Khulla Bichar Online

माओ दिवस: क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन प्रचण्डकाे अपील

काठमाडौं / विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता अध्यक्ष माओत्सेतुङको १३३ औँ जन्मजयन्तिको अवसरमा नेपाली कम्युनिस्ट पार्टीले शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन अपील गरेको छ।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा जारी सन्देशमा विश्व साम्राज्यवाद, नवउदारवाद र पूँजीवादी शोषणका कारण सामाजिक असमानता गहिरिँदै गएको, राष्ट्रिय सार्वभौमिकतामाथि हस्तक्षेप बढेको र जनजीवन संकटग्रस्त बन्दै गएको उल्लेख गरिएको छ। यस्तो परिस्थितिमा अध्यक्ष माओका विचार, संघर्ष र राजनीतिक दर्शन आज पनि उत्तिकै सान्दर्भिक र मार्गदर्शक रहेको जनाइएको छ।

सन्देशमा माओले प्रस्तुत गरेको सामाजिक अन्तर्विरोध समाधान गर्ने वैज्ञानिक दृष्टिकोण, जनताको स्वामित्वमा आधारित लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको पक्षधर विचार उत्पीडित वर्गको मुक्ति, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण तथा वास्तविक लोकतन्त्र स्थापनाको व्यावहारिक मार्गदर्शन भएको उल्लेख छ।

सामन्तवाद अन्त्यको एक चरण पूरा भइसकेको जनाउँदै अब मार्क्स-लेनिन-माओका विचार र नेपाली क्रान्तिकारी अनुभवको संश्लेषणमार्फत समाजवादी क्रान्तिको बाटोमा दृढतापूर्वक अघि बढ्नुपर्नेमा जोड दिइएको छ। अवसरवाद, वैचारिक विचलन, आत्मसमर्पण र अराजकतावादविरुद्ध स्पष्ट वैचारिक तथा राजनीतिक संघर्ष अपरिहार्य रहेको सन्देशमा उल्लेख छ।

माओ दिवसको अवसरमा पार्टीले मतभेदभन्दा माथि उठ्दै सार्वभौम, आत्मनिर्भर, समानतामूलक र समाजवादी नेपालको लक्ष्य प्राप्तिका लागि सबै क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरेको छ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.