Khulla Bichar Online

नेता र नेतृत्व फरक हुन् :भ्रमकाे चिरफार

नेता र नेतृत्व फरक-फरक अवधारणाहरू हुन्। नेतृत्व एक अवस्था हो भने नेता एक पद मात्र हो। नेतृत्व नेता बन्छ, तर नेता नेतृत्व नबन्न पनि सक्छ।

• लक्ष्मी तामाङ -सर्लाही 

नेता र नेतृत्व फरक-फरक अवधारणाहरू हुन्। नेतृत्व एक अवस्था हो भने नेता एक पद मात्र हो। नेतृत्व नेता बन्छ, तर नेता नेतृत्व नबन्न पनि सक्छ। त्यसैले सबै नेतृत्व नेता हुन्, तर सबै नेता नेतृत्व होइनन्।

अब यहाँ कुरा आउँछ-जनयुद्धको नेतृत्व माओवादी हो र माओवादीको नेतृत्व प्रचण्ड हो भने बाबुराम, किरण, विप्लव, आहुती सबै नेता मात्र हुन्। जुन पद थियो, त्यो पदले विचार सम्प्रेषण गरायो, आफ्ना वरिपरिका लाई गोलबन्द गरेर संगठित बनायो र माओवादी विचारप्रति एकीकृत बनायो। दस वर्षे जनयुद्ध र त्यसको जगमा उन्नाइस दिने आन्दोलन भयो, जसले राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना गरायो। माओवादी विचारधारा अनुरूप प्रचण्डको नेतृत्वमा भयो।

त्यसपछि विप्लव, किरण, बाबुराम, आहुती नेताबाट नेतृत्व बन्न पार्टी घोषणा गरे, तर कहिल्यै नेतृत्व बन्न सकेनन् र अब कदापि बन्न सक्दैनन् पनि तर किन ??

किनकि नेतृत्व युगले जन्माउने होइन, युग बनाएर जन्मिने हो। त्यसैले यी पात्रहरूले कुन अवस्थाको, कुन युगको नेतृत्व गरे ?

यी पात्रहरूले देशलाई कुन कालखण्डबाट कुन कालखण्डसम्म पुर्‍याउने अवधारणा निर्माण गरेका छन् ?

यिनका नेतृत्वले देशले के पायो,गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी ? र के पाइँदैछ,प्रत्यक्ष कार्यकारी प्रमुख,सुशासन,सम्बृद्धी,स्वशासन या आत्मनिर्णयको अधिकार ? कार्यकारी प्रमुख जनयुद्धकै माग हो।

यी कुनै पनि उपलब्धिमा उनीहरूले नेतृत्व गरेको पार्टीको केही योगदान छैन। उनीहरूलाई देश, जनता र परिस्थितिले नेतृत्व मानेको छैन। अनि हामी साधारण चेतना बोक्ने नेताहरूले चाहिँ किन मान्ने ?

किनकि हिजो युद्धमा सहभागी भएको स्वयंसेवकदेखि जनवर्गीय संगठन, जनमुक्ति सेना, जनकलाकार सबै नेता नै हुन्, जसले माओवादी विचारलाई भुईँतहसम्म पुर्‍याएर सिंगो देशलाई विद्रोहका लागि गोलबन्द गरायो र देशलाई अर्को व्यवस्थामा पुर्‍यायो।

जब बदलिँदो परिस्थितिसँगै बदलिएका हाम्रा ती नेताहरूले सेना समायोजनमा साथ दिए ? घाइतेहरूको उपचार तथा व्यवस्थापनमा अहिलेसम्म को–को, कहाँ–कहाँ साथ दियो ? संविधान लेखनमा बहुमत चाहिने ठाउँमा मुद्दा र मोर्चा छोडेर गएका होइनन् किरण र विप्लव ? नत्र हामीले संघीयता र प्रत्यक्ष कार्यकारी त्यसैबेला गराउन सक्ने आधार बन्न र बनाउन सकिने सम्भावनालाई चुकाएका होइनौँ ?

महिला, दलित, जनजातिको अधिकारलाई अझै संविधानमा उल्लेख गराएर संघीयताको मूलमर्मसम्म हामी पुग्न सकिने थिएन र ? संविधान जारी भएपछि “आधा गिलास पानी” को संज्ञा दिँदै बाबुराम निस्क्यो। ननिस्केको भए संविधान कार्यान्वयनमा हाम्रो भूमिका अझै गहकिलो हुन्थेन र ?

सेना समायोजन हुँदा को–को नेता लड्नुभयो जनसेनाका लागि ? दस वर्षे जनयुद्धका सहिदहरूलाई राष्ट्रिय राजपत्रमा उल्लेख गराउन को–को नेता लड्नुभयो ? पूर्व अयोग्यलाई दुई–दुई लाख दिने सम्म पुर्‍याउन को–को थियो ? अनि त्यही आन्दोलन र युद्धको बलमा लोकतान्त्रिक पार्टी भएकाले नै विरोध गर्दा को–को नेताहरू बोले,सदनदेखि सडकसम्म ?

मानौँ प्रचण्ड गद्दार हो, पदलुपी हो। तर विप्लव, किरण, बाबुराम, आहुतिले घाइतेका लागि अस्पताल बनाए ? सहिदका छोराछोरी पढाउन स्कुल खोले ? लाखौं बेरोजगार कार्यकर्ता ब्यबस्थापनका लागि कुनै उत्पादन बिग्रेड खाेले? बेपत्ताको छानबिन गर्न कहाँबाट, कसरी गरायो र गर्दैछ ? विस्तृत शान्ति सम्झौताको मर्मलाई कहाँसम्म पुर्‍यायो ?

अनि यो सबको जिम्मा र आरोप एकै व्यक्तिलाई थुपारेर उनीहरूलाई नेतृत्व मान्नुपर्ने कुन बाध्यता कसलाई छ ? यो संघीयता विप्लवको हो ? यो समावेशी किरणको हो ? हुँदै होइन। त्यसैले अब हुने पनि केही छैन।

छुटेर गएदेखि आफ्नो नेतृत्वमा केही संस्थागत गराउन नसक्नेले “नेतृत्व हो” भनेर भनिरहनु लाजको विषय होइन र ? होइन भने हामी नेता मान्छौँ, नेताकै दर्जामा सम्मान गर्छौँ। त्यसैले नेता आफ्नो घर फर्किनेमा स्वागत गरौँ,सम्मान गराैं।फुलमाला पनि लगाओैं। फर्किन्न अनावश्यक अपमान नगरौँ र अपमान हुने कार्य पनि नेताले अब नगरौँ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.