Khulla Bichar Online

लिन इन्टरनेशनल बोर्डिङ स्कुलमा अभिमुखीकरण कार्यक्रम

बनेपा । बालबालिकाको भविष्य निर्माणमा विद्यालयको शिक्षासँगै घरको वातावरण र अभिभावकको व्यवहार पनि उत्तिकै महत्वपूर्ण हुनेमा जोड दिइएको छ । काभ्रेपलाञ्चोकको बनेपास्थित लिन इन्टरनेशनल बोर्डिङ स्कुलले आयोजना गरेको अभिभावक अभिमुखीकरण कार्यक्रममा बालबालिकाको रुचि, क्षमता, भावना र सपनालाई बुझेर सहयोगी वातावरण निर्माण गर्न अभिभावकलाई आग्रह गरिएको हो ।

‘बालबालिकालाई पढाइसँगै माया र अभिभावकको साथ आवश्यक’
शनिबार ‘सुरक्षित, माया भरिएको सिकाइमैत्री बाल्यावस्थाका लागि सम्बन्ध विकास’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा शिक्षाविद् दीपक बास्कोटाले अभिभावक र बालबालिकाबीचको सम्बन्ध, बालमनोविज्ञान, क्षमता पहिचान तथा सिकाइमैत्री वातावरण निर्माणका विषयमा सहजीकरण गरे ।
बास्कोटाले अभिभावकले आफ्ना बालबालिका असल, ज्ञानी र जिम्मेवार बनून् भन्ने चाहना राखे पनि बालबालिकाको प्राथमिक आवश्यकता माया, विश्वास र अभिभावकको साथ रहेको बताए । ‘बालबालिकाले सधैँ माया चाहन्छन्, तर अभिभावकहरू पढाइ र लेखाइ चाहन्छन्,’ उनले भने, ‘बालबालिकालाई पढाइ आफ्नो भविष्य र क्षमताका लागि हो भन्ने बुझाउनुपर्छ ।’
उनले बालबालिकाका कुरा ध्यानपूर्वक सुन्न, उनीहरूको रुचि र क्षमता पहिचान गर्न तथा सोहीअनुसारको वातावरण बनाउन अभिभावकलाई आग्रह गरे । बालबालिकालाई अरूसँग तुलना गर्नेभन्दा उनीहरूको आफ्नै क्षमता र सम्भावनालाई बुझेर प्रोत्साहित गर्नुपर्ने उनको भनाइ थियो ।

हरेक बालबालिकालाई सपना देख्ने वातावरण आवश्यक रहेको बताउँदै बास्कोटाले सपना र उद्देश्यले मानिसलाई जीवनमा अघि बढ्न प्रेरित गर्ने बताए । ‘सपनाले मानिसलाई निद्राबाट ब्युँझाउँछ भने उद्देश्यले निदाउन दिँदैन,’ उनले भने ।
उनले बालबालिकाका सकारात्मक पक्ष पहिचान गरी प्रशंसा गर्ने, माया गर्ने, असल संस्कार सिकाउने तथा आफ्ना कमजोरी सुधार्न सहयोग गर्ने वातावरण घरमै बनाउनुपर्ने बताए । बालबालिकाको सानो प्रयास र उपलब्धिलाई समेत प्रोत्साहन गर्न सके उनीहरूमा आत्मविश्वास बढ्ने उनको भनाइ थियो ।
प्रविधिसँगै अभिभावक पनि बदलिनुपर्ने
कार्यक्रममा विद्यालयका प्रिन्सिपल श्रीकृष्ण श्रेष्ठले समय र प्रविधिको तीव्र विकाससँगै हुर्किरहेका बालबालिकालाई समयसापेक्ष रूपमा विकास गर्न अभिभावकको भूमिका महत्वपूर्ण रहेको बताए । बालबालिकाको बदलिँदो आवश्यकता र प्रविधिसँग अभिभावक पनि खुल्नुपर्ने उनको भनाइ थियो ।

विद्यालयका निर्देशक कृष्ण भण्डारीले बालबालिकाको सुन्दर भविष्य निर्माणका लागि विद्यालयसँगै घरको वातावरण पनि उत्तिकै महत्वपूर्ण हुने बताए । अभिभावकले बालबालिकालाई पर्याप्त समय दिई उनीहरूको गतिविधि, रुचि र भावनालाई बुझ्न आवश्यक रहेको उनले बताए ।
विद्यालयले अभिभावक र बालबालिकाबीचको सम्बन्ध थप सुमधुर बनाउँदै बालबालिकाको सर्वाङ्गीण विकासमा सहयोग पुर्याउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरेको जनाएको छ ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.