Khulla Bichar Online

एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समिति काभ्रेको दशौं जिल्ला पूर्ण बैठक सम्पन्न

फागुन १५ भित्र पालिका अधिवेशन, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिने निर्णय
माघ ३ गते,बनेपा,काभ्रेपलान्चोक ।


एकीकृत अखिल नेपाल शिक्षक संगठन (एअनेशिसं) जिल्ला समिति काभ्रेपलान्चोकको १०औँ पूर्ण बैठक शनिबार सदरमुकाममा भव्य रूपमा सम्पन्न भएको छ। बैठकले संगठन सुदृढीकरण, शिक्षक आन्दोलनको नयाँ कार्यदिशा र समसामयिक राजनीतिक मुद्दामा स्पष्ट प्रतिबद्धता जनाउँदै महत्वपूर्ण निर्णयहरू पारित गरेको छ।


जिल्ला अध्यक्ष चेत बहादुर लामाको अध्यक्षतामा सम्पन्न बैठकमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य कृष्ण अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। विशेष अतिथिहरूमा पूर्व केन्द्रीय उपाध्यक्ष दुर्गा सिंह तामाङ, केन्द्रीय सदस्य पदम प्रसाद तिमल्सिना, केप्रस कमल घिमिरे, सल्लाहकार सार्कीमान तामाङ तथा बागमती प्रदेश कमिटी सदस्य शिव प्रसाद आचार्य लगायत नेताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
संगठनात्मक सुदृढीकरणमा स्पष्ट कार्ययोजना


बैठकले आगामी फागुन १५ गतेभित्र जिल्लाका सबै पालिकामा बैठक, भेला, सम्मेलन तथा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। साथै, संगठनको आधारभूत शक्ति मानिने सदस्यताको नवीकरण तत्काल टुंग्याउने र माघ २४ गते काठमाडौँमा हुने एकता भेलामा काभ्रेको सशक्त प्रतिनिधित्व सुनिश्चित गर्ने योजना पारित भएको छ।
जनयुद्ध दिवसमा सशक्त कार्यक्रम
फागुन १ गते जनयुद्ध दिवसको अवसरमा जिल्लाभर रचनात्मक, जनमुखी र राजनीतिक रूपमा सशक्त कार्यक्रम सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ। अधिकारमुखी आन्दोलनसँगै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र समाज रूपान्तरणमा शिक्षकको भूमिकालाई अगाडि बढाउने संकल्प पनि बैठकले दोहोर्‍याएको छ।
शैक्षिक गुणस्तर र समाज रूपान्तरणप्रति प्रतिबद्धता
बैठकमा बोल्ने नेताहरूले शिक्षक आन्दोलन केवल हकहितको सीमामा सीमित नभई सामुदायिक विद्यालयलाई गुणस्तरीय, प्रगतिशील र परिवर्तनको केन्द्र बनाउने अभियान हुनुपर्ने धारणा व्यक्त गरे।
“हामी शिक्षकहरू अधिकारका लागि मात्रै होइन, समाज रूपान्तरणका लागि पनि अग्रपङ्क्तिमा उभिनुपर्छ,” बैठकपछि एक नेताले बताए।
राजनीतिक स्पष्टता र निर्वाचनमा सक्रिय भूमिका
बैठकले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेन्डा बोक्ने राजनीतिक धारलाई पूर्ण समर्थन गर्ने निर्णय गरेको छ। साथै, आगामी फागुन २१ गते हुने निर्वाचनमा शिक्षक तथा कर्मचारीका जायज माग र मुद्दा उठाउने नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवारलाई जिताउन सक्रिय सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
क्रान्तिकारी पहिचान र यथास्थितिवादको विरोध
अन्य संघ-संगठनभन्दा फरक क्रान्तिकारी, जुझारु र वैचारिक रूपमा स्पष्ट पहिचान स्थापित गर्ने उद्घोष गर्दै बैठकले शिक्षा क्षेत्रमा व्याप्त यथास्थितिवाद र सस्तो लोकप्रियतावादको कडा भण्डाफोर गर्ने निर्णय गरेको छ। यस उद्देश्यका लागि वैचारिक प्रशिक्षण, कार्यशाला तथा राजनीतिक बहस कार्यक्रमहरू सञ्चालन गरिने बताइएको छ।
प्रमुख अतिथिको राजनीतिक सम्बोधन
बैठकका प्रमुख अतिथि कृष्ण अधिकारीले विश्व कम्युनिष्ट आन्दोलनको वर्तमान अवस्था, नेपाली शिक्षक आन्दोलनको ऐतिहासिक भूमिका तथा शिक्षक-कर्मचारीप्रति नेपाली कम्युनिशनिबारसम्म पार्टीको स्पष्ट दृष्टिकोणबारे प्रस्ट पार्नुभयो। उहाँले शिक्षकहरूलाई वैचारिक रूपमा सुदृढ र राजनीतिक रूपमा सचेत हुन आह्वान गर्दै शिक्षा क्षेत्र नै समाज परिवर्तनको आधार भएको धारणा व्यक्त गर्नुभयो।
एअनेशिसं काभ्रेपलान्चोकले यो बैठकमार्फत शिक्षक आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने, संगठनात्मक एकता बलियो बनाउने र क्रान्तिकारी शिक्षकहरूको साझा आवाजलाई मजबुत बनाउने सशक्त सन्देश दिएको छ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.