
चिया

• सिर्जना गाेले तामाङ
देश
चलाउने शासकहरुले
मन्द विष घोलेर
बिस्तारै जनता मार्ने
अभियान स्वरूप
धमाधम देशका
चिया पसलहरु
बन्द गराइरहेको
यो समयमा
कृपया साथीहरू,
मलाई बिहान् बिहानै
चिया खुवाउने
र चिया पिउने
अफर नगर्नु होला ।
बरु एकचोटि
उतातिर पनि फर्केर हेर्नुस्
जहाँ होल्डिङ सेन्टरमा
यो उधुम गर्मीमा
पानी पिउन नपाएर
काकाकुल झैँ भएको
सुकुम्बासीहरुको छट्पटीलाई
मध्य नजर गर्नुस् ।
मेरा प्रिय
साथीहरू,
यो समय अब
टोकला चियाको नभइ
तानाशाही सरकार विरुद्धको
अर्को नयाँ विद्रोहको समय हो ।
-२०८३ असार ०३