Khulla Bichar Online

“खानीखोला र महाभारतको माटोमा सुन फलिसक्यो, अब हिरा फलाउँछौँ”- वडाध्यक्ष सागर लामा

खानीखाेला/काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला र महाभारत गाउँपालिकाका कफी कृषक, सहकारीकर्मी, कृषि प्राविधिक तथा जनप्रतिनिधिहरूको एक टोलीले देशका विभिन्न प्रमुख कफी उत्पादन तथा अनुसन्धान केन्द्रहरूको ५ दिने अन्तरजिल्ला अगुवा कृषक अध्ययन भ्रमण सम्पन्न गरेको छ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत कफी ब्लक विकास कार्यक्रममार्फत कृषि ज्ञान केन्द्र (कृषि विकास कार्यालय), काभ्रेपलाञ्चोकको आयोजना तथा सहयोगमा उक्त भ्रमण सञ्चालन गरिएको हो। भ्रमणमा खानीखोला गाउँपालिका-३ स्थित श्री भाङटार एकीकृत सहकारी संस्था, महाभारत–३ को युनिक एकीकृत कृषक समूह तथा महाभारत वडा नं. २ को महाँकाल कृषक समूहमा आबद्ध कृषकहरूको सहभागिता रहेको थियो।

पोखरादेखि गुल्मीसम्मका तीन प्रमुख केन्द्रको अवलोकन

कफी खेतीसम्बन्धी सिकाइ तथा अनुभव आदानप्रदानका लागि निस्किएको कृषक टोलीले कफी क्षेत्रका तीन महत्त्वपूर्ण सरकारी निकाय तथा अनुसन्धान केन्द्रहरूको स्थलगत अध्ययन र अवलोकन गरेको थियो।

१. राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय (पोखरा, कास्की):

यहाँ कृषकहरूले कफीको बजार व्यवस्थापन, राष्ट्रिय नीति तथा बजारीकरणका विभिन्न पक्षबारे जानकारी प्राप्त गरे।

२. कफी विकास केन्द्र (आपचौर, गुल्मी):

नेपालमा कफीको इतिहाससँग जोडिएको आपचौरमा पुगेर कृषकहरूले कफी नर्सरी व्यवस्थापन तथा उत्पादन पद्धतिको अवलोकन गरे।

३. कफी अनुसन्धान कार्यक्रम, नेपाल कृषि अनुसन्धान परिषद् (NARC), भण्डारीडीही, गुल्मी:

यस केन्द्रमा कृषकहरूलाई कफीमा लाग्ने रोग तथा कीराहरू, तिनको वैज्ञानिक व्यवस्थापन तथा कफीका विभिन्न जातबारे विस्तृत प्राविधिक जानकारी प्रदान गरिएको थियो।

“कफी खेती व्यवस्थित रूपमा गरे अब हिरा फल्छ” : जनप्रतिनिधि

भ्रमणका क्रममा सहभागी खानीखोला गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष सागर लामाले आफ्नो क्षेत्रको माटो कफी खेतीका लागि अत्यन्तै उपयुक्त रहेको बताए। उनले भने,

“खानीखोला र महाभारतको जग्गामा अहिले नै सुन फलिरहेको छ। अब कफी कृषकहरूले यसलाई अझ वैज्ञानिक र व्यवस्थित रूपमा खेती गरेमा यहाँ हिरा फल्नेछ।”

उनले २०-२५ वर्षअघि पहिलो पटक कफी पिउँदा डढेको दूधको कुनौरीजस्तो स्वाद लागेको अनुभव सुनाउँदै लामो समयपछि आफ्नै पालिकामा कफीका बोटहरू देख्दा निकै खुसी लागेको बताए।

वडाध्यक्ष लामाले कृषकहरूलाई प्रोत्साहन गर्न खानीखोला गाउँपालिकाले ‘जसको उत्पादन, उसैलाई अनुदान’ भन्ने नीति अवलम्बन गरी कफी उत्पादक किसानलाई प्रति किलो ३५ रुपैयाँ प्रोत्साहन अनुदान वितरण गरिरहेको जानकारी पनि दिए।

त्यस्तै, महाभारत गाउँपालिका वडा नं. २ का अध्यक्ष पदमबहादुर मोक्तानले आफ्नो पालिकाले कफी विस्तारका लागि ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ बीसको नोट’ नीति अवलम्बन गरेको बताए। यस नीति अन्तर्गत कफीको बोट रोप्ने किसानलाई प्रति बोट २० रुपैयाँ अनुदान उपलब्ध गराइँदै आएको छ।

अध्यक्ष मोक्तानले थपे, “यो भ्रमणबाट कृषकहरूले कफी खेतीसम्बन्धी धेरै ज्ञान हासिल गरेका छन्। भ्रमण पूर्ण रूपमा उपलब्धिमूलक रह्यो।”

भ्रमणमा सहभागी खानीखोला–३ का पूर्व वडाध्यक्ष जयबहादुर लुङ्गेली मगरले पनि यस अवलोकन भ्रमणले आफूलाई व्यक्तिगत रूपमा कफी खेतीतर्फ लाग्न थप प्रेरित गरेको बताए।

वैज्ञानिक प्रविधि सिकेपछि कृषक तथा सहकारी उत्साहित

भ्रमणको नेतृत्व तथा समन्वय गरेका श्री भाङटार एकीकृत सहकारीका अध्यक्ष धनबहादुर तुम्सिङ, युनिक कृषक समूहका अध्यक्ष ज्ञानमान जिम्बा तथा महाँकाल कृषक समूहका अध्यक्ष भीम गोलेले संयुक्त रूपमा कृषि विकास कार्यालय, धुलिखेलप्रति आभार व्यक्त गरे।

उनीहरूले कफी खेतीको प्रारम्भिक चरण (नर्सरी) देखि उत्पादन, प्रशोधन र अन्तिम बजारीकरणसम्मका सम्पूर्ण प्रक्रियाहरू वैज्ञानिक ढंगले सिक्न पाएकोमा खुसी व्यक्त गरे। कफी ब्लक कार्यक्रम तथा यस अध्ययन भ्रमणका लागि बजेट र अनुदान उपलब्ध गराई कार्यालयले काभ्रेका कफी किसानमाथि ठूलो गुण लगाएको उनीहरूको भनाइ थियो।

भ्रमण टोलीमा खानीखोला-३ भाङटारका कान्छा बहादुर सारु मगर पनि सहभागी थिए। उनले हरेक वर्ष करिब १० लाख रुपैयाँ बराबरको कफी बिक्री गर्दै आएका छन्।

भ्रमण टोलीमा दुवै पालिकाका कृषि प्राविधिकहरू तथा कृषि विकास कार्यालयका कर्मचारीहरूको समेत सहभागिता रहेको थियो। उनीहरूले कृषकहरूलाई स्थलगत रूपमा प्राविधिक सिकाइमा सहयोग पुर्‍याएका थिए। यस अध्ययन भ्रमणले काभ्रेको महाभारत शृङ्खला क्षेत्रमा कफीको व्यावसायिक उत्पादनलाई थप नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.