Khulla Bichar Online

अहिलेका परिवर्तन,बालेन र रबीहरुले ल्याएका हाेईनन्।

• लक्ष्मी लामा,काभ्रे

म किन माओवादी भएँ : केही अनुभूति र परिवर्तनको कथा

“तिमी माओवादी किन भयौ?”

यो प्रश्न जिज्ञासा मात्र होइन, आरोप मिसिएको प्रश्न थियो। माक्र्सवाद, लेनिनवाद, माओवाद थाहा छ कि छैन भनेर सोधिन्थ्यो। युद्ध, मृत्यु र नेताहरूका नाम अघि सारिन्थे। त्यसैले मैले तुरुन्त उत्तर दिन चाहिनँ। किनकि केही प्रश्नहरूको उत्तर किताबले होइन, जीवनले मात्र दिन सक्छ।

म मुस्कुराएँ र मेरा सहपाठीलाई भनेँ-

“मलाई वाद थाहा छैन, तर मलाई मेरो समाज राम्ररी थाहा छ।”

म वाद पढेर माओवादी भएको होइन। म अनुभवले माओवादी भएको हुँ। जहाँ राज्य टाढा थियो, न्याय महँगो थियो र बोल्नु अपराधजस्तै थियो, त्यहीँ माओवादी आन्दोलनले पहिलो पटक प्रश्न गर्‍यो।

“तिमी पनि गन्तीमा पर्छौ?”

यही प्रश्नले राजनीति मेरो लागि किताबबाट होइन, जीवनबाट सुरु गर्‍यो।

यो आन्दोलनले महिलालाई सहानुभूतिको पात्रबाट निर्णयकर्तामा बदल्यो। महिला घरभित्र सीमित होइनन् भन्ने सन्देश लडाइँ, संगठन र नेतृत्वमार्फत स्थापित गरियो। आज संविधानमा लेखिएका महिला अधिकार कुनै उपहार होइनन्; ती संघर्ष र बलिदानका परिणाम हुन्।

कमैया प्रथा सामाजिक विकृति मात्र थिएन, त्यो जन्मसँगै थोपरिने दासता थियो। माओवादी आन्दोलनले यही संरचना माथि प्रश्न उठायो। जब कमैयाका छोरा–छोरी संसदसम्म पुगे, त्यो व्यक्तिगत सफलता होइन-राजनीतिक परिवर्तनको परिणाम थियो।

पुरानो राज्य केही थर, केही भूगोल र केही जातको वरिपरि घुम्थ्यो। माओवादीले समावेशितालाई नारा मात्रै बनाएन, संरचनामा उतार्‍यो। दलित, जनजाति, मधेसी र पिछडिएका समुदाय निर्णायक तहमा पुगे। पद अब चयन होइन, अधिकार बन्न थाल्यो।

आज हरेक वडामा एक महिला र एक दलित महिला अनिवार्य छन्। हिजो सबेरै “मालिक” भन्दै बाली उठाउन आउने च्याँटी नेपाली आज वडा सदस्यको कुर्सीमा छन्। सत्यनारायण बाजे नमस्कार गर्छन् र एक थान सिफारिस लिएर फर्किन्छन्। हो, परिवर्तन यही हो।

याे परिवर्तन अहिलेका पप वाला बालेन,टिभी वाला रबी,युट्युबरहरुले ल्याएका हाेईनन्। भुँई मान्छेहरुले ल्याएका हुन्।

हो, युद्धमा मानिस मरे। हरेक मृत्यु एक आमाको रित्तिएको काख हो। तर इतिहास मृत्युसंख्याले मात्र मापन हुँदैन। सहिदहरू भोलिको पुस्ता डराएर नबाँचोस् भनेर मरे। संघीयता, धर्मनिरपेक्षता र समावेशिता तिनै सपनाका अक्षर हुन्।

माओवादी पूर्ण छैन। आलोचना आवश्यक छ। तर यसले हामीजस्ता भुइँमान्छेलाई सपना देख्नु अपराध होइन भन्ने हिम्मत दियो। म नेता वा वादका कारण होइन, पहिलोपटक आफू पनि इतिहासमा गन्ती हुने मान्छे हुँ भन्ने अनुभूतिका कारण माओवादी भएँ।

राजनीति केवल सत्ता होइन, अनुभूति पनि हो।

समयक्रममा यो पार्टी विभिन्न स्वार्थ, दन्तबचन र विचलनका कारण टुक्रियो, रमिता देखिए। यो सत्य हो। तर फेरि आज नेपाली कम्युनिस्ट पार्टीको नाममा गोलबन्द हुँदै चुनावी मैदानमा उत्रिँदैछ।

अन्तमा भन्नुपर्दा:माओवादी मेरो लागि पवित्र पार्टी थियाे, तर त्रुटिहीन आन्दोलन होइन। यसभित्र अवसरवाद, विभाजन र विचलन भए,यो यथार्थ हो। तर त्यसैले यसको ऐतिहासिक भूमिका मेटिँदैन। यसले भुइँमान्छेलाई अदृश्यताबाट नागरिक बनायो, डरबाट आवाजतर्फ डोर्‍यायो र राज्यलाई पहिलोपटक आफूजस्ता मान्छेको आँखामा हेर्न बाध्य बनायो।

आज केहीले सामाजिक सञ्जाल, टेलिभिजन र भाषणबाट परिवर्तनको श्रेय लिन्छन्। तर संविधानमा लेखिएको समावेशिता, संघीयता र महिला–दलित प्रतिनिधित्व कुनै ‘ट्रेन्ड’ होइन। यो संघर्षको उपज हो, बलिदानको दस्तावेज हो।

हिजो मालिकको ढोकामा उभिने मान्छे आज सिफारिस दिने कुर्सीमा छ भने, त्यो दृश्य आफैंमा राजनीतिक परिवर्तनको प्रमाण हो।

माओवादी आलोचनाभन्दा माथि छैन। तर गाली गरेर इतिहास बदलिँदैन। इतिहास बुझ्न साहस चाहिन्छ।

म वादका कारण होइन, नेताका कारण होइन।आफू पनि गन्तीमा पर्ने मान्छे हुँ भन्ने अनुभूतिका कारण माओवादी भएँ।

आज पुनः माओवादी ध्रुवीकरण हुँदैछ। म नेपाली कम्युनिस्ट पार्टीको सदस्य भएको छु। मैले सधैं शीरमा राख्ने तारा,सिरानीमा राख्ने तारा, आज चुनाव चिन्ह बनेको छ। पार्टी चुनाबमा जाेडताेडले हाेमिदैछ। मेरा सहपाठी मित्रहरुले पक्कै बुझ्नुहुनेछ। परिवर्तनको तारा,चम्किलो तारा हाम्राे साहारा!

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.