
ललितपुर/जनता समाजवादी पार्टी (जसपा) नेपालले ठूलो संगठनात्मक धक्का व्यहोरेको छ। केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा केन्द्रीय, प्रदेश, जिल्ला, नगरपालिका तथा विभिन्न भ्रातृ संगठनमा आवद्ध सयौं नेता–कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्।


संघीय समाजवादी फोरम स्थापनाकालदेखि सक्रिय रहँदै आएका उनीहरूले जसपा नेपालको केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा राजीनामा पत्र बुझाउँदै आजको मितिदेखि साधारण सदस्यसमेत नरहने घोषणा गरेका हुन्।
राजीनामा पत्रमा २०८२ साल भदौ २३ र २४ गते देखिएको ‘जेन–जि आन्दोलन’पछि उठेका राजनीतिक सवालप्रति पार्टी नेतृत्व संवेदनशील हुन नसकेको आरोप लगाइएको छ। बागमती प्रदेश अधिवेशनमा देखिएका गतिविधि, समितिभित्र जातीय जनसंख्याको असन्तुलन, फरक मतको अवमूल्यन, व्यक्ति केन्द्रित निर्णय हावी हुनु र सामूहिक निर्णय प्रक्रिया कमजोर बन्दै जानु पार्टी छाड्नुको मुख्य कारणका रूपमा उल्लेख गरिएको छ।

सामूहिक राजीनामामा केन्द्रीय र प्रदेश सदस्य, जिल्ला तथा नगरपालिका अध्यक्षसहित ३१ जना मुख्य अगुवा सहभागी छन्। साथै रसुवा, मकवानपुर, काभ्रे, भक्तपुरलगायत जिल्लाका टिमहरू तथा मध्यपुर, सूर्यविनायक, नमाेबुद्ध र चाँगुनारायण नगरपालिकाका संगठनहरू पनि बहिर्गमनमा सामेल भएका छन्।
यस घटनाले जसपा नेपालभित्र गहिरिँदो असन्तुष्टि र संगठनात्मक संकटलाई उजागर गरेको विश्लेषकहरूको भनाइ छ।
