अवस्थामा चितुवा फेला परेपछि सम्बन्धित निकायलाई जानकारी गराएका थिए। घटनास्थलमा डिभिजन वन कार्यालय र प्रहरीको टोली पुगेको भए पनि केही दिनपछि उक्त चितुवाको शव नै गायब भएको पाइएको छ।
डिभिजन वन कार्यालय काभ्रेका प्रमुख कृष्णबहादुर थापाका अनुसार घटनास्थलबाट चितुवाको ¥याल नमुना संकलन गरिएको थियो। तर मृत शरीर भने फेला नपरेको बताइएको छ। प्रारम्भिक अनुमानअनुसार शवलाई कुनै ठूलो जनावरले तानेर लगेको वा मानिसले अन्धविश्वास तथा अन्य स्वार्थका कारण हटाएको हुन सक्ने आशंका गरिएको छ।
यद्यपि, मृत अवस्थामा भेटिएको यति दुर्लभ वन्यजन्तुको संरक्षण तथा अनुसन्धानका लागि घटनास्थलको उचित सुरक्षा किन गरिएन भन्ने प्रश्न उठ्न थालेको छ। स्थानीयवासीहरूले समेत वन कार्यालय र समुदायबीच प्रभावकारी समन्वयको अभाव रहेको गुनासो गरेका छन्।
चिन्ताको विषय के छ भने दुई वर्षअघि पनि यही क्षेत्रमा अर्को कालो चितुवा मृत अवस्थामा भेटिएको थियो। दुर्लभ वन्यजन्तुहरू पटक–पटक मृत भेटिनुले संरक्षण व्यवस्थामै कमजोरी रहेको संकेत गरेको संरक्षणकर्मीहरूको भनाइ छ।
नेपालमा कालो चितुवा अत्यन्तै दुर्लभ मानिन्छ। यो छुट्टै प्रजाति नभई मेलानिज्मका कारण शरीरमा कालो रङ बढी देखिने चितुवा हो। यस्ता चितुवाको उपस्थितिले वन क्षेत्रको जैविक विविधता र पारिस्थितिक सन्तुलनलाई संकेत गर्ने भएकाले यसको संरक्षणलाई विशेष महत्व दिइन्छ।
हालसम्म चितुवाको मृत्युको वास्तविक कारण, शव हराउनुको रहस्य तथा अनुसन्धानमा भएको कमजोरीबारे स्पष्ट जवाफ प्राप्त हुन सकेको छैन। घटनाले वन्यजन्तु संरक्षण र अनुसन्धान प्रणालीको प्रभावकारितामाथि गम्भीर प्रश्न खडा गरेको छ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.