Khulla Bichar Online

“भुईँको देश र सत्ताको हावा …”

 

• शिशिर भण्डारी

 

यतिबेला

देश दुई तहमा बाँचिरहेको छ—

एउटा

आकाशबाट देश हेर्नेहरूको देश,

अर्को

भुईँबाट जीवन बोक्नेहरूको देश ।

 

माथिबाट हेर्दा –

सहर सुन्दर देखिन्छ ।

कानुनहरू चम्किरहेका देखिन्छन् ।

अनुशासनका फरमानहरू

गुञ्जिरहेका सुनिन्छन् ।

 

र सत्ता ?

“गरिबको चमेली” र्यापमा

आफ्नो सफलताको घोषणा गर्छ ।

 

तर भुईँमा झरेर हेर्दा—

यहाँ देश

घाइते घुँडाले हिँडिरहेको छ ।

 

त्यो – सडक किनारमा

दुई मुठा साग बेचिरहेकी वृद्ध आमालाई

सत्ताले अपराधीझैँ घिसारिरहदा

उनको काँपिरहेको हातमा

कानुन होइन

भोक थरथराइरहेको छ  ।

 

त्यो – एक डालो काफलसंगै

बच्चाको भविष्य किन्ने सपना बोकेकी महिलाको

काफल भुईँमा पोखिँइरहदा

केवल काफल मात्रै होइन –

त्यहाँ त

कसैको दिनभरको श्रम

कसैको साँझको चुलो

र कसैको भोलि पोखिरहेको हुन्छ ।

 

अनि

सडकभरी  धुलोमा छरिएका

ती – केवल आलु, प्याज र मकै मात्रै होइनन्

त्यहाँ, छरिएको हुन्छ त –

गरिबीमा बाचीरहेकाहरूको

बाँकी रहेको आत्म सम्मानको पोको ।

 

त्यो – बसपार्कको पल्लो छेउमा

भाँचीकुची गरेर छाडिएका ती ठेला

सिर्फ ठेला मात्रै होइनन् ।

ती त –

कसैको सपनाले भरिएको

जिन्दगी चलाउने एउटा सानो गणतन्त्र हो ।

 

त्यसको एउटा पाङ्ग्रामा

बच्चाको स्कुल फी घुमिरहेको हुन्छ,

अर्को पाङ्ग्रामा

बुढी आमाको औषधि ।

अनि

त्यसको ह्याण्डल समातेको हातले

देशसँग केवल यति मागेको हुन्छ—

“बाँच्न त देऊ ।”

 

तर सत्ता ?

ऊ त  दिनदिनै-

कालो बुट बजार्दै  आउँछ ।

न संवाद,

न सहानुभूति ।

र, एकोहोरो चलाउछ –

केवल अनुशासनको कठोर डण्डा ।

 

र सत्ता ?

ऊ उभिएको हुन्छ –

आफ्नो कठोरताको विजय उत्सवमा ।

मानौँ,

उसले कुनै ठूलो अपराध नियन्त्रण गरिरहेको छ ।

 

तर प्रश्न अझै बाँकी छ—

 

ती दुई मुठा सागले

उसको कुन राज्य ढाल्दै थिए ?

 

ती काफलका दानाले

उसको कुन सिंहासन हल्लाउँदै थिए ?

 

ती डढेका मकैका घोगाले

उसको कुन दरबार जलाउदै थिए ?

 

किन कानुनको लाठी

सधैँ कमजोरको ढाडमा मात्रै बजारिन्छन् ?

 

मानौँ,

यो देशमा गरिब भएर बाच्नु  नै

सबैभन्दा ठूलो अपराध हो ।

जिजिवीसा पाल्नु नै

संदिग्ध आतंककारी हुनु हो ।

 

ऊता –

सीमामा करोडौँका खेलहरू

अँध्यारोमा

चुस्कीसंगै अट्टाहाँस गरिरहन्छन् ।

 

तर यता -सत्ताको वीरता ?

 

सधैँ त्यहीँ देखिन्छ—

जहाँ एक वृद्धले

दुई छाक टार्न बोकेको हुन्छ

सय रुपैयाँको एउटा सानो झोला ।

 

ऊफ—

कस्तो विचित्र !

 

यहाँ

भोकलाई शंका गरिन्छ,

विवस्तालाई –

सडकमा घिच्याउदै बेइजत गरिन्छ

अनि

गरिबीलाई टकटक्याई टकटक्याई

खानतलासी गरिन्छ,

निर्दयीतालाई व्यवस्था भनिन्छ ।

 

अनि सत्ता ?

 

शायद

उसलाई

ठेला देख्दा – ट्राफिक जाम लाग्छ

गरिब देख्दा गन्ध

विपन्न देख्दा फोहोर ।

 

त्यसैले त  सत्ता –

के शहर, के सडक, के गाँउ ?

कुना-कोप्चाबाट

तिनीहरूलाई खोजी – खोजी

फरमानको झाडुले बढारेर

होल्डीङ सेल्टरको कन्टेनरमा हुत्याउछ ।

 

किनकि

यहाँ -“सफा” भन्नाले

दुःख हटाउनु होइन,

दुःखी हटाउनु हो ।

 

यस्तै छ साथी-

युरोपको क्याफेबाट हेरिने

यो देशमा

जहाँ-

अरबौँ खानेहरू सम्मानित हुन्छन्,

तर

पेट पाल्न खोज्नेहरू लखेटिन्छन् ।

 

अझै पनि – ऊ पर

काफल बोकेकी महिला,

त्यही मोडमा –

लुछिएको फरियाको सप्को संगाल्दै

आफ्ना छरपष्ट पोखिएका सपनाहरू

पुलुपुलु हेरिरहेकी छिन् ।

 

उनलाई देख्दा लाग्छ –

भुईँमा छरिएका ती सपनाहरू

आँसु पुछ्दै

कतै जतनले टिप्न पो खोज्दै छिन कि !

 

र, सत्ता ?

 

ऊ त चुप छ ।

किनकि –

उसको अन्धो कानुन नै

यहाँ सबैभन्दा सुरक्षित भाषा हो ।

 

तर, याद राख सत्ता —

 

तैले गरिबीलाई

नङ्ग्याएर लुटेको इज्जत

दपेटी – दपेटी गरेको हत्या

अनि

भुईँमा गाडिएको

तीनका पीडा र आत्मासम्मान

कहिल्यै दबिएर बस्दैन ।

 

न त तैले सोचे जस्तो

कुहिएर नै जान्छ ।

 

त्यो त –

कुनै दिन

प्रश्न मात्रै भएर होइन,

इतिहास बनेर अंकुराउछ ।

सायद,

अहिलेको तँ भन्दा –

धेरै बलियो भएर यही माटोमा उम्रीन्छ ।

 

— २०८३ जेष्ठ १२ गते

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.