
• लाेक लामा

सिमानाको सवाल
अजिव लाग्छ
सिमानामा नेपाली सेना किन जान सक्दैन?
प्रश्न अझै उभिएकै छ
तर शहरका मञ्चहरूमा नयाँ उद्घोष सुनिन्छ
नेपालले भारतको सिमाना मिचेको छ
अनि सुस्ताको माटोमा हावाले सोधिरहेको प्रश्न
तालीको आवाजले छोपिन्छ
नक्सामा खुम्चिएको भूमि दुःख सुनाइरहन्छ
तर समर्थकहरू सत्य होइन,
नारा सुनेर नाचिरहन्छन्
सिमाना जोगाउने बहस ओझेल पर्छ,
र दोषको भारी आफ्नै काँधमा बोक्न सिकाइन्छ
सुस्ता अझै त्यहीँ छ
माटोको पीडा सहित
प्रश्न फेरि उही छ
देशको भूमि हराउँदा मौन बस्नेहरूलाई
ताली चाहिएको हो कि सत्य?