Khulla Bichar Online

दासको जस्तो शान्ति चाहँदैनौँ : मदुरो

दासको जस्तो शान्ति चाहँदैनौँ : मदुरो

भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोले अमेरिकासँग बढ्दो तनावबिच सोमबार हजारौँ सहभागी र्‍यालीलाई सम्बोधन गरे । सोमबारको मदुरोको सम्बोधन उनका राष्ट्रिय सुरक्षा टोलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइटहाउसमा भेटघाट गरेपछि आएको हो ।

पछिल्लो समय ट्रम्पले भेनेजुयलावरपरको समुद्री क्षेत्रमा भेनेजुयलाका जहाजमाथि आक्रमण बढाएपछि तनाव बढिरहेको छ । अमेरिकाले सैन्य परिचालनमार्फत भेनेजुयलामाथि दबाबको सँगसँगै मदुरोको सरकारका प्रतिनिधिसँग वार्ता पनि गरिरहेको छ ।

राष्ट्रपति भवनबाहिर जम्मा भएको सोमबारको र्‍यालीमा सम्बोधन गर्दै मदुरोले ‘आफ्नो देशले शान्ति चाहेको, तर त्यो सार्वभौमसत्ता, समानता र स्वतन्त्रतासहित हुनुपर्ने’ बताए । ‘हामी कुनै दासको शान्ति चाहँदैनौँ, न त उपनिवेशको शान्ति नै चाहन्छौँ । उपनिवेश मान्य छैन, न त दास नै,’ उनले भने । अमेरिकी सेनाले पछिल्ला केही महिना भेनेजुयलाबाट अमेरिकामा लागुऔषध ओसारपसार गरिरहेको भन्दै डुंगाहरूमा बम हानिरहेको छ । अमेरिकाले क्यारिबियन क्षेत्रमा अहिले १५ हजार सैनिक तैनाथ गरेको छ ।

त्यस भेगका भेनेजुयाली डुंगामा झन्डै २१ पटक आक्रमण भइसक्यो, जसमा कम्तीमा ८३ जनाको ज्यान गइसकेको छ । अमेरिकाको खास उद्देश्य भेनेजुयलाका राष्ट्रपति मदुरो सत्ताच्युत गर्नु रहेको बताइँदै छ । ट्रम्पले अगस्टमा भेनेजुयलातर्फ शक्तिशाली पनडुब्बी र युद्धपोतहरू पठाएपछि यस्तो अड्कलमा थप बल पुगेको छ । उता, ट्रम्पले मदुरोलाई लागुऔषध तस्करी गर्ने कार्टेलका मुखिया भएको भन्दै उनको टाउकोमाथि पाँच करोड डलर पुरस्कार घोषणा गरेको छ । मदुरो र उनको सरकारले यसबारे खण्डन गर्दै आएको छ ।

 

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.