Khulla Bichar Online

मध्यरातमा को बर्बराउँछ?

मध्यरातमा को बर्बराउँछ?

• राजीव माेक्तान तामाङ

मध्यरातमा को बर्बराउँछ?

जब सहर निदाउँछ,

गल्लीहरू सुनसान हुन्छन्,

बत्तीहरू मधुरो हुँदै जान्छन्,

र मान्छेका आवाजहरू

एक-एक गर्दै हराउँछन्।

 

मध्यरातमा
मसानघाटमा भूत जाग्छ,

पिशाच बर्बराउँछ,

प्रेत बोल्छ,

हावाले रुखका पात हल्लाउँछ,

अनि सुनसान बाटोमा

कसैको पाइला चलेझैँ लाग्छ।

 

अबेलासम्म भट्टीमा

जाँड खाएर मात्तिएको जड्याहा

लड्खडाउँदै घर फर्कन्छ,
ठीक १२ बजे

आफ्नै छायालाई अर्को मान्छे ठान्छ,

अनि अँध्यारोसँगै बर्बराउँदै हिँड्छ।

 

आधा रातसम्म

झाडीमा गाँजा तान्ने गँजेडी

धुवाँसँगै सपना उडाउँछ,

आकाशमा भविष्य खोज्छ,

लड्खडाउँदै घर फर्कन्छ,

ठीक १ बजे

उही खाली खल्ती,

उही रित्तो जिन्दगी

 

मध्यरातमा

अस्वस्थ बिरामी छट्पटाउँछ,

आमाको निद्रा हराउँछ,

बच्चाको ज्वरो बढ्छ,

अस्पतालको आकस्मिक कक्षमा

कसैको जीवन र मृत्युबीच

घडीको सुई दौडिरहेको हुन्छ।

 

मध्यरातमा

कसैको घरमा बच्चा जन्मिन्छ,
कुनै घरमा अन्तिम सास चल्छ,

कसैको आँखामा आँसु हुन्छ,

कसैको ओठमा मुस्कान।

 

मध्यरातमा

प्रेमी मोबाइलको पर्दा हेर्दै

‘अनलाइन’ को हरियो बत्ती कुर्छ,

प्रेमिकाको निद्रा हराउँछ,

नपठाएको सन्देश

मनभित्रै हजारपटक लेखिन्छ।

 

मध्यरातमा
विदेशिएको छोरो
आमाको पुरानो फोटो हेर्छ,
आमाले गाउँमा
छोराको फोन आउने आशामा
मोबाइल सिरानीमुनि राखेर सुत्छिन्।

 

मध्यरातमा
ऋणले थिचिएको किसान
छानो हेरेर सोचिरहन्छ,

‘भोलि साहुलाई के भनौँला?’

श्रमिक
पसिनाले भिजेको शरीर लिएर
थकाइसँग लड्दै निदाउँछ।

 

मध्यरातमा
कतै भोज चलिरहेको हुन्छ,
कतै भोकले पेट कराइरहेको हुन्छ।
कतै मदिराको बोतल खुल्छ,
कतै धुवाँ उडिरहेको हुन्छ,
कतै औषधिको बोतल सकिन्छ।

मध्यरातमा
चोर गल्ली नाप्छ,
प्रहरी गस्ती गर्छ,
कुकुर भुक्छ,
कुनै ढोकाको ताल्चा
कसैको डरले काँप्छ।

 

मध्यरातमा
सत्ताका कुर्सीहरूमा
फाइलहरू पल्टिन्छन्,
कुनै निर्णयको मस्यौदा बन्छ,
कुनै नियुक्तिको सूची तयार हुन्छ,
अनि बिहान
जनतालाई नयाँ सपना सुनाइन्छ।

 

मध्यरातमा
बालेनको स्टाटस आउँछ,
सिंहदरबार जलाउने उद्घोष हुन्छ,
अश्लील शब्दको वर्षा बर्सिन्छ।

फेसबुकमा क्रान्ति हुन्छ,
टिकटकमा सरकार चल्छ,
फेसबुकमै सरकार दौडिन्छ,
कमेन्टमै व्यवस्था बदलिन्छ।

 

मध्यरातमा
कसैको मनमा बदला जाग्छ,
कसैको मनमा पश्चात्ताप,
कसैको मनमा प्रेम,
कसैको मनमा अपराध।

 

मध्यरातमा
जाग्राम बसेर ननिदाउनेहरू
आफ्नै छाँयासँग संवाद गर्छन्,
दिनभरि लुकाएका पीडा
अँध्यारोमा बाहिर निकाल्छन्।

किनकि
दिन उज्यालो हुन्छ,
त्यसैले धेरै कुरा देखिन्छन्।

तर रात अँध्यारो हुन्छ,

कालाे अध्याराे

त्यसैले धेरै कुरा
लुकाउन पनि सकिन्छ।

 

मध्यरातमा
भूत मात्रै बर्बराउँदैन,
पिशाच मात्रै बोल्दैन,
प्रेत मात्रै कराउँदैन।

बालेनकाे स्टाटस पनि आउँछ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.